कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

नेकपाको राजनीतिक प्रतिवेदनमा गौतमको असहमति

कान्तिपुर संवाददाता

काठमाडौँ — नेकपाभित्र ‘जनताको बहुदलीय जनवाद’ र ‘जनताको जनवाद’ मध्ये कुनलाई मूल वैचारिक आधार बनाएर जाने भन्ने विवाद नसेलाउँदै सचिवालय सदस्य वामदेव गौतमले दुवैभन्दा फरक धारणा अघि सरेका छन् ।

नेकपाको राजनीतिक प्रतिवेदनमा गौतमको असहमति

पार्टीको हालै प्रकाशित राजनीतिक प्रतिवेदनमाथि असहमति राख्दै उनले ‘समाजवाद’ लक्षित कार्यक्रम किटान गरेर जानुपर्नेमा जोड दिएका हुन् । वरिष्ठ नेता माधव नेपाल संयोजकत्वको समितिले तयार पारेको प्रतिवेदनमा पार्टीको वैचारिक आधार ‘जनताको जनवाद’ हुने उल्लेख छ । उक्त प्रतिवेदन त्रुटिपूर्ण रहेको उनको दाबी छ ।


आफूले पटक–पटक दिएका सुझाव नसमेटी प्रतिवेदन प्रकाशित भएकाले असहमति बाहिर ल्याएको गौतमले बताए । ‘नेपाली क्रान्ति समाजवादको चरणमा पुगेको मान्ने हो भने समाजवाद नै पार्टीको कार्यक्रम हुनुपर्छ,’ उनले कान्तिपुरसँग भने । नेपालको संविधानले तय गरेको लक्ष्यभन्दा पार्टीको लक्ष्य पश्चगामी भएको उनको निष्कर्ष छ ।


‘नेकपाको मात्र होइन, सिंगो राष्ट्रको तात्कालिक कार्यभार लोकतान्त्रिक मूल्य–मान्यतामा आधारित समृद्ध समाजवाद निर्माण गरी नेपाली जनतालाई विकसित देशका जनताको समकक्षमा पुर्‍याउनु हो,’ उनले भने, ‘यस्तो अवस्थामा नेकपाको कार्यक्रम समाजवाद नै हो भनेर जानुपर्थ्यो । पार्टी विधान र राजनीतिक प्रतिवेदनले पार्टी कार्यक्रमका सम्बन्धमा नेपालको संविधानले गरेको मार्गदर्शनलाई पछ्याएन ।’


तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता भएपछि ‘जनताको जनवाद’को सिद्धान्तमा पार्टी अघि बढ्ने सहमति भएको थियो । उक्त सहमतिपछि राजनीतिक प्रतिवेदन र विधान बनाउनका लागि छुट्टाछुट्टै समिति बनाइएको थियो । वरिष्ठ नेता नेपालको संयोजकत्वमा बनेको राजनीतिक प्रतिवेदन निर्माण समितिले बनाएको प्रतिवेदन बल्ल प्रकाशित भएको छ । यो प्रतिवेदन प्रकाशित गर्नुअघि आफूले दिएको सुझाव नसमेटिएको गौतमले बताए ।


प्रतिवेदन प्रकाशित हुनु केहीअघि तत्कालीन एमाले र माओवादी केन्द्रका दुई धारबीच विवाद चुलिएको थियो । पूर्वएमाले पक्षले मदन भण्डारीले अघि सारेको जनताको बहुदलीय जनवादलाई प्रतिवेदनमा स्पष्ट लेखेर जानुपर्ने अडान राखेको थियो । तत्कालीन माओवादी केन्द्र पक्षधरले ‘जनताको जनवाद’ भन्ने सहमति भएकाले पार्टी एकीकरणको भावनाअनुसारै प्रतिवेदन ल्याउनुपर्ने अडान राखेको थियो ।


विवाद निकै चर्किएपछि तत्कालका लागि ‘जनताको जनवाद’ लेखेर जाने शीर्ष नेताहरूबीच सहमति भएको थियो । उक्त सहमतिअनुसार राजनीतिक प्रतिवेदन प्रकाशित भएलगत्तै सचिवालयमै रहेका नेताले प्रतिवेदनको अंशमाथि विमति प्रकट गरेका हुन् । तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकीकरणका लागि सम्पर्क सूत्रको भूमिका खेलेका नेताबाटै राजनीतिक प्रतिवेदनमाथि असहमति प्रकट भएको हो ।


नेपालको संविधानमा आर्थिक सामाजिक लक्ष्य ‘समाजवाद उन्मुख’ भन्ने उल्लेख छ । संविधानले आर्थिक सामाजिक रूपान्तरण समाजवाद उन्मुख भनेको अवस्थामा पार्टी त्यो स्पिरिटअनुसार अघि बढ्न नसकेको गौतमको ठहर छ । ‘के यो संविधानमा भूलवश लेखिएको हो ? के यो बाध्यताले लेखिएको हो वा लहडमा लेखिएको हो ? होइन भने नेपाली समाजको सबैभन्दा अग्रगामी वर्ग, श्रमजीवी वर्गको राजनीतिक प्रतिनिधि भनेर आफूलाई दाबी गर्ने नेकपाले नेपाली जनताको तात्कालिक कार्यक्रम समाजवाद हो भन्न जिब्रो लर्बराउनुपर्ने र खुट्टा कमाउनुपर्ने अवस्था किन देखियो ? दुःखका साथ भन्नुपर्छ पार्टी राष्ट्र पुनर्निर्माण सम्बन्धमा परिवर्तनकारी र अग्रगामी हुन सकेन,’ गौतमले भने ।


उनले पार्टीले हालै अघि सारेको ‘जनताको जनवाद’ भन्ने सैद्धान्तिक कार्यक्रमलाई सामन्तवाद र साम्राज्यवादविरुद्ध हुने पुँजीवादी क्रान्तिका निम्ति अगाडि सारिने कार्यक्रमको संज्ञा दिएका छन् । नेकपाको राजनीतिक प्रतिवेदनमा समाजवाद उन्मुख जनताको जनवादलाई पार्टीको न्यूनतम कार्यक्रम भनिएको छ । त्यसैगरी अधिकतम कार्यक्रम वैज्ञानिक समाजवाद भनिएको छ । नेपालमा पुँजीवादी जनवादी क्रान्ति सम्पन्न भइसकेको उल्लेख छ । नेपाली समाज समाजवादी क्रान्तिको चरणमा प्रवेश गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।


नेता गौतमले प्रतिवेदनमा यति स्वीकारिसक्दा पनि समाजवादी कार्यक्रम भनेर जान नसक्नुलाई त्रुटिपूर्ण मानेका छन् । उनले राजनीतिक आन्दोलन पूरा भइसकेको अवस्थामा अब शान्तिपूर्ण र वैधानिक बाटोबाट समाजवादी उत्पादन पद्धति निर्माणमा जुट्नुपर्ने बेला आएको उल्लेख गरेका छन् । त्यसैले यस्तो अवस्थामा स्पष्ट रूपमा समाजवादी कार्यक्रमको दिशामा अघि बढ्नुपर्ने गौतमको तर्क छ ।

प्रकाशित : श्रावण २३, २०७६ ०७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?