१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

अध्यागमनका अधिकृत अख्तियारको फन्दामा

जनकराज सापकाेटा

काठमाडौँ — स्थान : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कक्ष । पात्र : अध्यागमन अधिकृत कमलप्रसाद पराजुली । साउन १८, शनिबार । ओमान उड्न लागेका १८ महिला लाइनमा उभिएका छन् । उनीहरू प्रस्थान अनुमतिको छाप लगाउन आआफ्नो पासपोर्ट अध्यागमन अधिकृतलाई बुझाउने हतारोमा छन् । त्यही बेला अधिकृत पराजुलीले कम्युटरको तार छुटाउँछन् ।

अध्यागमनका अधिकृत अख्तियारको फन्दामा

कम्प्युटर बन्द हुन्छ । त्यसपछि उनले पालैपालो आफ्ना दुइटा फोनबाट कसैसँग कुरा गर्छन् । निकै हतारिएजस्तो देखिएका उनले एकैछिनमा सबैको पासपोर्टमा प्रस्थान अनुमतिको छाप लगाउँछन् ।


नियमतः प्रस्थान अनुमति ककसलाई, कुन देश जान, कुन मितिमा प्रदान गरियो भनेर अध्यागमन अभिलेखमा राख्न कम्प्युटर इन्ट्री अनिवार्य हुन्छ । तर अधिकृत पराजुलीले प्रस्थान अनुमति दिए पनि कसैको रेकर्ड राख्दैनन् । यसरी ‘सेटिङ’मा ओमानको हाउसमेडको काममा हिँडेका महिलाहरूलाई सजिलै प्रस्थान अनुमति दिएका पराजुली अख्तियार दुरुपयोग अनुसन्धान आयोगको फन्दामा परेका छन् ।


स्रोतका अनुसार केही दिनअघिको यो घटनाको सूचना अध्यागमन विभागमा आएपछि उनलाई विमानस्थलबाट विभागमा तानिएको थियो । अख्तियारले उनी कार्यरत दिनको झन्डै १८ मिनेट लामो सीसीटीभी फुटेजसमेत झिकाएर शंकास्पद गतिविधिबारे अनुसन्धान गरेको थियो ।


स्रोतका अनुसार फुटेजमा उनी निकै हतारमा मात्रै देखिँदैनन्, दुवै फोन बारम्बार चलाउने र कसैबाट निर्देशन लिएजस्तो गरेको पनि देखिन्छ । पराजुलीले त्यही अवधिमा बारम्बार कसैलाई एसएमएस पनि गरेको देखिन्छ । अख्तियार स्रोतका अनुसार पराजुलीले विमानस्थलबाहिर रहेका कुनै एजेन्टसँग संवाद गरेको हुन सक्ने अनुमान छ । अख्तियारले अध्यागमन ऐनको बर्खिलाप हुने गरी काम गरेको आरोपमा उनीमाथि छानबिन अघि बढाइएको छ ।


मानव तस्करको चंगुलमा परी ११ असारमा लिबियाबाट उद्धार भई फर्केका आठै जनाले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमनमा एजेन्टले मिलाइदिएको सेटिङबाट उडेको बताएको केही सातामा अख्तियारले पराजुलीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालेको हो । लिबियाबाट फर्केकाहरूले विमानस्थलभित्रको सेटिङ मिलाउन भन्दै आफूहरूले एजेन्टलाई डेढदेखि दुई लाख रुपैयाँ बुझाएको बताएका थिए ।


लोडर पक्राउ

अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत नेपाल एयरलाइन्सका लोडर प्रकाश केसीलाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोलाई बुझाएको छ । लोडर केसीले केही दिनअघि भारतको दिल्ली उड्न आँटेका तीन महिलालाई नक्कली प्रस्थान अनुमतिको छाप हानिएको राहदानी महिलाहरूलाई विमानस्थलभित्रै उपलब्ध गराएका थिए ।


विमानस्थल स्रोतका अनुसार नेपाल एयरलाइन्समार्फत दिल्ली उड्न आँटेका तीन महिला सबै जाँच प्रक्रिया पूरा गरेर विमानस्थलभित्रको अन्तिम प्रतीक्षा कक्षमा पुगेका थिए । आफूसँग राहदानी नभएको बताउने तीनै महिलाले अध्यागमन अधिकृतलाई नागरिकता देखाएर भित्र छिरेका थिए ।


तर विमानस्थलको अन्तिम प्रस्थान कक्षमा पुगेका महिलाहरूलाई लोडर केसीले लुकाएर उनीहरूले राहदानी पुर्‍याइदिएका थिए । अनुसन्धानका निम्ति विभागले झिकाएको सीसीटीभी फुटेजमा लोडर केसीले प्रतीक्षा कक्षमा पुगेर उनीहरूको झोलामा खुसुक्क पासपोर्ट राखिदिएको देखिन्छ । केसीका गतिविधि शंकास्पद देखिएपछि महिलाको झोलामा रहेको पासपोर्ट हेर्दा त्यहाँ नक्कली प्रस्थान अनुमतिको छाप हानिएको थियो ।


महिलालाई भिजिट भिसामा दुबई र खाडीका अन्य देश जान कडाइ गरेपछि महिलाहरू सेटिङमा काठमाडौंबाट दिल्ली र त्यहाँबाट खाडी मुलुक जाने गर्छन् । पछिल्लो समय दिल्लीस्थित विमानस्थलले समेत नेपालबाट दिल्ली हुँदै बाहिर जाने महिलाहरूलाई कडाइ गर्न थालेपछि एजेन्टहरूले नक्कली प्रस्थान अनुमति बनाउने चोर बाटो अपनाउन थालेका हुन् ।


नागरिकता देखाएर दिल्ली पुग्ने र त्यहाँ पुगेपछि नक्कली प्रस्थान अनुमति भएको पासपोर्ट देखाएर दिल्लीस्थित नेपाली दूतावासबाट ‘नो अब्जेक्सन लेटर’ हात पार्ने र त्यसैका आधारमा खाडी उड्ने योजना एजेन्टहरूले मिलाइदिएका थिए । एजेन्टले विमानस्थल अध्यागमनका पुराना अधिकृत धर्मराज भट्टको संकेत नम्बर भएको नक्कली प्रस्थान अनुमतिको स्ट्याम्प बनाएको स्रोतको भनाइ छ । जब कि धर्मराज ६ महिनाअघि नै सरुवा भएर जिल्ला प्रशासन कार्यालय नुवाकोट पुगिसकेका छन् ।


भिजिट भिसामा जानेहरूमाथि कडाइ गर्न थाले पनि नक्कली प्रस्थान अनुमतिको स्ट्याम्प र नक्कली श्रम स्टिकर टाँस्ने घटना सतहमा आउन थालेका छन् । गत फागुन ६ गते पनि दुबई उड्न लागेका चार यात्रु ओमबहादुर अधिकारी, सरिता विक, जानुकादेवी दाहाल र कृष्ण चौधरीको पासपोर्टमा नक्कली श्रम स्टिकर भेटिएको थियो ।

प्रकाशित : श्रावण २२, २०७६ १५:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?