१९°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २२३

४ सिमेन्ट उद्योगलाई कारबाही

‘नेपाल अल्ट्राटेकको ओपीसी सिमेन्टमा बिक्री बितरण रोक्का, चितवन सिमेन्टको पिपिसि सिमेन्टको इजाजत पत्र रद्द, अम्बुझा सिमेन्टको ओपीसीमा इजाजत पत्र स्थगन र जानकी सिमेन्टको ओपीसी बिक्री बितरणमा रोक’
कान्तिपुर संवाददाता

काठमाडौँ — गुणस्तर तथा नापतौल विभागले कम गुणस्तरको सिमेन्ट उत्पादन गर्ने ४ सिमेन्ट उद्योगलाई कारबाही गरेको छ । विभागले नेपाल अल्ट्राटेक सिमेन्ट, चितवन सिमेन्ट, अम्बुझा सिमेन्ट र जानकी सिमेन्टलाई कारबाही गरेको हो ।

४ सिमेन्ट उद्योगलाई कारबाही

‘ती उद्योगले उत्पादन गरेका ओपीसी र पीपीसी सिमेन्टमा आइआर र एमजिओको मात्रा उच्च पाइयो,’ विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले भने, ‘जसले गर्दा कारबाही प्रक्रिया अघि बढाएका छौं ।’


विभागले असारमा २५ सिमेन्ट उद्योगको नमुना संकलन गरेको थियो । जसमध्ये नेपाल अल्ट्राटेकको ओपीसी उत्पादन आइआर नेपाल गुणस्तर अनुसार थिएन । उक्त सिमेन्टलाई बिक्री बितरणमा रोक गरी स्पष्टीकरण माग गरिएको उनले बताए । चितवन सिमेन्टको पीपीसी उत्पादनमा पनि आइआरको समस्या रहेको इजाजत पत्र रद्द गरिएको छ ।'


पटक-पटक परीक्षण र निर्देशन दिँदा पनि सुधार भएन,’ उनले भने, ‘उक्त सिमेन्टको इजाजत रद्द गरेका छौं ।’ विभागका अनुसार आइआर भनेको मिसावटलाई जनाउँछ । धेरै मिसावट हुँदा बलियो हुँदैन । यस्तै, अम्बुझा सिमेन्टको पनि इजाजत पत्र स्थगन भएको छ । उक्त उद्योगले उत्पादन गर्ने ओपीसी सिमेन्टमा एमजिओको प्रतिशत उच्च फेला परेको थियो । ‘ओपीसीमा एमजिओको अधिकतम मात्र ६ प्रतिशत मात्रै हो । तर, नमुना परीक्षण गर्दा ७.३ प्रतिशत फेला पर्‍यो,’ महानिर्देशक पुडासैनीले भने, ‘जसले गर्दा इजाजत पत्र स्थगन गरेका छौं ।


सुनसरीमा रहेको जानकी सिमेन्ट इन्डष्ट्री प्रालिको ओपिसी उत्पादनमा पनि बिक्री वितरण रोक लगाइएको छ । विभागका अनुसार ओपीसीमा आइआर, एलएसएफको मान नेपाल गुणस्तर अनुसार थिएन । ‘कैफियत भेटिएकाले बिक्री वितरणमा रोकगरी स्ष्टीकरण माग गरेका छौं,’ उनले भने ।


प्रकाशित : श्रावण २२, २०७६ १९:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?