कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

जयनगर–कुर्था खण्डमा चल्ने रेलको नाममा बहस

विमल खतिवडा

काठमाडौँ — भारतको जयनगर–कुर्था खण्डमा ४ महिनाभित्र रेल चलाउने गरी काम भइरहेको छ । उक्त स्थानमा गुड्ने दुई सेट रेल भारतमा निर्माण हुँदै छ । चाँडो निर्माण सक्नका लागि रेल विभागले ताकेता गरिरहेको छ । रेल गुड्ने ठाउँ तयार भयो । रेल सेट बन्दै छ ।

जयनगर–कुर्था खण्डमा चल्ने रेलको नाममा बहस

बहस रेलको नाम के राख्ने भन्नेबारे पनि चल्न थालेको छ । एउटा रेलको नाम ‘जानकी’ राख्ने कुरा भए पनि अर्को रेलको नाम के राख्ने ? सामाजिक सञ्जालमा यसको बहस चल्दै आएको छ । मन्त्रालय र विभागबीच पनि अनौपचारिक रुपमा यसबारे छलफल भइरहेको छ ।

‘रेल आएपछि के नाम राख्ने भनेर भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ र मेरो सामान्य छलफल भएको हो,’ रेल विभागका महानिर्देशक बलराम मिश्रले भने,‘रेल आएपछि राष्ट्रिय नाम नै राखिने छ, जसले देशको पहिचान झल्काउने छ ।’ दुईवटा ट्रेन सेट आउने र दुवैको नाम अलग–अलग हुनेछ । ‘के राख्ने भन्दा जनकपुरमा चल्ने भएकाले एउटाको नाम जानकी राख्दा उपयुक्त होला भन्ने हो,’ उनले भने, ‘यसमा मन्त्री सकारात्मक हुनुहुन्छ, अर्कोको नाम पशुपति, सगरमाथा, बुद्ध, लुम्बिनीमध्ये कुनै एउटा राखिने छ ।’


यसरी चर्चामा आएका सबै नाम उपयुक्त भएको उनले दाबी गरे । ‘यी भन्दा बढी नेपालका चिनारी दिने नाम के हुन सक्लान् ?,’ उनले भने, ‘यही नाम राख्ने भनेर निर्णय भइसकेको छैन, छलफलकै क्रममा छ ।’ पेन्टिङ गर्ने समयमा रेलको नाम राखिने छ । ‘जयनगरदेखि–कुर्थासम्म पहिलो लटमा रेल चल्ने छ, त्यसपछि कुर्थादेखि विजलपुरासम्म पुग्ने छ,’ उनले भने, ‘३४ किमि क्षेत्रको कुर्थासम्म काम सकिसकेको छ, यसको परीक्षणसमेत गरिसकेका छौं ।’

कुर्थादेखि विजलपुरासम्म रेल लिक विछ्याउन बाँकी छ । वर्षात्‌ले समस्या भएको छ । ‘कुर्थादेखि विजलपुरासम्म १७ किमि छ,’ उनले भने, ‘यो क्षेत्रमा बढीमा फागुनसम्ममा रेल गुड्ने छ ।’ विजलपुरादेखि बर्दिबाससम्म रेल गुड्न भने समय लाग्ने छ । जयनगरबाट बर्दिबाससम्म ६९ किमिको रेल्वे नेटवर्क बन्ने छ ।


प्रकाशित : श्रावण २२, २०७६ १५:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?