कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

निष्ठावान महिला नेतृको अवसान

सुरेशराज न्यौपाने

नयाँदिल्ली — भारतकी पूर्व विदेशमन्त्री तथा महिला नेतृ सुष्मा स्वराज (कौसल) को मगंलबार राति असामयिक निधन भएको छ । ६७ वर्षीय स्वराजको मंगलबार राति करिब एघार बजे हृदयाघातका कारण निधन भएको हो । मंगलबार राति हृदयघात भएपछि करिब दश बजे उनलाई दिल्लीको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) को आकस्मिक कक्षमा भर्ना गरिएको थियो ।

निष्ठावान महिला नेतृको अवसान

आकस्मिक विभागका चिकित्सकहरुले ‘कार्डियोपल्मोनरी रिससिटेसन’ (स्वासप्रस्वास प्रक्रियालाई सुचारु गराउन छाति थिच्ने लगायतका प्रक्रिया) लगायतका विभिन्न प्रयास गर्दा पनि सफल भएनन् । र, उपचारकै क्रममा करिब एघार बजे तिर उनको निधन भएको घोषणा गरियो ।


भारतीय जनता पार्टीकी वरिष्ठ नेतृ स्वराज सुष्मा पति स्वराज कौशलका साथ जन्तरमन्तर रोडस्थित निवासमा बस्दै आएकी थिइन् । उनकी एक छोरी छिन् । सन् २०१६ मा उनको मिर्गौलामा एकाएक समस्या देखिए पछि एम्समै प्रत्यारोपण समेत गरिएको थियो । त्यसयता उनले आफ्नो स्वास्थ्यमा विशेष सजगता अपनाउँदै आएकी थिइन् ।


स्वराजको निधनप्रति भारतीय राष्ट्रपति रामनाथ कोविन्द, प्रधानमन्त्री नरेन्द्र मोदी, प्रमुख प्रतिपक्षी दल कंग्रेसका राहुल गान्धीलगायतले दुःख प्रकट गरेका छन् ।


‘श्रीमती सुष्मा स्वराजको निधनले अत्यन्त दुःख लागेको छ । देशले एक अत्यन्त आफ्नी प्यारी छोरी गुमाएको छ । सुष्माजी सार्वजनिक जीवनमा गरिमा, साहस र निष्ठाकी प्रतिमूर्ति हुनुहुन्थ्यो । जनताको सहयोगका लागि हमेशा तत्पर रहनुहुन्थ्यो । उनको सेवाभावका लागि सबै भारतीयले उहाँलाई सदैव स्मरण गरिरहनेछन्,’ राष्ट्रपति कोविन्दले भनेका छन् ।

त्यसैगरी भारतीय प्रधानमन्त्री मोदीले पनि सुष्माको निधनले भारतीय राजनीतिको एउटा यशस्वी अध्यायको अन्त्य भएको जनाएका छन् । ‘सार्वजनिक सेवा र गरीबको जीवनस्तर सुधारका लागि जीवन समर्पण गर्ने एकजना महान नेताको निधनमा पुरै भारत शोकमग्न छ । उहाँ करोडौंका लागि प्रेरणाको स्रोत हुनुहुन्थ्यो,’ मोदीले ट्विटमा लेखेका छन् ।

त्यसैगरी विपक्षी भारतीय राष्ट्रिय कांग्रेसले पनि सुष्माको निधनप्रति दुख प्रकट गरेको छ ।

भारतीय राजनीतिमा स्वराजको परिचय प्रखर वक्ता र निष्ठावान राजनीतिज्ञको थियो । अघिल्लो मोदी सरकारमा उनी विदेशमन्त्री थिइन् । उनी इन्दिरा गान्धीपछि विदेश मन्त्रालय सम्हाल्ने दोस्रो महिला हुन् । सन् १९५३ मा हरियाणाको अम्बालामा जन्मिएकी स्वराजलाई उनको पार्टी भाजपाभित्र मात्र नभएर पुरै भारतीय राजनीतिका लागि प्रभावशाली पात्रका रुपमा लिइन्थ्यो ।

स्वराजको पहिलो पेशा भने वकालत थियो । उनले केही वर्ष भारतको सर्वोच्च अदालतमा वकालत पनि गरिन् । संस्कृत र राजनीति शास्त्रमा स्नातक र पछि पन्जाब विश्वविद्यालयबाट कानुन अध्ययन गरेकी स्वराज पिता हरदेव शर्माको प्रेरणाले राजनीतिमा लागिन् । शर्मा भारतीय जनता पार्टीको माउ संगठन राष्ट्रिय स्वयं संगठनका प्रभावशाली सदस्य थिए ।

१९७५ मा इन्दिरा गान्धीले संकटकाल लगाएपछि भने सुष्माको सक्रिय राजनीतिक यात्रा शुरु भयो । संकटकालको विरुद्धमा समाजवादी नेता जयप्रकाश नारायणले चलाएको सम्पूर्ण क्रान्तिमा उनी सक्रियतापूवर्क सहभागी भइन् । संकटकाल अन्त्य भएको केही समय पछि भने उनी भारतीय जनता पार्टीमा आवद्ध भइन् । त्यसपछि उनले राजनीतिज्ञका रुपमा कहिल्यै पछाडि फर्केर हेर्नुपरेन । सन् १९७७ मा पहिलो हरियाणा विधानसभाका लागि चुनिएकी स्वराजले त्यसपछि थप दुईपटक सम्म विधायक चुनिइन् । त्यसपछि उनले सबैभन्दा सानै उमेरमा मन्त्री बन्ने पनि अवसर पनि पाइन । २५ वर्षकै उमेरमै हरियाणा सरकारमा मन्त्री बनेकी थिइन् । १९७९ मा मात्र २७ वर्षको उमेरमै स्वराज हरियाणाको पार्टी प्रमुख बन्न सफल भइन् ।

सन् १९९६ मा पहिलो पटक दक्षिण दिल्ली सिटबाट लोकसभामा निर्वाचित भइन् । त्यसपछि अटल बिहारी बाजपेयीको १३ दिने सरकारमा पनि उनी सुचना तथा प्रसारण मन्त्री बनिन् ।

त्यसको दुई वर्ष नबित्दै भएको लोकसभा चुनाव जितेर मन्त्री बन्ने अवसर पाइन् । त्यसपछि सन् १९९८ मा छोटो समयका लागि भए पनि दिल्ली राज्यको पहिलो महिला मुख्यमन्त्री बन्ने मौका पनि स्वराजलाई नै प्राप्त भएको थियो । त्यसपछि भने उनी लगातार केन्द्रकै राजनीतिमा सक्रिय रहिन् ।

सन् १९९९ को लोकसभा चुनावमा सोनिया गान्धीसँग झिनो मतान्तरले पराजित भएकी स्वराज केही महिनापछि राज्यसभा निर्वाचित भइन् र, उनलाई पुनः सूचना तथा प्रसारण मन्त्रालयको जिम्मेवारी दिइयो । सन् २००६ मा पुनः राज्यसभामा चुनिइन् । सन् २००९ को लोकसभा चुनावमा निर्वाचित भए पछि भने उनलाई लालकृष्ण आणवाणीको ठाउँमा प्रमुख प्रतिपक्ष दलको नेता बनाइएको थियो । प्रतिपक्षमा रहँदा उनले तत्कालिन मनमोहन सिंह नेतृत्वको सरकारले गरेका कामकारवाहीका विरुद्धका संसदमा खरो ढंगले प्रस्तुत हुने गर्थिन् ।

सन् २०१४ मा बनेको मोदी सरकारमा भने उनलाई विदेश मन्त्रालयको जिम्मेवारी दिइएको थियो । पछिल्ला वर्षहरुमा विश्व राजनीतिमा भारतको भूमिका बढाउन विदेशमन्त्रीको रुपमा उनको भूमिका अहं रह्यो । हालै सम्पन्न लोकसभा चुनावमा भने स्वास्थ्यको कारण देखाएर सहभागी भइनन् ।

भारत र अन्तर्राष्ट्रिय रुपमा प्रभावशाली डिजिटल डिप्लोमेसीका लागि पनि उनको स्मरण गरिने छ । सन् २०१४ मा विदेशमन्त्री बनेपछि उनले ट्विटर मार्फत् डिजिटल डिप्लोमेसीलाई अगाडि बढाएकी थिइन् । मन्त्रालयसँग सम्बन्धित आमनागरिकका सरोकार र चासोहरुलाई उनले ट्विटरमार्फत नै जवाफ दिने गर्थिन् । जसले उनको लोकप्रियताको चुलिएको थियो ।

विदेशमा समस्यामा परेका भारतीयहरुको मात्र नभएर पाकिस्तानी र अन्य मुलुकका नागरिकहरुको उद्धार पनि सुष्माको त्यत्तिकै सक्रिय थिइन् । जसले गर्दा भारतमा मात्र नभएर विदेशमा समेत सुष्माले प्रशंसा बटुलेकी थिइन् । ट्विटरमा उनका सवा करोडभन्दा बढी फलोअर थिए ।

मंगलबार साँझ साढे सात बजे मात्र पनि उनले भारतको लोकसभाले जम्मुकश्मिरलाई विशेष राज्य दिने संविधानको अनुच्छेद ३७० खारेज गर्ने प्रस्ताव पारित गरेकोमा प्रधानमन्त्री नरेन्द्र मोदीलाई करीब बधाई र धन्यवाद दिएकी थिइन् । ‘प्रधानमन्त्रीजी, तपाईलाई हार्दिक अभिनन्दन गर्छु । म आफ्नो जीवनमा यस दिनका लागि प्रतीक्षारत थिएँ’ उनले ट्विटमा भनेकी थिइन् । तर, त्यसको केही घन्टा नबित्दै ट्विटरमार्फत् नै उनको असायमिक निधनको खबर सार्वजनिक भयो ।

नेपालको राजनीतिसँग पनि सुष्मा राम्रैसँग परिचित थिइन् । उनी पछिल्लो पटक अघिल्लो वर्ष असोजमा १५ औं बिमस्टेक शीर्ष सम्मेलनका बेला काठमाडौं गएकी थिइन् । २०७१ सालमा महाभूकम्पलगत्तै भारतले लगाएको अघोषित ‘नाकाबन्दी’ पछि नेपालमा सुष्मा आलोचित बनेकी थिइन् । उक्त ‘नाकाबन्दी’ का कारण नेपाल–भारत सम्बन्ध चिसिन पुगेको थियो ।

त्यसपछि नेपालसँगको सम्बन्ध सुधारको प्रयास स्वरुप उनी तत्कालिन नेकपा एमाले र माओवादी एकीकृतको गठबन्धनले संसदीय चुनाव जितेपछि नयाँ सरकार गठनपूर्व नै काठमाडौं ओर्लेकी थिइन् । जानकारहरु सुष्माको उक्त भ्रमणले नेपाल–भारत सम्बन्धलाई सुधारको बाटोमा अगाडि बढाएको ठान्छन् ।

यसैबीच सुष्माको निधन प्रति उपचारका लागि सिंगापुर पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीले पनि समवेदना प्रकट गरेका छन् । ‘भारतकी वरिष्ठ राजनीतिज्ञ तथा पूर्व विदेश मन्त्री सुष्मा स्वराजको निधनको खबरले अत्यन्त मर्माहत छु,’ ओलीले ट्वीट गर्दे भनेका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ १०:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?