वन्यजन्तुपीडित नै संरक्षणमा 

कमल पन्थी

बर्दिया — बाली चर्न आएको हात्तीको आक्रमणमा परेर पिताको मृत्यु हुँदा हेमन्तको विद्यार्थी बेला थियो । ओमप्रसाद जैसी तत्कालीन मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष थिए ।

१० वर्षअघि ठाकुरबाबा नगरपालिका–९ मा भएको घटनामा उनको निधनले स्थानीय निराश भएका थिए । दिनरात नभनी निकुञ्ज संरक्षण र मध्यवर्ती क्षेत्रका बासिन्दाको अधिकारका लागि क्रियाशील व्यक्ति गुमाउनुपर्दा स्थानीयमा चिन्ता हुनु स्वाभाविक थियो । आफ्ना पिताको पथ पछ्याएर हेमन्तले अहिले यहाँ स्थानीयलाई क्रियाशील व्यक्तित्वको अभाव महसुस हुन दिएका छैनन् ।

विद्यालय तहबाटै उनले वन र जन्तु संरक्षणको महत्त्व बुझेका थिए । चोरीसिकारविरुद्ध क्रियाशील भए । ३६ वर्षीय हेमन्त अहिले वन्यजन्तु संरक्षणका अगुवा छन् । चोरीसिकार नियन्त्रणमा उनको क्रियाशीलता लोभलाग्दो छ । गस्ती गर्छन् । चेतना जगाउन अभियान चलाउँछन् । निकुञ्ज कर्मचारीलाई सघाउँछन् ।

संरक्षणको कामलाई प्रभावकारी बनाउन सकिने विषयमा सरकारी र गैरसरकारी संस्था गुहार्दै हिंडछन् । स्थानीय युवालाई जागरुक तुल्याउँछन् । उनी समुदायमा आधारित चोरीसिकारविरुद्ध युवा परिचालन समितिका अध्यक्ष हुन् । उनको नेतृत्वमा चोरीसिकार नियन्त्रणका लागि २ हजार ३ सय ८ जना युवा संगठित छन् ।

सञ्जालका सदस्यले चोरीसिकारका लागि संवेदनशील क्षेत्रमा आलोपालो गस्ती गर्दै आएको उनले बताए । ‘यसको उद्देश्य चोरीसिकार नियन्त्रणसँगै वन्यजन्तु घाइते भएमा तत्काल उद्धार गर्नु हो,’ उनले भने, ‘वन र वन्यजन्तुबिना हाम्रो अस्तित्व पनि रहँदैन । त्यसैले दिनरात नभनी लागिरहेका छौं ।’ संरक्षण प्रभावकारी भएकै कारण बर्दिया निकुञ्जमा वन्यजन्तुको संख्या उत्साहप्रद भएको उनले बताए ।

हात्तीको संख्या १ सय २० पुगेको छ । बाघ ८७ र गैंडाको संख्या ३७ पुगेको छ । ‘चोरीसिकारको जानकारी हाम्रा साथीहरूले निकुञ्जलाई तत्काल दिने भएकाले वन्यजन्तु मारिने घटना हुन छाडेको छ,’ उनले भने, ‘वन्यजन्तु संरक्षण समुदायको सहभागिताबिना सफल हुँदैन । त्यसैले समुदायलाई सरकारले साथसाथै लिएर हिंड्नैपर्छ ।’

०७३ सालमा खेलकुद मन्त्रालयले राष्ट्रिय युवा प्रतिभा पुरस्कार दिएका हेमन्तलाई पछिल्लो पटकको क्रियाशीलताबाट प्रदेश ५ सरकारले यो वर्ष उत्कृष्ट युवा पुरस्कारबाट सम्मानित गर्‍यो । उनी ठाकुरबाबा नगरपालिका ९ का वडा सदस्य पनि हुन् । राजनीतिमा संलग्न भएपछि स्थानीयको काममा उत्तिकै सक्रिय छन् ।

‘वन्यजन्तु जोगाउन युवाहरूसित राति जंगलमा गस्ती गर्नु नियमित छ,’ उनले भने, ‘राति–राति गस्तीमा जाँदा परिवार चिन्तित हुन्छन्, बेलाबेला स्थानीयको आक्रोश खेप्नुपर्छ ।’ उनको अगुवाइमा ठाकुरद्वारामा पर्यटकका लागि पथप्रदर्शक कार्यालय सञ्चालनमा छ । कार्यालयमार्फत निकुञ्ज, वन्यजन्तु र संरक्षणसम्बन्धी सूचना प्रदान गर्छन् । उनीहरूले टाइगर ट्रेन्ट होमस्टे सञ्चालन गरेका छन् ।

मधुवन नगरपालिकाको खाताका ५२ वर्षीय भदै थारूले बाघको आक्रमणबाट एउटा आँखा गुमाए । १६ वर्षअघि उनी स्थानीय गौरी सामुदायिक वनको अध्यक्षमा निर्वाचित भएका थिए । वनमा खरखडाइ खुलेको थियो । वनमा प्रवेश गरेका उपभोक्ताले वन र वन्यजन्तुलाई नोक्सानी नपुर्‍याऊन् भनेर अनुगमनमा गएका थारूमाथि बाघले आक्रमण गर्‍यो । उपचारार्थ गुलरिया हुँदै नेपालगन्ज पुर्‍याइयो । करिब एक महिना नेपालगन्जस्थित फत्तेवाल आँखा उपचार केन्द्रमा उपचार गरेपछि घर फर्किएका थिए ।

क्षति बेहोरे पनि थारू र उनका सन्तान संरक्षणमै क्रियाशील छन् । सात वर्षअघि प्रसिद्ध हलिउड अभिनेता लियोनार्दो डिक्याप्रियो निकुञ्जको अवलोकन गर्न आएका थिए । त्यसको जानकारी कसैलाई दिइएन । तर लियोनार्दोले सबैभन्दा पहिले साबिकको ढोढरी ९ खाताका थारूको खोजी गरे । उनले आफू बसेको टाइगर टप्स होटलमा थारूलाई बोलाए ।

‘अँगालो मार्दै यु आर ग्रेट एन्ड यु आर हिरो सेभ द टाइगर भने,’ भदैले सम्झिए, ‘उनीसित २० मिनेट संरक्षणसम्बन्धी कुराकानी भएको थियो ।’ बाघ संरक्षणमा क्रियाशील थारूका बारेमा अमेरिकामा प्रकाशित संरक्षणसम्बन्धी तस्बिरसहित लेख पढेर प्रभावित भएको लियोनार्दोले बताएका थिए । कुराकानीपछि लियोनार्दोले आफूले लगाएको चस्मा मायाको चिनो भनेर भदैलाई लगाइदिएका थिए ।

भदैले वन्यजन्तुको नियमित रेखदेख मात्र गरिरहेका छैनन्, संरक्षणबारे गीत गाएर सबैलाई वन्यजन्तुको महत्त्व पनि बुझाउने काम गरिरहेका छन् । बाघ बचाउ अभियान चलाइरहेको उनले बताए । चोरीसिकार नियन्त्रणमा युवा दस्ता बनाएर परिचालन गरेका छन् । उनी दिनमा एक पटक सामुदायिक वनको नियमित अनुगमन गर्छन् । वनमा बाघ, हात्ती र गैंडाको संख्या बढदै गएको छ ।

वन्यजन्तुको आक्रमणमा पर्ने खतरा भएकाले वन हेरालुसँगै अनुगमनमा जाने गरेको बताउँछन् । तीन वर्षअघि एउटा चितुवा र एउटा मयूरको उद्धार गरेको बताए । विगतमा चोरीसिकारका लागि कहलिएको खाता जैविकमार्ग अहिले सुरक्षित बनेको स्थानीय संरक्षणकर्मी कृष्ण परियारले बताए ।

भदैको क्रियाशीलताले चोरीसिकार कम भएको उनले बताए । ०६९ सालमा तत्कालीन भारतीय राजदूत श्यामशरणले संरक्षणको नायक भनेर सम्मान प्रदान गरेका थिए । यसैगरी विश्व वन्यजन्तु कोष, हरियो वन कार्यक्रमले पनि सम्मान प्रदान गरेको थियो ।

मधुवन नगरपालिका ३ की प्रदेशी थारू पनि बाघ आक्रमणबाट घाइते भएकी थिइन् । त्यो पीडा भुलेर उनी अहिले वन्यजन्तु संरक्षणमा लागेकी छन् । यसैगरी तीन वर्षअघि खाता जैविकमार्गमा वन हेरालुको काम गर्ने झकबहादुर बुढाक्षत्रीकी श्रीमतीलाई बाघले आक्रमण गरेर घाइते बनायो । पति अहिले पनि वन्यजन्तु संरक्षणमा लागेका छन् ।

बर्दिया निकुञ्जका सहायक संरक्षण अधिकृत अशोक भण्डारीले हेमन्त, भदैलगायत थुप्रै स्थानीयको संरक्षणमा उल्लेखनीय योगदान रहेको बताए । उनका अनुसार वन्यजन्तुबाट पीडित १९ जना एकल महिलाले पनि समूह गठन गरेर संरक्षणका काम गरिरहेका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्

यात्रु ठग्ने बाह्र हजार ट्याक्सी चालक कारबाहीमा

कान्तिपुर संवाददाता

काठमाडौँ — ट्राफिक प्रहरीले उपत्यकामा विभिन्न बहाना बनाई यात्रु ठग्ने १२ हजार ७४९ ट्याक्सी चालकलाई कारवाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाको टोलीले आर्थिक वर्ष २०७५/७६ मा कानूनविपरीतका कार्य गरी मिटरमा जान नमान्ने, मिटर बिगार्ने, भाडा अनियमितता गर्ने, बढी भाडा लिने ट्याक्सीका चालकलाई कारवाही गरेको हो ।

महाशाखाले आव २०७४/७५ मा आठ हजार १२० ट्याक्सी चालकलाई कारवाही गरेको थियो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले यात्रुसँग मोलमोलाई गरी बढी भाडा लिने ट्याक्सी चालकलाई कारवाही गरिएको जानकारी दिए । 'यात्रु ठग्ने दैनिक ४०/५० चालकलाई कारवाही गर्दै आएका छौँ,' उनलेभने ।

बढी भाडा लिने ट्याक्सी चालकसँग ट्राफिक प्रहरीले तीन हजार जरिवाना गर्ने गरेको छ । त्यस्तै, पाँच पटकभन्दा बढी बढीभाडा लिएर कारवाहीमा पर्ने ट्याक्सी चालकको सवारी चालक अनुमतिपत्र निलम्बनका लागि यातायात व्यवस्था कार्यालयमा सिफारिस गर्ने गरिएको महाशाखाले जनाएको छ ।
मिटरमा जान नमान्ने, ट्याक्सीको मिटर बिगार्ने र बिग्रेको मिटरसमेत समयमा नबनाउने ट्याक्सी चालकलाई भने ५०० देखि एक हजार ५०० सम्म जरिवाना गर्ने गरिएको पन्तले बताए । महाशाखाले बढी भाडा लिने ट्याक्सी चालकको कारवाहीका लागि दैनिक ३० देखि ५० ट्राफिक प्रहरी उपत्यकाका विभिन्न स्थानमा खटाउँदै आएको छ ।

ट्याक्सी प्रयोग गर्दा बढी भाडा लिने, मिटरमा जान नमान्ने, यात्रुले चाहेको स्थानमा जान नमानेमा तत्काल ट्राफिक प्रहरीको हटलाइन नं १०३ मा खबर गर्न सबै यात्रुलाई महाशाखाले आग्रह गरेको छ । यातायात व्यवस्था विभागका अनुसार हाल काठमाडौँ उपत्यकामा मात्र १० हजारभन्दा बढी ट्याक्सी सञ्चालनमा रहेका छन् ।

प्रकाशित : श्रावण २२, २०७६ ०९:११
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्