जलविद्युत्‌मा बाढीले क्षति

बाढीले माथिल्लो दोर्दी ‘ए’ आयोजनाका १० कामदार बगायो । ५ को मृत्यु भएको छ । ५ अझै बेपत्ता छन् । करिब २५ देखि ३० करोड रूपैयाँसम्म क्षति पुर्‍याएको अनुमान छ । सुपरदोर्दी ‘ख’ को २५ करोड रूपैयाँ क्षति पुर्‍याएको अनुमान छ । दोर्दी १ मा खासै क्षति नपुर्‍याए पनि कामदार र स्थानीय त्रस्त छन् ।
आश गुरुङ

लमजुङ — २०७२ वैशाख १२ गते भूकम्प जाँदा दोर्दीखोला र आसपास गरी ४ जलविद्युत् आयोजना निर्माणाधीन थिए । भूकम्पको ६ महिनापछि भारतले नाकाबन्दी लगायो । भूकम्प र नाकाबन्दीसँगै २ मेगावाटको छन्दीखोला साना जलविद्युत् आयोजनाले निर्माण पूरा गर्‍यो ।

जलविद्युत्‌मा बाढीले क्षति

त्यसपछि दोर्दीखोलामा ३ ठूला आयोजना निर्माणाधीन रहे । पछिल्लो समय अर्को एउटा आयोजना थपिएपछि दोर्दीखोलामा मात्रै ४ जलविद्युत् आयोजना निर्माणाधीन छन् । यी आयोजना हरेक वर्ष बाढीपहिरोको चपेटामा छन् । पछिल्लो समय साउन ८ गतेको भीषण बाढीपछि यी आयोजनाका काम प्रायः रोकिएको छ ।

दोर्दीखोलामा सबैभन्दा तल्लो क्षेत्रमा २७ मेगावाटको दोर्दीखोला जलविद्युत् आयोजना बन्दै छ । त्यसपछि १२ मेगावाटको दोर्दी १, २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ र सिरानमा ५४ मेगावाटको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ निर्माणाधीन छन् । सुरुको भूकम्प, नाकाबन्दी र बर्सेनिको बाढीपहिरोले यी कुनै पनि आयोजना तोकिएको समयमा निर्माण हुन सकेका छैनन् । त्यसो त, यी आयोजनाको विद्युत्लाई एकीकृत गरी लैजान निर्माणाधीन १३२ केभी प्रसारण लाइनको निर्माण कार्यसमेत द्रुतगतिमा अघि बढ्न नसक्दा निर्माण कार्यमा ढिलाइ भइरहेको छ ।

दोर्दीखोलाको बाढीले माथिल्लो दोर्दी ‘ए’ आयोजनाका १० कामदारलाई बगायो । ५ को मृत्यु भएको छ । ५ अझै बेपत्ता छन् । करिब २५ देखि ३० करोड रुपैयाँसम्म क्षति पुर्‍याएको अनुमान छ । सुपरदोर्दी ‘ख’ को २५ करोड रुपैयाँ क्षति पुर्‍याएको अनुमान छ । दोर्दी १ मा खासै क्षति नपुर्‍याए पनि कामदार र स्थानीय त्रस्त छन् ।

उनीहरूले दोर्दीमा पानी घटेपछि मात्रै कामलाई तीव्रता दिने बताएका छन् । बढीपहिराले आयोजनामा क्षति पुर्‍याएपछि निर्माणमा खटिएका अधिकांश सञ्चालक तथा इन्जिनियर साइटमा छैनन् । आयोजनालाई कसरी सञ्चालनमा ल्याउने भन्ने विषयमा छलफलका लागि उनीहरू प्रायः बैठक बस्छन् । आयोजना सञ्चालन सम्बन्धमा बैठक भइरहेको थुप्रै कामदार बिदामा गएका छन् ।

माथिल्लो दोर्दी ‘ए’ आयोजनाका आयोजना निर्देशक राजेन्द्र वस्तीले बताए । लिबर्टी इनर्जी कम्पनीले निर्माण गरिरहेको माथिल्लो दोर्दी ‘ए’ लाई बाढीले इन्टेक र डिसेन्डर पुरेको छ । पेनस्टकमा क्षति पुर्‍याउनुका साथै सडक बगाएको छ । हेडवर्क्समा कामदारका टहरा पुरिएका छन् । तल्लो क्षेत्रको डोजर, एस्काभेटर, ट्र्याक्टरलगायत बगाएको उनको भनाइ छ । ‘हामीले पावरहाउसमा काम त थालेका छौं । तर यति धेरै धनजनको क्षति हुँदा पूर्णरूपमा काम गर्ने मानसिकता अझै बनेको छैन,’ उनले भने ।

दोर्दी गाउँपालिका ६ ढोडेनी र ७ फलेनीबीचको दोर्दीखोलामा निर्माणाधीन उक्त आयोजना निर्माण आगामी भदौमा सक्ने लक्ष्य थियो । वर्षा, बाढीपहिरो र ट्रान्समिसन लाइनका कारण पछिल्लो समय २ महिना लम्बिएको छ । यस पटकको बाढीले पुर्‍याएको क्षतिका कारण पुनः ३ महिना पछि सर्ने आयोजना स्रोतले बताएको छ ।

नेपाल इन्भेस्टमेन्ट बैंकको अगुवाइमा ९ वटा बैंकले ७० प्रतिशत अर्थात् ३ अर्ब ९६ करोड रुपैयाँ ऋण लगानी गर्नेछन् । २०७१ असोजदेखि निर्माण सुरु गरेको उक्त आयोजनाले प्राकृतिक प्रकोपका कारण उत्पादन मिति सार्दै आएको छ । सुरुमा २०७४ असोजसम्म विद्युत् उत्पादन गर्ने लक्ष्य लिएको थियो ।

हिमालयन पावर पार्टनर लिमिटेडले निर्माण गरिरहेको दोर्दीखोला जलविद्युत् आयोजनाले भदौ १४ भित्र विद्युत् उत्पादन थाल्ने कार्यतालिका थियो । अब फागुन १४ गते यसको व्यावसायिक उत्पादन मिति तोकिएको छ । बर्सेनि बाढीपहिरोले समस्या निम्त्याउने गरेको र काम गर्न बाधा पुगेको आयोजनाका इन्जिनियर दीपक ज्ञवालीले बताए । ‘अहिलेको बाढीले हेडवर्क्सको प्रोटेक्सन वालमा क्षति पुगेको छ,’ उनले भने, ‘बाढीले काम गर्न दिएन ।’ हेडवर्क्स क्षेत्र करिब सकिएको उनको भनाइ छ ।

पाइपलाइन मात्रै खनिएको र जोड्ने काम पानीका कारण रोकिएको छ । करिब ८५ प्रतिशत सकिएको आयोजना २०७१ फागुनबाट निर्माण सुरु भएको थियो । पछिल्लो समय आयोजना निर्माण २०७४ असारसम्म सक्ने लक्ष्य लिइएको थियो । भूकम्प, नाकाबन्दी, वर्षा, आयोजना निर्माणका क्रममा आन्तरिक समस्या, प्रसारण लाइन अभावलगायतले निर्माण करिब २ वर्ष ढिला भएको आयोजनाका कार्यकारी निर्देशक गुरुप्रसाद ढकालले जानकारी दिए ।

४ अर्ब २३ करोड ३५ लाख रुपैयाँमा निर्माण पूरा गर्ने भनिएको आयोजनामा गैरआवासीय नेपालीद्वारा स्थापित एनआरएन इन्भेस्टमेन्ट लिमिटेडको ३५ दशमलव ७, आईएमई ग्रुपको ३४ दशमलव ३० र स्थानीय एवं सर्वसाधारणको गरी ३० प्रतिशत लगानी छ । ३० प्रतिशतमा १० प्रतिशत स्थानीय र २० प्रतिशत सर्वसाधारणको सेयर छ ।

उक्त आयोजनामा प्राइम कमर्सियल बैंकको अगुवाइमा ८ वटा बैंकले ७५ प्रतिशत ऋण लगानी गरेका छन् । करिब ६० प्रतिशत निर्माण सकिएको सुपरदोर्दी जलविद्युत् आयोजना ‘ख’ को हेडवर्क्सको डिजाइनै परिवर्तन गर्नुपर्ने गरी साउन ८ गतेको बाढीले बगाएको छ । ‘हेडवर्क्स’ जाने, आउने र पावरहाउसमा आउने, जाने बाटो बगाएपछि आयोजना समस्यामा परेको छ ।

अहिले निर्माण कार्य अनिश्चितकालीन बन्द गरेर सञ्चालक आगामी योजनामा जुटेका छन् । निर्माणाधीन आयोजनामध्ये सबैभन्दा माथिल्लो क्षेत्रमा बनेकाले पनि सडक धेरै पार गरेर जानुपर्छ । पिपल्स हाइड्रोपावर कम्पनी लिमिटेडले निर्माण गरिरहेको आयोजनाको डिसेन्डर सबै पुरिदिएको र इन्टेक क्षेत्र बाढीले बगाएको आयोजना निर्देशक अर्जुनप्रसाद गौतमले बताए । साउन ८ को बाढीले सुरुङभित्र थुनिएका १७ कामदारलाई पछि निकालिएको थियो । बाढीले आयोजना र निर्माण कम्पनीका गरी २५ करोड बढी क्षति भएको उनको अनुमान छ ।

पछिल्लो समय आयोजनाको व्यावसायिक विद्युत् उत्पादन २०७७ असारका लागि तोकिएको थियो । हरेक वर्ष बर्खायाममा बाढीपहिरोले समस्या बनाउने भए पनि यसपटक क्षति नै गरेपछि समस्या परेको आयोजनाको भनाइ छ । बाढी आएको भोलिपल्टदेखि आयोजना निर्माणस्थलमा कामदार छैनन् ।

साढे ८ अर्ब रुपैयाँमा निर्माण सक्ने भनिएकामा बाढीपहिरोका कारण लागत बढ्ने भएको छ । नबिल बैंकको नेतृत्वमा ९ बैंकको ७० प्रतिशत लगानी छ । शतप्रतिशत स्वदेशी लगानीमा निर्माण हुन लागेको आयोजनामा ३० प्रतिशत इक्विटी (स्वपुँजी) रहनेछ । आयोजनामा लमजुङका स्थानीयले २५ करोड रुपैयाँ लगानी गरेका छन् ।

मंसिरभित्र निर्माण सक्ने लक्ष्य लिइएको दोर्दी १ जलविद्युत्मा यो बर्खाको बाढीले खासै क्षति गरेको छैन । माथिल्लो क्षेत्रमा आएको बाढीले भने जनधनको क्षति पुर्‍याएपछि निर्माण प्रभावित छ । डिसेन्डरमा केही क्षति भएको आयोजनाका प्रोजेक्ट म्यानेजर उज्ज्वल सिलवालले जानकारी दिए ।

पावरहाउसमा पानी भरिएकाले तान्ने क्रममा रहेको उनको भनाइ छ । ‘माथिल्लो क्षेत्रको बाढीले धनजनको नाश गर्‍यो,’ उनले भने, ‘बाढीपहिरोले काम गर्न दिएन । यस्तो समयमा काम गर्ने मानसिकता पनि बनेन ।’ मंसिरमा निर्माण सक्ने भनिएको आयोजना चालु आवमा मात्र पूरा हुने उनले बताए । लमजुङ विद्युत् विकास कम्पनी लिमिटेडले दोर्दी गाउँपालिका ६, ढोडेनीमा दोर्दीखोला जलविद्युत् कम्पनी लिमिटेडमार्फत उक्त आयोजना निर्माण गरिरहेको छ । आयोजनाको निर्माण करिब ४० प्रतिशत सकिएको छ ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?