२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

बेंसीसहर–चामे यात्रामा सधैं सास्ती

न ठेकेदारले राम्रोसँग पुल बनाउँछ न सडक कार्यालयले समयमा सडक सफा गर्छ ।
आश गुरुङ

लमजुङ — ६ वर्षयता मनाङको हुम्डेमा हवाई सेवा बन्द छ । चामे–बेंसीसहर सडक पनि ठाउँठाउँ अवरुद्ध हुने गरेको छ । नेपाली सेनाले ट्र्याक खोलेको सडक ५ वर्षअघि सरकारलाई हस्तान्तरण गरेको थियो ।

बेंसीसहर–चामे यात्रामा सधैं सास्ती

डिभिजन सडक कार्यालयले बर्सेनि मर्मत गर्दै आए पनि पहिरो खसिरहन्छ । मनाङबाट बेंसीसहर, पोखरा, काठमाडौं जाने तथा तल्लो क्षेत्रबाट मनाङ आउनेलाई सास्ती छ । पहिरोकै कारण उनीहरू दिनदिनै सवारीसाधन परिवर्तन गरी आउजाउ गर्न बाध्य छन् ।


लमजुङको मर्स्याङ्दी गाउँपालिका–४ बुङछहराका बाबुराम तामाङका अनुसार सडकमा खसेको पहिरो ४/५ दिनसम्म नहटाउँदा स्थानीय जोखिममा परे । विद्यार्थीको पढाइ छुट्यो । ‘पहिरो गएपछि तुरुन्त हटाउनु सडक कार्यालयको कर्तव्य हो तर

कार्यालयको अनुकूलतामा काम गरिन्छ,’ उनले भने ।


उक्त पहिरो ५ दिनपछि शनिबार पन्छाइएको थियो । ‘न ठेकेदारले राम्रोसँग पुल बनाउँछ न सडक कार्यालयले समयमा सडक सफा गर्छ,’ मनाङको ङिस्याङ गाउँपालिका–५ भ्राकाका मनबहादुर गुरुङले भने, ‘यसले धेरैजसो मनाङवासी र पर्यटकलाई समस्या बनाएको छ ।’ मनाङबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पोल्देनछोपाङ गुरुङले दिनका दिन सडक कार्यालय र इन्जिनियरलाई फोन गरेर सडक सफा गर्नुपर्ने बाध्यता रहेको बताए ।


‘सडकले भनेको समयमा काम गर्दैन । गरे पनि राम्रो गर्दैन । आफैंले गर्नुपर्ने भएपछि छिटो गर्नुपर्‍यो नि,’ उनले भने । सडक स्तरोन्नतिका लागि प्रदेश सरकार, केन्द्रीय सरकारसँग पहल भइरहेको उनले बताए । म्यार्दीखोलादेखि मनाङतर्फको सडक राम्रो भए पनि उत्तिसघारीमा ढुंगा खस्ने समस्या छ । धेरैजसो लमजुङतर्फको सडक बिग्रने गरेको छ ।


काप्रेभीर, च्याम्चेक्षेत्र, शिरचौर, अर्खलेबेंसी, खरखरेलगायत ठाउँमा पहिरो जाने गर्छ । मनाङतर्फ म्यार्दीभीर, सिरानतालमा पहिरो र ढुंगा खस्ने समस्या छ । केही ठाउँमा सडक भासिएको छ । हिउँदमा समेत चण्डीस्थानको अक्करखोला, उत्तीसघारी र चिसापानी वरपरको यात्रा कष्टपूर्ण बन्छ । मनाङ सदरमुकाम चामे जोड्ने सडक स्तरोन्नति हुन बाँकी छ । भीरैभीर लगिएको सडकको अहिलेसम्म ट्र्याक मात्र खोलिएको छ ।


नेपाली सेनाले १९ वर्ष लगाएर ट्र्याक खोली सडक विभागलाई जिम्मा लगाएको हो । बेंसीसहरबाट मनाङसम्म ६५ किमि मात्र हो । सडक व्यवस्थित नभएकै कारण यो दूरी पार गर्न सवारीसाधनलाई सात घण्टासम्म लाग्छ । जोखिमपूर्ण यात्रा गराउनु आफूहरूको रहर नभएर बाध्यता भएको सवारीचालक सुमन गुरुङले बताए ।

प्रकाशित : श्रावण २२, २०७६ ०८:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?