फार्मेसी तोकेर औषधि प्रेस्क्रिप्सन

सरकारी अस्पतालकै फार्मेसीमा औषधि हुँदाहुँदै चिकित्सकले बिरामीलाई बाहिरबाट किन्न लगाउँछन् ।
फातिमा बानु

काठमाडौँ — नेपाल मेडिकल काउन्सिलको आचारसंहिताविपरीत सरकारी चिकित्सकले फार्मेसी तोकेर औषधि प्रेस्क्रिप्सन गर्ने गरेका छन् । सरकारी अस्पतालको फार्मेसीमा औषधि हुँदाहुँदै चिकित्सकले बिरामीलाई बाहिरका निजी फार्मेसीबाट औषधि किन्न लगाउने गरेका हुन् ।

चिकित्सकले फार्मेसी तोकेर बाहिर पठाउँदा बिरामी अस्पतालमै उपलब्ध सस्तो औषधि पाउनबाट वञ्चित भइरहेका छन् । अस्पताल परिसरमै अनिवार्य फार्मेसी हुनुपर्ने नियमको उद्देश्य बिरामीले बाहिर महँगोमा औषधि किन्नु नपरोस् भन्ने हो । अस्पताल परिसरमा फार्मेसी हुँदाहुँदै पनि चिकित्सकले औषधि खरिदका लागि बाहिर पठाउने अभ्यास रोकिएको छैन । नेपाल मेडिकल काउन्सिलको आचारसंहिता समितिका अध्यक्ष डा. ढुण्डीराज पौडेलले फार्मेसीबाट कमिसन पाउने लोभमा चिकित्सकले बाहिरका फार्मेसीमा पठाउने प्रवृत्ति रहेको बताए ।

‘फार्मेसी तोकेर बाहिर पठाउनु दण्डनीय हो,’ उनले भने, ‘डाक्टरले औषधि कम्पनीसमेत तोक्न पाउँदैनन् ।’ चिकित्सकहरूले नगद, विदेश भ्रमणलगायत लेनदेनको लालचमा परेर निजी फार्मेसीमा बिरामीलाई पठाउने गरेको डा. पौडेलले बताए । बिरामी पक्षले काउन्सिलमा उजुरी दिए चिकित्सकमाथि कारबाही हुने व्यवस्था भए पनि व्यवहारमा लागू हुन सकेको छैन ।

काउन्सिलमा यस्ता उजुरी नपरेको डा. पौडेलले बताए । ‘उजुरीमाथि छानबिन गर्दा डाक्टरको गल्ती देखिए बढुवाका साथै विदेश जानसम्म रोक लगाउन सकिन्छ । बिरामीमा यससम्बन्धी चेतना नभएर पनि होला, उजुरी पर्दैन’, उनले भने । महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ) का केही चिकित्सकले फार्मेसी तोकेर औषधि लेख्ने गरेको बिरामीगुनासो गर्छन् ।

फार्मेसी तोकिएको पुर्जा बोकेर उनीहरू सोधखोज गरिरहेका भेटिन्छन् । अस्पतालको फार्मेसी स्रोतले भन्यो, ‘हाम्रैमा भएको सामान्य औषधि पनि बिरामीलाई बाहिर किन्न पठाउँछन् । यसबारे अस्पताल प्रशासनलाई पनि केही मतलब छैन ।’ राजधानीका ठूला सरकारी अस्पताल वीर, प्रसूति गृह र कान्ति बाल अस्पतालमा पनि यस्तो अभ्यास देखिएको छ । वीर अस्पताल स्रोत भन्छ, ‘औषधि लिन आउने १० जनामध्ये ३ जनासँग फार्मेसी तोकिएको पुर्जा हुन्छ । हामीले प्रशासनमा गुनासो गरे पनि सुधार हुन सकेको छैन ।’

सरकारीमा सधैं औषधि अभाव
ढाडको समस्याका कारण ट्रमा सेन्टरमा उपचाररत एक महिलाले सोमबार अस्पतालको फार्मेसीमा भिटामिन ‘डी’ समेत पाइनन् । ट्रमाको फार्मेसीमा यसको अत्यधिक माग छ तर उपलब्ध नहुँदा बिरामी बाहिरको फार्मेसीबाट तेब्बर मूल्यमा किनेर खान्छन् ।
सरकारी फार्मेसीमा सामान्य औषधिका साथै अत्यावश्यक औषधिसमेत अभाव हुने गर्छ ।

कमिसनका लागि सरकारी फार्मेसीमा अस्पतालले नियतवश औषधि अभाव गराएर बाहिरको फार्मेसी पोस्ने गरेको पनि कतिपयले बताउने गरेका छन् । स्रोतले भन्यो, ‘आईसीयूमै चाहिने औषधि पनि अभाव भइरहेकोहुन्छ । स्टोरमा भए पनि फार्मेसीमा औषधि दिँदैनन् ।’

प्रकाशित : श्रावण २२, २०७६ ०८:३५
प्रतिक्रिया
पठाउनुहोस्

जन्मेको ३ दिनमै बट्टाको दूध

नवजात शिशुका लागि आमाको दूध खोपसरह मानिन्छ । आमाको दूधजस्तो पोसिलो केही चिज छैन भनिए पनि शिशु खानबाट वञ्चित भइरहेका छन् ।
फातिमा बानु

काठमाडौँ — राजधानीकी ३२ वर्षीया महिलाले गत साता थापाथलिस्थित प्रसूति गृहमा शल्यक्रिया गरी शिशु जन्माइन् । पहिलो बच्चा भएकाले आमाले बच्चालाई दूध खुवाउन जानिनन् । शिशु भोकाएर रोयो भन्दै बिहान जन्मेको शिशुलाई साँझ अस्पतालका डाक्टर र नर्सले बट्टाको दूध (फर्मुला मिल्क) खुवाउन सुझाए । शिशु अहिले आमाको भन्दा बट्टाको दूध नै रुचाउने गरेको ती महिला बताउँछिन् ।

महाराजगन्जस्थित कान्ति बाल अस्पतालमा स्तनपान सप्ताहबारे गरिएको जनचेतनामूलक प्रदर्शनी अवलोकन गर्दै अवलोकनकर्ता । तस्बिर : बिजु महर्जन/कान्तिपुर

बट्टाको दूधको फाइदा बेफाइदाबारे आफूलाई केही थाहा नभएको उनले बताइन् । प्रसूति गृहमा अधिकांश शिशुलाई जन्मेको केही घण्टामा स्वास्थ्यकर्मीकै सल्लाहमा आमाको दूधको साटो बट्टाको दूध खुवाइने गरिएको छ ।

नवजात शिशुका लागि आमाको दूध खोप सरह मानिन्छ । शिशुका लागि आमाको दूधजस्तो पोसिलो केही चिज छैन भनिरहँदा पछिल्लो समय नवजात शिशु आमाको दूध खानबाट वञ्चित भइरहेका छन् । विशेषगरी शल्यक्रियाबाट जन्मिने शिशु आमाको दूध पाउँदैनन् । ‘शल्यक्रिया गर्दा आमा पीडामा हुन्छिन् । दूध आउँदैन । बच्चाले दूध चुस्दा आमालाई दुख्छ,’ जस्ता बाहनामा स्तनपान घट्दै गइरहेको पोषणविद् डा. अतुल उपाध्याय बताउँछन् । हेलेन केलरले सन् २०१४ मा उपत्यकाका अस्पतालमा गरेको एक अध्ययनअनुसार ५७ प्रतिशत शिशुलाई जन्मेको तीन दिनभित्रै बट्टाको दूध खुवाइने गरिएको छ ।

परिवार कल्याण महाशाखाको पोषण शाखा प्रमुख केदार पराजुलीका अनुसार बढ्दो आधुनिकता, महिलाको शरीर सौन्दर्यताको चिन्ता र स्तनपानका फाइदाबारे जनचेतना नपुग्दा शिशुले आमाको दूध खान पाइरहेका छैनन् । उनी भन्छन्, ‘बच्चालाई जन्मेको आधा घण्टाभित्र आमाको दूध चुसाउनुपर्छ । शल्यक्रिया गरिएका महिलाले यति समयभित्र बच्चालाई दूध खुवाउन सकिरहेका छैनन् ।’ नेपाल स्वास्थ्य तथा जनसांख्यिक सर्वेक्षणअनुसार २५ वर्षअघि नेपालमा स्तनपान दर ७५ प्रतिशत थियो ।

जनसांख्यिक स्वास्थ्य सर्वेक्षण २०१६ का अनुसार पूर्ण स्तनपान घटेर ६६ प्रतिशतमा झरेको छ । काठमाडौं उपत्यकामा स्तनपानको दर अझै कमजोर छ । यहाँ ४१ प्रतिशत शिशुले मात्रै जन्मेको एक घण्टाभित्र आमाको दूध खान पाउँछन् । गर्भावस्थामा चारपटक स्वास्थ्य संस्थामा पुग्दा स्वास्थ्यकर्मीले स्तनपानका फाइदाबारे परामर्श नदिनु, शल्यक्रिया गरी बच्चा जन्माउँदा पनि सजिलै दूध खुवाउन सकिने भए पनि यसमा स्वास्थ्यकर्मीले आमालाई नसघाउनु र कामकाजी महिलाले बच्चालाई समय दिन नभ्याउनु स्तनापनदर घट्नुको मुख्य कारण मानिन्छन् ।

डा .उपाध्याय भन्छन्, ‘अप्रेसन गरेका आमाको दूध आउन गाह्रै हुन्छ । स्वास्थ्यर्मीले केही समय दिएर स्तन र ढनड मसाज गर्ने र परामर्श गर्ने गरेमा दूध आउँछ र यस्तो गरेमा बच्चा बिगौती दूध खानबाट वञ्चित हुँदैनथे ।’ बिगौती दूधको साटो शिशु जन्मनासाथ घिउ, मह, चिनी र कृत्रिम दूध चटाउने अभ्यास रहेको उनले बताए ।

हेलेन केलर र स्वास्थ्य अनुसन्धान परिषद्ले सन् २०१४ मा उपत्यकाका अस्पतालभित्र गरेको अध्ययनले ४८ प्रतिशत आमालाई स्वास्थ्य व्यवसायीले नै बट्टाको दूध सिफारिस गर्ने गरेका छन् ।

११ प्रतिशत महिलाले मात्रै गर्भावस्थामा स्तनपानबारे परामर्श पाउने गरेका छन् । कामकाजी महिलाले बच्चालाई दूध खुवाउन प्रेरित गर्नका लागि सरकारले प्रत्येक कार्यालयमा स्तनपान कक्ष बनाउनैपर्ने बाध्यकारी नियम निर्माण गर्नुपर्ने प्रमुख पराजुली बताउँछन् । उनी भन्छन्, ‘हामीले गत वर्षदेखि स्वास्थ्य सेवा विभागमै स्तनपान कक्ष निर्माण गरेर यो अभियान थालेका छौं । देशका सबै स्थानीय तहमा यस्तो कक्ष निर्माण गर्ने तयारी छ ।’ अहिले प्रधानमन्त्री कार्यालय, काठमाडौं र विरागनगरका एयरपोर्टमा पनि स्तनपान कक्ष बनिसकेको उनले बताए ।

रोकिएन फर्मुला मिल्कको खुला बिक्री
कानुनले खुला रूपमा फर्मुला मिल्कको बिक्रीवितरण गर्न रोक लगाए पनि यो रोकिएको छैन । अनुगमन पाटो फितलो हुँदा यसको खुला बिक्री नरोकिएको हो । आमाको दूधलाई प्रतिस्थापन गर्ने वस्तुको बिक्रीवितरण नियन्त्रण ऐन २०४९ तथा नियमावली २०५१ अनुसार यस्ता वस्तुको खुला विज्ञापन र बिक्री गर्न पाइँदैन ।

तर राजधानीका सरकारी अस्पताल परिसरभित्रै फर्मुला मिल्कको बिक्री रोकिन सकेको छैन । पोषणविद् डा अरुण उप्रेतीका अनुसार बजारिया दूधले बच्चालाई हानि गर्छ । दूधको बट्टामा अंकित फलफूल र भिटामिन सबै झूट भएको उनले दाबी गरिन् ।

कानुनले फर्मुला मिल्क ऐन उल्लघंन गरेमा मुद्दासमेत चलाउने अधिकार दिए पनि यो व्यवहारमा लागू हुन सकेको छैन । सरकारले स्तनपान जनचेतना बढाउन र फर्मुला मिल्क नियन्त्रण गर्न गत वर्ष ७७ जिल्लामा निरीक्षकलाई तालिम दिए पनि ती जनशक्ति सक्रिय छैनन् ।

बजारिया दूधले बच्चाको रोगप्रतिरोधात्मक क्षमता घटाउने र यसको माग नरोकिएसम्म बालमृत्यु दर नघट्ने बालरोग विशेषज्ञ बताउँछन् । डा उपाध्याय भन्छन्, ‘कामकाजी आमाले बिहान दूध दुहेर सामान्य तापक्रममा राख्दा दिनभरि शिशुलाई त्यही दूध खुवाउन मिल्छ । सरकारले दूध खुवाउनकै लागि आमालाई कार्यालय समयबीच घर जाने वातावरण मिलाउन आवश्यक छ ।’

अस्पतालमा स्तनपान अनुगमन
विश्व स्तनपान सप्ताहलाई मध्यनजर गर्दै स्वास्थ्य मन्त्रालयको टोलीले शुक्रबार राजधानीका तीन अस्पतालमा स्तनपान अनुगमन गरेको छ ।

टोलीमा स्वास्थ्य सचिव रामप्रसाद थपलिया, संसदको स्वास्थ्य तथा शिक्षा समिति सभापति जयपुरी घर्ती र स्वास्थ्य सेवा विभागको परिवार कल्याण महाशाखा निर्देशक भीमसिंह टिंकरी र चिकित्सक थिए । टोलीले थापाथलीस्थित प्रसूति गृह, सिनामगंलको नेपाल मेडिकल कलेज र चाबहिलको ओम अस्पतालमा अनुगमन गरेको थियो ।

टोलीले अस्पताल हाताभित्र भेटिएका सुत्केरी र गर्भवती महिलासँग गरेको अन्तरक्रियामा स्तनपानका फाइदाबारे न्यूनलाई मात्रै थाहा भएको महाशाखाको पोषण शाखा प्रमुख केदार पराजुलीले बताए । उनले भने, ‘आमाको दूधको फाइदा र बजारिया दूधको बेफाइदाबारे अझै जनचेतना पुगेको छैन रहेछ । दूध बेच्ने फार्मेसी आफैं यससम्बन्धी कानुनबारे अनविज्ञ भएको पाइयो ।’ टोलीले कानुनविपरीत बजारिया दूधका केही बट्टासमेत जफत गरेको उनले जानकारी दिए ।

आमाबाबुको सक्षमता, स्तनपानको सफलता
विश्व स्तनपान सप्ताह दिवसको अवसरमा कान्ति बाल अस्पताललमा स्तनपानसम्बन्धी प्रदर्शनी गरिएको छ । वीर अस्पताल नर्सिङ क्याम्पसमा अध्ययनरत बीएन दोस्रो वर्षका विद्यार्थीले जनचेतना फैलाउने उद्देश्यले फोटो प्रदर्शन गरेका हुन् ।

‘आमाबाबुको सक्षमता ः स्तनपानको सफलता’ नाराका साथ जन्मेदेखिका बच्चालाई केन्द्रित गरी जनचेतना दिने काम भएको छ । स्तनपान बच्चाका लागि अमृतसमान भन्दै स्तनपानलाई अर्ली, एक्सक्लुसिव र एक्सटेन्डेड गरी तीन भागमा विभाजन गरिएको छ ।

अर्ली भन्नाले जन्मेको एक घण्टाभित्रै स्तनपान गराउनुपर्ने र एक्सक्लुसिव भन्नाले ६ महिनासम्म आमाको दूध मात्र खुवाउने र एक्सटेन्डेड भन्नाले २ वर्षसम्म आमाको दूध अनिवार्य र पूरक खाना पनि खुवाउने गर्नुपर्छ । क्याम्पसकी विद्यार्थी दिव्या श्रेष्ठका अनुसार ग्रामीण समाजका महिलाले स्तनपान गराए पनि सहरकाले नगराउने गरेको बताइन् ।

प्रदर्शनीमा स्तनपान गराएका बच्चा मोटो, बिरामी कम हुने गरेका फोटा राखिएका छन् । बच्चालाई कंगारू हेरचाह गर्दा आमा, बच्चा फाइदा पुग्छ । कंगारू हेरचाह गर्दा बच्चालाई श्वासप्रश्वासमा सहयोग हुने र रोगसँग लड्न सक्ने क्षमताको वृद्धि हुने गर्दछ । स्तनपान गराउँदा आमालाई सन्तुष्टि मिल्छ भने परिवारलाई पैसाको बचत हुन्छ ।

त्यस्तै आमाले रातमा ३ पटक र दिउँसो ८ पटक दूध खुवाउने हो भने परिवार नियोजनमा पनि सहयोग पुग्ने र ब्रेस्ट क्यान्सर हुनबाट बचाउन छ । हरेक वर्ष अगस्ट १ देखि ७ सम्म विश्व स्तनपान सप्ताह मनाउने गरिएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०७:२४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्