प्रदेश मन्त्रालयको प्रगति निराशानक

विनु तिम्सिना

विराटनगर — प्रदेश १ को उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयको प्रगति निराशाजनक देखिएको छ । मन्त्रालयले मंगलबार विराटनगरमा आयोजना गरेको आर्थिक वर्ष २०७५/७६ को बजेट समिक्षामा कानुन निर्माणदेखि बजेट खर्चसम्म मन्त्रालयको अवस्था निरासाजनक देखिएको हो । 

मन्त्रालयलाई तत्काल १० वटा कानुनको आवश्यकता छ तर सरकार गठन भएको दुइवर्ष पुग्न लाग्दापनि मन्त्रालयले एउटामात्रै कानुन निर्माण गरेको छ । कानुन निर्माणको हिसाबले यो निराशाजनक अवस्था भएको भन्दै कार्यक्रममा आलोचना समेत गरिएको थियो । मन्त्रालयले प्रदेश पर्यटन ऐन निर्माण गरेको त छ तर नियमावली नबनाइदा ऐन कार्यान्वयनमा अन्यौलता देखिएको छ ।

बजेट खर्चको अवस्थापनि मन्त्रलायको निराशाजनक नै देखिएको छ । समग्र मन्त्रालयको बजेट खर्चको अवस्था औसत मात्र देखिएको छ । मन्त्रालयले पर्यटन क्षेत्रकालागि आर्थिक वर्ष २०७५/७६ मा संघीय सरकारबाट हस्तान्तरण भएर प्राप्त भएको ७ करोड रुपैयाँ बजेटबाट ४७ प्रतिशत मात्रै खर्च गरेको छ । प्रदेश सरकारले विनियोजन गरेको पर्यटन प्रवर्द्धन तथा विकास कार्यक्रममा ५२ करोड विनियोजन गरेको भएपनि ६६ प्रतिशत मात्र प्रगति भएको छ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री जगदिश कुशियतले मन्त्रालयले उत्साहजन काम गर्न नसकेको स्वीकार गरे । ‘मन्त्रालयले भनेजस्तरी काम गर्न नसकेकै हो’ उनले भने, ‘तर जुन अवस्थामा जति काम गरियो अन्य मन्त्रालय भन्दा राम्रो काम गरेको जस्तो लाग्छ ।’ कर्मचारी अभाव हुँदा करारका प्राविधिक र कर्मचारीलाई परिचालन गरेर पनि काम गरेको बताउँदै उनले अधिकांश कार्यक्रममा ५० प्रतिशत बढी प्रगति गरेको दाबी गरेको गरे ।

मन्त्रालयको प्रगतीबाट पूर्ण सन्तुष्टि हुन नसकेको बताउँदै प्रमुख सचिव सुरेश अधिकारीले जिम्मेवारी वनको छाँयामा उद्योग र पर्यटन क्षेत्र परेको भन्दै कर्मचारीहरुलाई सचेत गराए । ‘वनको छाँयामा उद्योग र पर्यटन क्षेत्र परेको जस्तो देखिन्छ,’ उनले भने, ‘मन्त्रालयले सबै क्षेत्रमा समानरुपमा काम गर्ने र उपलब्धी हासिल गर्नेतर्फ ध्यान पुगेको देखिएन ।’

समग्र मन्त्रालयले ५९ प्रतिशत बजेट खर्च गर्दा पर्यटन क्षेत्रमा खास प्रगति गर्न नसकेको र त्यसले प्रदेश सरकारको पर्यटन प्रवर्द्धन र विकास गर्ने लक्ष्य प्राप्तिमा बाधा पुग्ने उनले बताए । स्रोत, साधन र क्षमता पुग्ने क्षेत्रमा मात्रै बजेट विनियोजन गर्न उनले सुझाव दिए । थोरै बजेट भएका कार्यक्रमहरुको शत प्रतिशत वा धेरै उपलब्धी हुने तर बढी बजेट भएको कार्यक्रममा खर्च नै गर्न नसक्ने अवस्था देखिएको भन्दै त्यस्तो कमजोरी हटाउन उनले निर्देशन दिए ।

वन क्षेत्रको काम सकारात्मक देखिएपनि वन क्षेत्र विस्तार र विकासको तथ्यांक समिक्षामा प्रस्तुत गरिएको थिएन । त्यस विषयमा पनि छलफलमा प्रश्न उठेको थियो । वनको विकास घाँस दाउराका लागि मात्र नभई स्वच्छ हावा र प्रयाप्त अक्सिजनका लागिसमेत भएकोले सहरी क्षेत्रमा कसरी रुख बिरुवा हुर्काउने भन्नेतर्फ विशेष जोड दिनुपर्नेमा सचिव अधिकारीले आग्रह गरे ।

उद्योगतर्फ संरचनाहरु नै कम भएको र नयाँ संरचना निर्माण गर्ने तथा आवश्यकताहरुको पहिचान गर्नेतर्फ पनि मन्त्रालयले ध्यान दिनुपर्ने विषयमा छलफल भएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १९:०९
प्रतिक्रिया
पठाउनुहोस्

फेरिँदै मेहन्दी परम्परा [तस्बिरहरु]

प्रशान्त माली

काठमाडौँ — नेवार समुदायमा परम्परादेखि मेहन्दी लगाउने चलनबारे अधिकांशलाई थाहा नहुन सक्छ । नेपाल भाषामा ‘लैचा’ भन्ने वनस्पतिबाट मेहन्दी बनाइन्छ । जसलाई सिलौटामा पिसिन्छ । त्यस लेदोमा अमिलो घाँस मिसाएपछि बन्ने मेहन्दी  हातमा विभिन्न आकृति बनाइन्छ । प्राय:ले चन्द्र, सूर्य र चराको चित्र बनाइन्थ्यो ।

पहेँलो बनाउन मेहन्दी सुकिसकेपछि तमाखु पानीले पखाल्ने गरिन्थ्यो। काठमाडौं महानगरपालिका-१८ यंगालकी ७८ वर्षीया लक्ष्मीदेवी मालाकार सम्झन्छिन्, ‘घण्टाकर्ण चतुर्दशीमा अनिवार्य रुपमा लगाउने चलन थियो। हामी सानो छँदा हजुरआमाले लगाइदिनुहुन्थ्यो, आफैं पनि लगाउनुहुन्थ्यो।’

पहिला लैचा करेसाबारीमा थुप्रो हुन्थ्यो। बारीमा घरघरै बनेपछि गमलामा रोप्ने चलन आयो। र, बजारमा छुट्टै प्रकारको प्याकिङ मेहन्दी आएपछि लैचा लगाउने चलन हरायो। ‘अहिले कसै कसैको घरमा रोपेको छ। तर, लगाउन छाडिसकेको छ,’ उनले भनिन्। थापाथलीकी ४६ वर्षीया नन्द महर्जनको अनुभव पनि उस्तै छ। ‘लैचाको पात बूढी औंलाले टुक्रा-टुक्रा बनाएपछि रस हातभरि फैलिन्छ,’ उनी सुनाउँछिन्, ‘अनि सुकेपछि रातो, पहेँलो देखिन्थ्यो।’

बजारमा मेहन्दी लगाउने चलन परिर्वतन भएको एक दशक भयो। अहिले साउन महिना लागेदेखि नै हातभरी मेहन्दी लगाएर सजाउँछन्। मेहन्दी लगाउनका लागि विभिन्न तालिम केन्द्र खुलेका छन्। थरिथरिका डिजाइनमा मेहन्दी लगाउन सकिन्छ। हातमात्र नभई खुटासमेत लगाउने चलन आएको छ। बुटा हेरी सस्तोमा २५ रुपैयाँबाट लगाउन सकिन्छ। फुटपाटदेखि मेहन्दी सेन्टर जहींतहीं ग्राहक खचाखच छ।

भोटाहिटीस्थित नेपाल ऊल हाउसले भने मेहन्दी लगाउने नेवारी परम्परा जोगाउन प्रत्येक वर्ष साउनभरि निःशुल्क लगाउँदै आएका छन्। भोटाहिटीकी हिराकेशरी तुलाधर भन्छिन्, ‘मेहन्दीले हातलाई शोभायमान बनाइदिन्छ। उत्सवअनुसार फरक फरक किसिमले हातमा लगाइन्छ। अहिले नेपालमा मेहन्दी लगाउने व्यवसायी हुन थालेको छ।’ उनले केमीकलरहित मेहन्दीको प्रयोग गर्नुपर्ने बताइन्।

नेवार समुदायमा साउने संक्रन्तिमा लुतो फालेर लैचा लगाउने चलन थियो। त्यसको स्थान अहिले मेहन्दीले लिएको उनको अनुभव छ। लैचा साधारण हुने, सजिलै नपाउने र लगाउन पनि झन्झट भएकाले मेहन्दीतिर सबैको रुचि बढेको छ। आफूले सोचेजस्तो बुट्टा बनाउन सकिने भएकोले मेहन्दी सबैको रोजाइमा परेको उनको ठम्याइ छ। हिन्दू महिलाहरुको महान् पर्व तीजमा मेहन्दीको छुट्टै महत्व हुन्छ। अहिले महिलाहरुमा मेहन्दीको कलात्मक डिजाइन लगाउने क्रेज बढ्दै गइरहेको छ।





प्रकाशित : श्रावण २१, २०७६ १९:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्