कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

भुटानी शरणार्थीका कथा : सक्कली यतै, नक्कली उडे अमेरिका

‘बुबाआमा, दाजुबहिनीको फोटो हेर्दै जाँदा मेरो ठाउँमा त एउटा जुँगामुठे पो देखापर्‍यो । मैले यो म होइन भनिरहें, तर सुनुवाइ भएन ।’

दमक — राष्ट्रसंघीय शरणार्थी आयोगमार्फत तेस्रो देशमा बसोबासका लागि सबै कागजी प्रक्रिया पूरा गरिन्जेल परिवारका अन्तरे छोरा मोतीलाल थापा (राज) लहरै पंक्तिमा उभिएका थिए  । तर उड्ने बेला यी अन्तरेको ठाउँमा अरू कोही अमेरिकाको मिसोरी पुगेको धेरै ढिलो मात्रै थाहा भयो  ।

भुटानी शरणार्थीका कथा : सक्कली यतै, नक्कली उडे अमेरिका

‘म भुटानको दागाना जिल्लाबाट बुबाआमाका पछि लागेर सन् १९९२ मा बेलडाँगी शिविर आइपुग्दा ११ वर्षको थिएँ,’ बेलडाँगी शिविरमा भेटिएका थापाले सुनाए, ‘यतै पढियो, बढियो । शरणार्थी दर्ता र प्रमाणीकरणमा पनि परें । घरफिर्तीको कुरा सुरु हुँदै गर्दा बाबु लालबहादुर यही शिविरमा सन् २०१२ मा बित्नुभयो ।’

बीचमा मोतीलाल भारतको मणिपुर गएर गाईपालनमा लागे । सन् २०१५ को अन्त्यतिर एक दिन फेसबुक खोल्दा मात्रै बहिनी दिल्लीमायाबाट मोतीलालले थाहा पाए, घरपरिवारकै अमेरिकी पुनर्वासबारे । ‘कुदेर शिविर आइपुगें,’ मोतीलालले सुनाए, ‘शिविरको व्यवस्थापन समिति र शरणार्थी आयोगले भरेका कम्प्युटर लगबुकमा हेरिहेरें । कतै मेरो नाममा फोटो खाली राखिएको थियो, कतै मोतीलाल थापा अमेरिका गइसकेको भनेर अर्कैको तस्बिर देखाइयो ।’

शिविरमै भेटिएका ४६ वर्षीय जितबहादुर मगरको कथा पनि उस्तै छ । भुटानको दगानाबाट लखेटिएर सन् १९९२ मै झापा आइपुगेका बुबाआमा, भाइबहिनी पनि यतिखेर अमेरिकाको क्यान्टोकी पुगिसकेका छन् । ‘पुनर्वासको प्रक्रिया थाल्दा बुबाआमासँगै म पनि ३ पटक शरणार्थी आयोगको दमक कार्यालयमा ‘लगबुक’ भर्न पुगेको थिएँ, प्रमाणीकरण पनि निकै पटक भयो,’ जितबहादुरले सुनाए, ‘बुबाआमा, दाजुबहिनीको फोटो हेर्दै जाँदा मेरो ठाउँमा त एउटा जुँगामुठे पो देखापर्‍यो । मैले यो म होइन भनिरहें, सुनुवाइ कतै भएन ।’

यो ‘अन्याय’ सँगै परिवारसँग बिछोडिँदाको व्यथा गाउँदै मोतीलाल र जितबहादुर शरणार्थी शिविर वरपर गरिरहेका भेटिन्छन् । गरिखानका लागि मोतीलालले शिविरभित्रै बाख्रापालन गरेका छन् । जितबहादुर भने शिविरमै हुने निर्माण काममा ज्यालादारी गर्छन् । दुवैका श्रीमती र छोराछोरी पनि साथैछन् ।

मोतीलाल र जितबहादुर जस्तो ‘एउटाको नाममा अर्कै व्यक्ति पुनर्वासमा गएको’ अरू २० भन्दा बढी शरणार्थीबारे पनि कतै सोधखोज नभएको शरणार्थी समन्वय एकाइका एक पूर्वकर्मचारी बताउँछन् । ‘सक्कली शरणार्थी पनि कोही शिविर बाहिर गई बसेका छन्,’ ती कर्मचारीले भने, ‘कति भने शिविरभित्रै असुरक्षा महसुस गर्दै बसिरहेका छन् ।’

मोतीलाल र जितबहादुरले आफ्नो नाममा अरू कोही उडिसकेको दाबी गरिरहँदा शरणार्थी आयोगसहितका निकायले शिविरका बूढापाका र जानकार बोलाएर ‘मोतीलाल र जितबहादुर के यिनै हुन् ?’ भनेर पञ्चायतीसमेत बसाएका थिए । ‘चिन्नेजान्ने सबैले मोतीलाल र जितबहादुर यिनै हुन् भनेर हामीलाई नै प्रमाणित गरिदिए, तैपनि सुनुवाइ भएन,’ उनीहरूले भने ।

यस प्रकारको गुनासो र उजुरी लिखित रूपमा आयोगमा नआएको शरणार्थी आयोगको काठमाडौंस्थित मुख्यालयका सूचना अधिकृत दीपेशदास श्रेष्ठले बताए । ‘शरणार्थी पुनर्वास प्रक्रियामा आयोगसहित अन्तर्राष्ट्रिय आप्रवासन संगठन, नेपाल सरकारलगायत निकायले धेरै प्रक्रिया पूरा गरेर मात्रै अन्तिम निर्णय लिने गरेको छ,’ उनले भने, ‘अहिले सुनिएको प्रकृतिको गुनासोबारे जानकारी छैन ।’

शिविरमै भेटिएका ५४ वर्षीय मधुलाल चापागाईंले आफू पनि शरणार्थी गणना र प्रमाणीकरण क्रममा परेर पनि ‘असाइलम सिकर’ का रूपमा मात्रै परिचयपत्र लिई हिँडिरहेको बताए । ‘भुटानको चिराङबाट सन् १९९४ मा म झापा शिविर आएको हुँ,’ मेरा सबै परिवार अमेरिका गइसके । मलाई भने गणनामा गयल भनेर माग्दै नमागेको असाइलम सिकर भनिएको छ ।’ शरणार्थी आयोग र स्थानीय समन्वय समितिको अनुमति लिएरै बनारसमा संस्कृत पढ्न गएका ओमप्रकाश सापकोटा शास्त्री गुरु बनेर त आए । उनले पनि परिवारका ८ सदस्यमध्ये ७ लाई छाड्नुपर्‍यो । हरेक वर्ष शिविरमा आएर पुनर्दर्ता र हाजिरी गराए पनि अहिले शरणार्थी मान्यतासमेत पाउन नसकेको उनको गुनासो छ ।

‘फेरि कार्यदल’
झापाको दमकस्थित बेलडाँगी शरणार्थी र मोरङको पथरी–शनिश्चरे शिविरमा रहेका झन्डै ७ हजार शरणार्थीको स्थायी समस्या समाधानको उपाय पहिल्याउन पूर्वसहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा गृह मन्त्रालयले गठन गरेको कार्यदलले गतसाता दुवै शिविरको स्थलगत भ्रमण गरेको छ । ‘घरफिर्ती प्रक्रियामा भने जस्तो प्रक्रिया अघि नबढेको र पुनर्वासको कामकुरा पनि रोकिएको अवस्थामा शरणार्थी समस्या सामाधनको वैकल्पिक उपाय पहिल्याउन हामीले छलफल थालेका हौं,’ संयोजक पन्थीले कान्तिपुरसँग भने ।
कार्यदलले दिएको निर्देशनमा पथरी–शनिश्चरे र बेलडाँगी शिविरमा रहेका शरणार्थीको गणनासमेत थालिएको छ । कार्यदलमा गणेश केसी र दीपकप्रसाद न्यौपाने सदस्य छन् । भुटानी शरणार्थीलाई स्थानीय बसोबासको विकल्प दिनुपरे तिब्बती शरणार्थीलाई झैं ‘वर्क परमिट’ दिएर राख्न सकिने सम्भावना रहेको स्रोतको भनाइ छ ।

‘शरणार्थी गणना गर्दा घरफिर्ती गर्न चाहने, स्थानीय बसोबास रुचाउने वा पुनर्वासमा जाने इच्छुकको लगत फेरि निकालिएको छ,’ पथरी–शनिश्चरे शिविरका सचिव चम्पासिंह राईले भने, अब स्वदेश फिर्तीको सम्भावना न्यून भइसकेकाले समस्या समाधानमा विकल्पको कुरा हुन थालेको छ ।’ राष्ट्रसंघीय शरणार्थी नियोगले एक महिनाअघि मात्रै गरेको अध्ययनमा बाँकी रहेका शरणार्थीमध्ये ६० प्रतिशतभन्दा बढीले स्थानीय बसोबास चाहेका छन् ।

३६ प्रतिशतले घरफिर्ती र ४ प्रतिशतले मात्रै तेस्रो देशमा बसोबासको आकांक्षा राखेको राईले जानकारी दिए । शरणार्थी पुनर्वासको प्रक्रिया टुंगिई भुटानी शरणार्थीको संख्यात्मक समस्या गौण बनेपछि दमकस्थित शरणार्थी आयोगको कार्यालय पनि हट्ने भएको छ । शरणार्थीलाई विश्व खाद्य संगठनले खाद्यान्न सहयोग गर्न छाडिसकेको छ भने शिक्षा एवं स्वास्थ्यका मानवीय सहयोग पनि कम हुँदै गएका छन् ।

स्थानीय बसोबासका हकमा शरणार्थी समुदायले नेपाल सरकारसमक्ष आफूले ५ कट्ठा जमिन, ५० लाख रुपैयाँ र एउटा पक्की घर पाउनुपर्ने ‘सर्त’ राखिसकेको छ । भुटानी शरणार्थीका बालबच्चालाई जन्मदर्ता दिन थालिएको प्रक्रियासँग स्थानीय बसोबासको सन्दर्भ जोडिनु ‘अनावश्यक’ रहेको बेलडाँगी शिविर बसेको दमक ३ का वडाध्यक्ष नवीन बरालले बताए । ‘यो सामान्य रेकर्ड पद्धति हो,’ उनले भने, ‘शरणार्थी शिविरमा जन्मेको हो भन्ने आधारमा ‘अन्य’ शीर्षकमा यसरी जन्मदर्ताको सुविधा दिने गरिएको हो ।’

बिर्तामोडमा बस्दै आएका भुटानी शरणार्थी नेता टेकनाथ रिजालले अन्तर्राष्ट्रिय समुदायलाई देखाउनकै लागि भए पनि नेपालले शरणार्थी घरफिर्तीको ‘अडान’ कायमै राख्नुपर्ने बताए । ‘यो नेपालको अडानको जित मात्रै होइन, शरणार्थी समस्या समाधानमा चलेको विश्वव्यापी मान्यतामा घरफिर्तीको आधारलाई आत्मसात् गरेको ठहर्नेछ,’ उनले भने ।

प्रकाशित : श्रावण २१, २०७६ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?