हिटलरको बाटोमा ओली : देउवा

दीपक परियार

पोखरा — नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अनुचित विधेयक ल्याएर प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ता कब्जा गर्न खोजेको आरोप लगाएका छन् । 

मंगलबार पोखरामा आयोजित एक कार्यक्रममा सभापति देउवालेभने,‘हिटलरले संसदबाटै कानुन पास गरेर सत्ता कब्जा गरेका थिए, संसदमा अनेकथरी विधेयक पास गर्न खोजेर ओली पनि त्यही बाटोमा छन्।’

प्रजातन्त्र सेनानी दयाशंकर पालिखे स्मृति पत्रकारिता सम्मान वितरण समारोहमा उनले संसदमा प्रस्तुत हुने गलत विधेयकविरुद्ध संसदमै कडा प्रतिवाद गर्ने बताए। मिडिया विधेयक, गुठी विधेयक, मानवअधिकार आयोगसम्बन्धि विधेयकको संसदबाट विरोध गरेको उनले स्मरण गरे।

‘हामी कुर्सी भाँच्दैनौँ, मेच तोड्दैनौं, रेलिङ भत्काउँदैनौं,’ उनले भने, ‘हाम्रो विरोध शान्तिपूर्ण हुन्छ। जनताको साथ लिएर सदनबाट सडकसम्म जान्छौँ।’

मानवअधिकार आयोग सम्बन्धि विधेयक ल्याएर सरकारले स्वतन्त्र आयोगको अधिकार सिमित गर्न खोजेको उनको आरोप थियो।

पत्रकार महासंघ कास्कीद्वारा सञ्चालित तथा स्वर्गीय दयाशंकर पालिखेको परिवारद्वारा स्थापित सम्मानबाट पत्रकार रवीन्द्रनाथ बाँस्तोला सम्मानित भए। पुरस्कारको राशि ५५ हजार ५ सय ५५ रुपैयाँ रहेको छ।

प्रकाशित : श्रावण २१, २०७६ १४:५४
प्रतिक्रिया
पठाउनुहोस्

पुल भत्कँदा समस्या

एलपी देवकोटा

जुम्ला — तातोपानी गाउँपालिका ४ र ५ जोड्ने मूल बाटोको काठे पुल तिला नदीले भत्काएपछि आवतजावत गर्न कठिनाइ भएको छ । पुल भत्किएपछि बाटो नै अवरुद्ध भएको छ । ३० वर्षअघि निर्माण गरिएको पुल पुरानो भैसकेकाले नदीमा पानीको बहाव बढेसँगै बगाएको हो । 

साविकको हांकु गाविसलाई जोड्ने यो पुल भत्किएपछि तातोपानी गाउँपालिकाका दुई वडाका बासिन्दाहरुले आउजाउ गर्न सकेका छैनन् । पुल जीर्ण बन्दा सरोकारवालाले ध्यान नदिँदा नदीले बगाएको स्थानीय नन्दराम चौलागाईले बताए ।

‘३० वर्षअघि निर्माण गरेको पुल नदीले बगाउने अवस्थामा पुग्दा समेत त्यहाँ नयाँ पुल निर्माणका लागि सरोकारवाला कसैले चासो दिएनन्’ चौलागाईँले भने, ‘अहिले पुल बगाएपछि आवतजावत नै ठप्प भयो । ’

पुल बगाएपछि त्यसतर्फ सुरक्षाकर्मीलाई परिचालन गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । पुल भत्कँदा मानवीय क्षति नभएको प्रमृख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताइन् । ‘पुल भएकै ठाउँमा पुगेर सुरक्षाकर्मी र स्थानीयको सहयोगमा हामीले काठलाई किनारा लगाएका छौँ’ उनले भनिन्,‘त्यही पुलबाट नै खानेपानी पनि सप्लाई भएकाले साविक ४ नम्बर वडालाई खानेपानीको वैकल्पिक व्यवस्था गर्ने तयारी गरिरहेका छौँ । ’

प्रशासनले भत्किएको पुल भन्दा दुई किलोमिटर तल तातोपानी गाउँपालिकातर्फ धौलापानी र तीन किलोमिटरमाथि खलंगातर्फ उम्गाडमा रहेको पुल प्रयोग गर्न अनुरोध गरेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्