कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

गहना लुटेर दिदीबहिनीको हत्या प्रयास 

वसन्तप्रताप सिंह

बझाङ — १३ वर्षीया सुनिता ओली र २२ वर्षीया दिदी विमला केदारस्युँ गाउँपालिकाको झोता बजारबाट थलारा जाँदै थिए । माइती आएकी विमलालाई पुर्याउन साथमा सुनिता गएकी थिइन् । सोमबार साँझ ६ बजेतिर थलारा गाँउपालिकाको सँडिल निर पुग्दा दुई युवाले बाटो छेके । 

गहना लुटेर दिदीबहिनीको हत्या प्रयास 

‘तपाइँहरुको घर कता हो ? कहाँ हिँडेको भनेर एउटाले सोध्दै थियो अर्कोले दिदीको टाउकोमा ढुङ्गाले बजार्यो । दिदी ठाउँको ठाउँ ढलिन्’ जिल्ला अस्पतालमा भेटिएकी घटनाको प्रत्यक्षदर्शी समेत रहेकी घाइते सुनिताले भनिन्, ‘सोध्ने मान्छेले मेरो घाँटी अठ्याएर टाउकोमा ढुङ्गाले जथाभावी हान्यो । म पनि ढले । मलाई उठाएर खोलातिर फाल्न खोजेको याद छ । त्यस पछि बेहोस भएछु ।’ होस खुल्दा सुनिताले आफूलाई अस्पतालको बेडमा पाइन् । आधा घाँटी रेटिएको अवस्थामा छेउको बेडमा दिदीलाई देखे पछि उनी फेरि बेहोस भइन् ।


माइतीबाट जाँदै गरी यी दिदीबहिनीको साथमा रहेका गरगहना, नगद र मोबाइल लुटेराले लुटिसकेको रहेछ । ढुङ्गाले टाउको फुटाएर खोलामा धकेले पछि सुनितालाई मरिसक्यो भन्ने ठानेका लुटेराहरुले विमलाको घाँटी टिनको पाताले आधा रेटेर छोडेको अवस्थामा स्थानीयले भेटाएका थिए ।


घाँटी रेटिएकी विमलाको अवस्था गम्भीर छ । उनीहरु दुवै जनालाई थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको जिल्ला अस्पतालका डाक्टर मिलन रावलले बताए । केदारस्युँकी विमलाको गत वैसाखमा मात्र थलारा गाउँपालिकामा विवाह भएको थियो ।


घाइते भएकी सुनिता ओली जिल्ला अस्पतालमा उपचारको क्रममा । तस्बिर : वसन्तप्रताप सिंह


यसरी दिनदहाडै लुटपाट र हत्या प्रयास भएको बझाङमा यो पहिलो घटना भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घटनामा संलग्न रहेकाहरुको पहिचान भैसकेको र उनीहरुको खोजी कार्य भइरहेको डिएसपी सूर्यबहादुर केसीले बताए । स्थानीयहरुका अनुसार लुटपाट र हत्या प्रयासमा संलग्न भएका व्यक्तिहरु थलारा गाउँपालिकाकै हुन ।


दिउँसै भएको यो घटनाका कारण थलारा गाउँपालिका भरी त्रास फैलिएको स्थानीयले बताएका छन् । यो घटनाका कारण यहाँका महिलाहरु एक्लै दुक्लै हिडडुल गर्न पनि डराइरहेको स्थानीय बाबु सिंहले बताए । उनले भने, ‘मानिसहरु मेलापात जान पनि डराइरहेका छन् । दिनदहाडै यस्तो घटना होला भनेर कसैले कल्पना नै गरेको थिएन । हिडडुल गर्न पनि डराउनु पर्ने अवस्था आएको छ ।’

प्रकाशित : श्रावण २१, २०७६ १२:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?