रुद्राक्षको दानालाई राम्रो आकार दिन लगाइएको प्लाष्टिक क्लिप प्रहरीले हटायो 

एलिसा श्रेष्ठ

भोजपुर — षडानन्द नगरपालिकामा ठेकेदारले रुद्राक्षको दाना राम्रो बनाउनका लागि लगाएको प्लाष्टिकको क्लिप प्रहरीले हटाएको छ । किसानबाट ठेकेदारले बगान खरिद गरेर आफुखुसी नगरपालिकाको विभिन्न ठाउँमा रुद्राक्षमा लगाएको क्लिप प्रहरीले हटाएको हो । 

रुद्राक्षमा क्लिप राखेर दाना अप्राकृतिक बनाएको भन्दै गृह मन्त्रालयबाट निर्देशन आएपछि क्लिप हटाएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर पाण्डवकुमार राजवंशीले जानकारी दिए ।

षडानन्द नगरपालिका–६ केउरेनीपानी र साल्मा क्षेत्रको रुदाक्षको बोटमा लगाइएको क्लिप हटाइएको जिल्ला प्रहरी कार्यालय भोजपुरका इन्सपेक्टर राजवंशीले जानकारी दिए ।

प्रहरीले केउरनेपानीका पीताम्बर लम्सालको बगानमा लगाइएको १ सय ६ वटा र साल्माका ज्ञानेन्द्र बस्नेतको बगानमा लगाइएको २ सय २५ वटा क्लिप हटाएको हो । कृषकहरूबाट नेपाली व्यवसायीले बोटमै ठेक्का लिएर आफू खुसी क्लिप लगाएर आकार परिवर्तन गरेकाले गृहमन्त्रालयको निर्देशन अनुसार क्लीप हटाइएको प्रहरीले जनाएको छ ।

षडानन्द नगरपालिका–६ केउरेनीपानीमा रुद्राक्षको दाना राम्रो बनाउनका लागि लगाएको प्लाष्टिकको क्लिप हटाउँदै प्रहरी लगायत स्थानिय । तस्बिर /एलिसा श्रेष्ठ

चिनियाँ व्यापारीले प्लास्टिक क्लिपको सहायतामा रुद्राक्षको दानालाई गोलो, अन्डा र थेप्चो आकारमा आवश्यकता अनुसार बनाउने गरे पनि अप्राकृतिक रुद्राक्षले अन्तर्राष्ट्रिय बजारमा पार्ने असरका बारेमा भने कृषक अझै अनविज्ञ रहेका छन् ।

रुद्राक्षको अप्राकृतिक आकार र रूपले विश्व बजारमा नेपाली गुणस्तर र छवि बिग्रने भएकाले गृहको निर्देशन अनुसार क्लिप हटाइएको प्रहरीले बताएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ १०:१५
प्रतिक्रिया
पठाउनुहोस्

तरकारीले वार्षिक ३० लाख 

विनोद भण्डारी

विराटनगर — छिमेककी युवा कमाउन खाडी मुलुक उडेको देख्दा मोरङ कटहरी गाउँपालिका ४ फुलटोल मधुराका शिवनाथ सिंहलाई पनि जाउँजाउँ लाग्थ्यो । विदेश गएर कमाएर ल्याए जीवन अलि सहज हुन्थ्यो भन्ने कल्पना पनि गरेका थिए । धेरै सोचे तर उनले त्यो बाटो रोजेनन् । गाउँमै कृषि कर्ममा लाग्ने निधो गरे ।

निधो त गरे तर, एकै धुर पनि जग्गा थिएन । घरनजिक रहेको विराटनगर निवासी प्रेम कार्कीको १० कठ्ठा जमिन भाडामा लिए । अनि तरकारी खेती सुरु गरे । पहिलो सालै सोचेभन्दा बढी आम्दानी गरे । त्यही आम्दानीले भाडाको जग्गा आफ्नो बनाए । एक सिजनमा एक कट्ठाको तरकारीबाट खर्च कटाएर ४० हजार रुपैयाँसम्म कमाउन सकिने उनले बताए ।

यो १५ वर्षअघिको कुरा हो । त्यसयता उनले ७ बिघा जमिन जोडिसकेका छन् । त्यही सात बिघामा अहिले तरकारी खेती गरेका छन् । खर्च कटाएर वार्षिक सरदर २५–३० लाख रुपैयाँ कमाउँदै आएको उनको भनाइ छ ।

खेतीमा ८ जनाले रोजगारी पाएका छन् । ६ महिला र दुई पुरुषलाई दैनिक ५ सय रुपैयाँ ज्याला दिन्छन् । यतिमात्र होइन, उनले पाँच वर्षयता पिता जगदीश, आमा कान्तीदेवी, आफू र पत्नी शान्तिदेवीको नाममा पनि मासिक १५ हजारका दरले पारिश्रमिक तोकेका छन् । सबैको गरी मासिक ६० रुपैयाँ तलब छुट्याएर बचेको रकम घर खर्च र तीन छोरी र एक छोरालाई बोर्डिङ स्कुलमा पढाइरहेका छन् ।

परिवारका सबैको पारिश्रमिक जम्मा गर्न बैंकमा खाता खोलिएको सिंहले बताए । महिना मरेको भोलिपल्ट सबैको खातामा १५–१५ हजार रुपैयाँ जम्मा गरिदिएर भौचर दिन्छन् । ‘घरमा सामूहिक काम गर्नुपर्दा सबैले बैंकबाट आ–आफ्नो रकम झिक्ने गरेका छौं,’ सिंहले भने, ‘सबैको खातामा सरदर ७ लाख रुपैयाँ जम्मा भएको छ ।’

परिवारका सबैले आ–आफनो जिम्मेवारी सम्हाल्छन् । ‘बुवा र म खेती हेर्छौं, आमा चारवटा गाई हेर्नुहुन्छ,’ उनले भने, ‘पत्नीको भागमा बाख्रा र बिहान बेलुका खाना पकाउने जिम्मेवारी छ ।’ परिवारले दैनिक १५ लिटर दूध पनि बेच्छन् । ‘बजारको समस्या छैन,’ उनले भने, ‘प्राकृतिक प्रकोपले कहिलेकाहीँ नोक्सानी हुन्छ ।’ यो वर्षको बाढीले सात बिघा तरकारी खेतीमा करिब २० लाखको क्षति पुगेको उनको दाबी छ । ‘तर यो घाटा होइन,’ उनले भने, ‘लगानी र खर्च उठिसकेको थियो ।’ बाँकी रहेको तरकारी बारीमा बाढीले मलिलो लेदो हालेर अर्को बालीका लागि उर्बर माटो बनाई दिएको उनले बताए ।

चार वर्ष मलेसियामा श्रम गरेर फर्किएका कटहरी ४ नयाँ बजारका कोपेन्द्र सिंह पनि तरकारी खेतीबाटै करोडपति बनेका छन् । ‘मलेसियाबाट ४ लाख ६५ हजार रुपैयाँ कमाएर ल्याएँ,’ कोपेन्द्रले भने, ‘त्यहाँबाट फर्किएर तरकारी खेती गर्दा सात वर्षमा राम्रै कमाइ गर्न सकें ।’

उनले पनि सात वर्षअघि दुई कठ्ठा जमिनबाट खेती सुरु गरेका थिए । त्यही खेतीबाट कमाएर अहिले चार बिघा जमिन किनेका छन् । ‘यो खेतीबाट खर्च कटाएर अहिले वार्षिक सरदर १२–१५ लाख रुपैयाँ बचाउँदै आएको छु,’ उनले भने । ५ जनालाई दैनिक जनही ५ सय रुपैयाँ ज्याला दिएर काम लगाइरहेका छन् । उनले आफ्नो घर छेउका विदेश जाने तयारीमा बसेका १२ युवालाई कृषि कर्ममा लगाएका छन् । कोपेन्द्रले तरकारीकै कमाइले किसान कृषि फार्म पनि खोलेका छन् । करिब १८ लाखमा खोलेको फार्ममार्फत उनी तरकारी, धान, गहुँको बीउ उत्पादन गरेर बेच्छन् । यो उनको बेग्लै कमाइ हो ।

यसपालिको बाढीले तरकारी खेतीमा करिब ७ लाख क्षति पुगेको उनको दाबी छ । तर, उनी पनि यो क्षतिबाट बिचलित छैनन् । उनले तरकारी खेतीबाटै जिल्ला, अञ्चल र प्रदेश स्तरीय राष्ट्रपति कृषि पुरस्कार पाइसकेका छन् ।

कोपेन्द्रकै सुझावमा खाडी मुलुक नगई तरकारी खेती सुरु गरेका उनका छिमेकी सञ्जय सिंह अहिले वार्षिक ७–८ लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । ‘साउदी जाने तयारी गरेको थिएँ,’ उनले भने, ‘कोपेन्द्रले गाउँमै तरकारी खेती गर्न सुझाव दिए ।’
चार वर्षअघि ५ कठ्ठाबाट सुरु गरेको तरकारी खेती दुई बिघामा पुगेको छ ।

खर्च कटाएर वार्षिक ७–८ लाख रुपैयाँ आम्दानी भइरहेको सञ्जयले बताए । शिवनाथ, कोपेन्द्र र संजयमात्र होइन मोरङको कटहरी र जहदामा तरकारी खेती गर्ने प्रायः सबै किसानले लोभलाग्दो कमाइ गरिरहेको कृषि निर्देशनालयका कृषि प्रसार अधिकारी हृदय पोखरेलको भनाइ छ । कटहरी र जहदा गाउँपालिकामा ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा व्यावसायिक तरकारी खेती हुँदै आएको छ । ‘यसमा करिब दुई सय किसान सहभागी छन्,’ उनले भने ।

प्रकाशित : श्रावण २१, २०७६ १०:१०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्