विपद् व्यवस्थापन : योजना बन्छन्, कार्यान्वयन हुँदैनन्

स्थानीय सरकारले निर्माण गरेका ग्रामीण सडकले पहिरो निम्त्याएका छन् । स्थानीय तह गठनपछि गाउँटोलमा सडक पुर्‍याउन डोजरमार्फत खनिएका अधिकांश सडकले विकासभन्दा पनि बढी विपत्ति ल्याएका छन् ।
तुलाराम पाण्डे, हरि गौतम

कालीकोट र रुकुम पश्चिम — कर्णाली राजमार्गअन्तर्गत सुर्खेत–जुम्ला सडकखण्डको कालेखोलामा साउन ११ गते राति गएको पहिरो पन्छाउन सडक डिभिजन कार्यालय जुम्लालाई ५ दिन लाग्यो । सडक निर्माणका बेला चट्टान फुटाउँदा थर्किएको पहाड खसेर करिब ३० मिटर सडक पूरै भत्काएकाले ब्रेकर र बकेटसहितका २ डोजर लगाउँदा पनि पहिरो पन्छाउन ५ दिन लागेको थियो । गाडी रोकिँदा सयौं यात्रु बाटोमा अलपत्र परे । 

पहिरोले वर्षैभरि सास्ती दिने कर्णाली राजमार्गको कालीकोट शुभकालिका १ छाती गाउँको पुछारमा पर्ने गगने खोलाको पहिरोमा गाडी रोकिएपछि पैदलै गन्तव्यतर्फ जाँदै यात्रु ।तस्बिर : तुलाराम/कान्तिपुर

साउन ४ मा गगने खोलामा गएको पहिरो खुल्न २ दिन लाग्यो । बर्सेनि बगिरहने गगने खोलाको पहिरोमा परी ४ ट्र्याक्टर, ७ मानिस र लाखौं रुपैयाँबराबरको सामान क्षति भइसकेको छ ।

जिल्ला विपद् व्यवस्थापन समितिले गगने खोलामा सडक अवरुद्ध हुन नदिन सडक विभागको सहयोगमा डोजर तयारी अवस्थामा राख्ने निर्णय गरेको थियो । तर सधैं पहिरो गएपछि स्थानीय प्रशासनले डोजरको खोजी गर्ने गरेको छ । पहिरो गएपछि मात्र डोजर खोज्ने कारणले राजमार्ग साता दिनसम्म अवरुद्ध हुन्छ ।

गत पुसमा पलाता १ खाडागाउँको न्यौपाने गाउँमा असावधानीले आगलागी भयो । मदिरा निषेधित क्षेत्रमा केही टाठाबाठाले मदिरा पार्टी गर्ने क्रममा चुरोटको ठुटो जथाभाबी फाल्दा आगलागी भएको थियो । खरका छाना भएको बस्तीमा आगलागी भएपछि स्थानीय जनप्रतिनिधि, प्रहरी र प्रशासनका कर्मचारीकै रोहबरमा ८७ घरधुरी खरानी भएको प्रचार भयो ।

देशभरबाट राहत र सहयोग संकलन तथा घोषणाको बाढी नै आयो । गृह मन्त्रालयबाट आएको प्रतिव्यक्ति ४० हजार नगद र राहत वितरण गर्न तत्कालीन सहायक प्रमुख जिल्ला अधिकारी राजकुमार दुलाल नेतृत्वको टोली गाउँ पुगेपछि १२ घरका ३२ परिवार मात्र आगलागीपीडित भएको तथ्य सार्वजनिक भयो ।

हरेक वर्ष गृह मन्त्रालयले जिल्ला विपद् व्यवस्थापन समितिमार्फत जिल्लास्तरीय विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना निर्माण गरेर पठाउन निर्देशन दिन्छ । समितिले सरोकारवाला बोलाएर योजना बनाउँछ । स्रोतसाधनको आकलन पनि गर्छ । तर विपदका घटनामा योजनाको किताब पल्टाउने फुर्सद कसैलाई हुन्न । ‘पूर्वयोजना कहिल्यै कार्यान्वयन हुँदैनन्,’ कांग्रेस नेता दमनबहादुर शाहीले भने, ‘गतवर्ष विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा उल्लेख भएका विभिन्न २३ वटा अपेक्षित नतिजामध्ये आधा पनि पूरा हुन सकेनन् ।’

गतवर्ष विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा मानवीय सहायताको क्षेत्रमा संलग्न निकायको पहिचान गर्ने, विपदको पूर्वइतिहास संकलन हुने, विषयगत क्षेत्रका संस्थाको सूची तय गर्ने र सम्बन्धित निकायको भूमिका पहिचान गर्ने उल्लेख गरिएको थियो ।
योजनाको अन्तिम दस्ताबेज तयार भएपछि सबै सरोकारवाला निकायमा वितरण गर्ने भनिए पनि कार्यान्वयन भएन । कतिपय स्थानीय तहले थोरै बजेट विनियोजन गरे पनि आवश्यक बजेट र कार्यान्वयनको मापदण्ड नबनाएको पाइएको छ । पलाताबाहेकका स्थानीय तहले विपद् व्यवस्था ऐनअनुसारको गाउँ तथा नगरस्तरीय समिति गठन गरेका छैनन् ।

बनेको योजना कार्यान्वयन गर्न यस वर्ष पहल भएको जिल्ला विपद् व्यवस्थापन समितिका अध्यक्ष एवं निमित्त प्रमुख जिल्ला अधिकारी बोमबहादुर नेपालीले बताए । ‘ढिलो भए पनि कार्यान्वयन हुने योजना निर्माण गर्न स्थानीय तहबाट सूचना संकलन गरिरहेका छौं,’ उनले भने, ‘एक साताभित्रै मस्यौदा तयार गर्छौं ।’ स्थानीय तहमा जोखिमको स्पष्ट नक्सांकन र योजना नभएकाले जिल्लास्तरको प्रतिकार्य योजना बनाउन कठिन भएको उनले जनाए ।

पहिरोको जोखिम बढी
जिल्लामा सबैखाले विपदको अध्ययन गर्दा पहिरोको जोखिम उच्च छ । राम्नाकोटको खार्दु, नानीकोटको मय, फुकोटको पुच्छेगाउँ, कालिकाको समलागाउँ, सुकाटियाको हाउडी, माल्कोटको बाका, दाहाको मोल्फालगायत ठाउँ पहिरोको उच्च जोखिममा छन् ।
स्थानीय सरकारले निर्माण गरेका ग्रामीण सडकले पहिरो निम्त्याएको छ ।

स्थानीय तह गठनपछि गाउँटोलमा सडक पुर्‍याउन डोजरमार्फत खनिएका अधिकांश सडकले विपत्ति ल्याएका छन् । ‘पहिरो त पहिले पनि जान्थ्यो,’ सान्नीत्रिवेणी १ का नमराज सुवेदीले भने, ‘यस वर्ष डोजरले खनेका सडकको बेहाल छ ।’ जताततै पहिरो गएर पैदल हिँड्नसमेत मुस्किल रहेको उनले बताए । सान्नीत्रिवेणी गाउँपालिकाले रकु, मेहेलमुडी र मुम्रालाई कर्णाली करिडोरसँग जोड्न रेगिल लुसा, रेगिल रकु, सान्नीगाड मेहेलमुडीलगायत शाखा सडक खनेको अध्यक्ष डीबी शाहीले बताए ।

कालीकोटका ९ वटै स्थानीय तहले खनेका विभिन्न ४३ सडकमध्ये १७ वटामा ठाउँठाउँमा पहिरो गएर बेहाल छ । वर्षाले माटो गलाएकाले पहिरो गएको शुभकालिका गाउँपालिका उपाध्यक्ष पम्फाकुमारी शाहीको भनाइ छ । शुभकालिकाको सेरिघाटदेखि भर्ता जोड्न बनाइएको सडक साकामा भत्किएको छ । सडक भत्किँदा डोजर भीरमा अड्किएको छ ।

जिल्लाका शाखा सडकले कर्णाली राजमार्ग र कर्णाली करिडोर पनि बिगारेका छन् । गाउँ जोड्ने सडक केही ठाउँमा भत्किए पनि हालसम्म ठूलो भौतिक र मानवीय क्षति नभएको डीएसपी विनोद शर्माले बताए । अधिकांश ठाउँमा चट्टान भएकाले पहिरोले ठूलै क्षति नपुगेको डीएसपी शर्माको भनाइ छ ।

वातावरणीय स्वमूल्यांकनबिना डोजरबाट खनिएका सडकबाट बगाएको ढुंगामाटोले सुर्खेत–जुम्ला सडक र कर्णाली करिडोर खुलालु–लैफु–हुम्ला सडक बिगारेरको छ । बेलाबेलामा बाटो अवरुद्ध भइरहने रारा–कर्णाली यातायातका अध्यक्ष हस्त बमले बताए । स्थानीय शाखा सडकबाट बगेको ढुंगामाटो र पहिरोले कर्णाली राजमार्ग पानी पर्दा हिलाम्मे र घाम लाग्दा धुलाम्मे हुने गरेको उनको भनाइ छ ।

ग्रामीण सडककै कारण दैलेख, कालीकोट र जुम्लासम्मको कालोपत्रे भत्किएको चालकको गुनासो छ । ‘स्थानीय सरकारले सडक बिगारे,’ बसचालक विजय क्षेत्रीले गुनासो गरे ।

निर्णयमै सीमित
आठबीसकोट नगरपालिकामा चालु आर्थिक वर्षमा वर्षाकै कारण २ जनाको ज्यान गइसकेको छ । ३ घर पहिरोमा बगे भने भने दर्जन घर जोखिममा छन् । बाढी र पहिरोका कारण स्थानीय त्रस्त छन् । तर जिल्ला विपद् व्यवस्थापन समितिले गरेका निर्णय अझै कार्यान्वयन हुन सकेका छैनन् ।

समितिले विपद् आउन नदिन प्रयास गर्ने तर आइहाले तत्काल उद्धार तथा राहत दिने निर्णय गरेको थियो । उक्त निर्णय कार्यान्वयनमा समेत समिति अलमलमा छ । त्यस्तै उद्धार तथा राहतका सामग्री सम्भावित क्षेत्र नजिक राख्ने निर्णय कार्यान्वयन नहुँदा बाढीपहिरोको त्रास बढदै गएको हो । आठबीसकोट नगरपालिकाको ४ नम्वर वडामा प्रहरी चौकी छ ।

उक्त चौकीमा जिल्लाबाटै विपद् व्यवस्थापन समितिले उद्धार तथा राहतका सामग्री पठाउनुपर्ने निर्णय गरे पनि त्यसो हुन सकेन, जसका कारण बाढीपहिरोको क्षति बढेको हो ।

पहिरोसँगै खसेको ढुंगाले लागेर आठबीसकोट नगरपालिका ५ की १६ वर्षीया कौशिला बस्नेतको मृत्यु भयो । आठबीसकोट १३ की ४२ वर्षीया विर्मी नेपालीको पनि पहिरोमा परी ज्यान गयो । १७ गते घट्टको पाइप जोगाउने प्रयास गर्दागर्दै उनी पहिरोमा परेकी थिइन् । पहिरोमा पुरिएकाले उनको मृत्यु भएको समितिले जनाएको छ । तर खोजीमा बेवास्ता भइरहेको परिवारको गुनासो छ ।

जिल्लाका धेरै बस्ती बाढीपहिरोको जोखिममा छन् । ४ घरमा ठूलो क्षति भएको छ । ठूलीभेरी नदीले दुई घर बगाएको छ भने २ घर भत्किएका छन् । आठबीसकोट नगरपालिका ६ को मन्काबगरका ८ घर ठूलीभेरी नदीको उच्च जोखिममा छन् । सोही नगरपालिका १२ नम्बर वडाका विभिन्न बस्ती पनि पहिरोको जोखिममा छन् ।

१ घर पूर्णरूपमा भत्केको छ । १२ नम्बर वडाको गैरीबारा टोलका १२ घर उच्च जोखिममा छन् । मनकाबगरका ८ परिवारलाई पनि अन्यत्र सार्ने प्रयास भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी सुमित खडकाले बताए । सानीभेरी गाउँपालिका १ स्थित रजेला गाउँ पनि बाढीको उच्च जोखिममा रहेको उनको भनाइ छ । रजेलाका ३० घर परिवारले पहिरो तथा बाढीका कारण घर छाड्नुपर्ने अवस्था छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्

बुटवलमा जीवराज आश्रित संग्रहालय

सन्जु पौडेल

रूपन्देही — सिंढी उक्लेर दोस्रो तला पुग्नासाथ ढोकाबाट ठूलो तस्बिर देखिन्छ । तस्बिरमा जीवराज आश्रित मुस्कुराइरहेका छन् । कोठाभित्र पसेपछि देब्रेपट्टि स्वर्गीय आश्रितले लगाएका लुगा, पढेका पुस्तक, अन्तिम समय उनको गोजीबाट फेला परेको १ हजार ३ सय रुपैयाँ राखिएको छ ।

त्यससँगै उनको घडी र उनले सुन्ने रेडियो राखिएको छ । यी दृश्य बुटवलमा सञ्चालनमा ल्याइएको जीवराज आश्रित संग्रहालयभित्रका हुन् ।

०५० जेठ ३ मा चितवनको दासढुंगामा जिप दुर्घटनामा परी निधन भएका आश्रितको योगदानको कदर गर्दै ०६३ मा बुटवल उपमहानगरपालिका–७, दीपनगरमा जीवराज आश्रित प्रतिष्ठान स्थापना गरिएको थियो । ओझेलमा परेका आश्रितको विचार र देनलाई स्मरणयोग्य बनाउन अहिले संग्रहालय सञ्चालनमा ल्याएको पूर्वसांसद एवं प्रतिष्ठानका संस्थापक अध्यक्ष देवेन्द्र घिमिरेले बताए ।

‘आश्रितले जीवनकालमा प्रयोग गरेका सामग्रीको संग्रहले उनको योगदानको स्मरण ताजा राख्नेछ,’ उनले भने, ‘आश्रितलाई नचिनेका व्यक्तिले संग्रहालयमार्फत चिन्नेछन् ।’ आश्रितलाई चिनाउन र बुझाउनै संग्रहालय खोलिएको उनले बताए । विद्यार्थीकालका साथी र राजनीतिक सहकर्मी आश्रितको जीवनशैली सरल र सामाजिक रहेको स्मरण गर्दै उनले देश र जनताकै लागि केही गर्ने उद्देश्य आश्रितको रहेको बताए ।

संग्रहालयमा आश्रितले भूमिगत हुँदा लेखेका महत्त्वपूर्ण दस्ताबेज र पत्र, उनका तस्बिर, उनी बस्ने कुर्सी र अध्ययनका लागि प्रयोग गर्ने टेबल, उनको झोला, श्रव्यदृश्यमा उनको जीवनी हेर्न पाइने व्यवस्था गरिएको छ । संग्रहालयमा आश्रितसँग सम्बन्धित सामग्रीसँगै मानव विकासक्रम, पर्यटकीय स्थल, नेपाली समाजका विविध जातजातिका वेशभूषा, कला संस्कृति र परम्परासँग सम्बन्धित सामग्री, पर्यटकीय स्थलसमेत सजाएर राखिएको छ ।

संग्रहालयमा रहेको १० ब्यान्डको रेडियो परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले आश्रितलाई भूमिगतकालमा उपहार दिएका थिए । यस्तै संग्रहालयमा नेपालका ग्रामीण भेगमा प्रयोग हुने ढिकी, हलो, जुवा, टुकीलगायत दर्जनौं सामग्री सजाइएको प्रतिष्ठानकी महासचिव कल्पना थापाले बताइन् ।

संस्कृति मन्त्रालयबाट प्राप्त ८० लाख रुपैयाँ बजेटमध्येबाट ६० लाख रुपैयाँ खर्च गरेर संग्रहालय निर्माण गरिएको प्रतिष्ठानका अध्यक्ष उमाकान्त बस्यालले बताए । एकपटकमा ५० जनाले अवलोकन गर्न मिल्ने संग्रहालयमा अपांग, विद्यार्थी तथा ज्येष्ठ नागरिकका लागि २५ रुपैयाँ र सर्वसाधारणका लागि ५० रुपैयाँ तोकिएको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०९:०९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्