निगमको सञ्चालन घाटा ९ करोड

सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋण ४० अर्ब १३ करोड रूपैयाँ पुगेको छ ।
सुरज कुँवर

काठमाडौँ — सानाठूला गरी १४ वटा विमान भएको नेपाल वायुसेवा निगम (नेवानि) ले आर्थिक वर्ष ०७४/७५ मा ९ करोड ३३ लाख रुपैयाँ सञ्चालन घाटा बेहोरेको छ । 

निगमको सञ्चालन घाटा ९ करोड

आर्थिक वर्ष ०७४/७५ मा महालेखापरीक्षकको कार्यालयबाट प्रमाणित प्रतिवेदनअनुसार त्यस वर्ष मात्रै राष्ट्रिय ध्वजावाहक कम्पनी नेवानिको सञ्चालन घाटा ९ करोड ३३ लाख पुगेको हो । त्यसअघिको आर्थिक वर्ष ०७३/०७४ मा भने निगमले २४ करोड २६ लाख रुपैयाँ सञ्चालन नाफा गरेको थियो ।


आर्थिक वर्ष ०७५/७६ को लेखापरीक्षण हुन बाँकी छ । निगमले यो आवमा सञ्चालनसहित सञ्चित घाटा १ अर्ब ८२ करोड पुग्ने प्रक्षेपण गरेको छ । निगमले ०७५/०७६ सम्म सञ्चितसहित सबैखाले घाटा ५ अर्ब २१ करोड नाघ्ने जनाएको छ । निगमले ०७४/७५ मा यात्रु सेवाको व्यापार (टिकट) बाट मात्रै ४ अर्ब ७० करोड आम्दानी गरेको थियो, जुन त्यसअघिको आर्थिक वर्षको तुलनामा १४ करोड बढी थियो ।


यात्रु, कार्गो, एक्स्ट्रा ब्यागेज, चार्टर उडान, बिमा, इन्टरलाइन कमिसन, एयरक्राफ्ट ह्यान्डलिङलगायत हवाईजहाज सेवासँग सम्बन्धित सञ्चालनबाट मात्रै निगमले १० अर्ब ७८ करोड आम्दानी गरेको थियो । यो रकममा निगमले काठमाडौंमा २ दर्जनभन्दा बढी स्वदेशी/विदेशी एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ (भूमीस्थ सेवा व्यापार) सेवासहितको आम्दानी समेटिएको छ । ग्राउन्ड ह्यान्डलिङतर्फ निगमले ४ अर्ब ५ करोड आम्दानी गरेको थियो ।


ग्राउन्ड ह्यान्डलिङतर्फको आम्दानी घटाउने हो भने निगमको सञ्चालन घाटा मात्रै कम्तीमा ४ अर्ब १४ करोड पुग्छ । ‘ग्राउन्ड ह्यान्डलिङबाट गरेको आम्दानीले भरथेग गरेको छ, सरकारले निगमको एकाधिकार तोडेर सेवामा प्रतिस्पर्धा गराउने नीति लिए निगम बन्द हुन्छ,’ निगमका एक निर्देशकले भने । चारवटा जेट विमानमार्फत काठमाडौंबाट ८ वटा अन्तर्राष्ट्रिय गन्तव्यमा उडान गर्दै आएको निगमले ०७४ साउन १ देखि ०७५ असार ३२ सम्म अन्तर्राष्ट्रिय हवाई सेवातर्फ टिकटसहितको ६ अर्ब ३४ करोड रुपैयाँ आम्दानी गरेको थियो ।


आन्तरिक उडानका लागि ९ वटा विमान भएको निगमले घरेलु मैदानमा भने ३७ करोड ७५ लाख रुपैयाँबराबरको आम्दानी गरेको थियो । अन्तर्राष्ट्रिय उडानबाट भएको आम्दानीको दाँजोमा आन्तरिक उडानतर्फको आम्दानी ६ प्रतिशत मात्रै हो । आन्तरिकतर्फको आम्दानी घटदै गएको निगमको अर्थ विभागको भनाइ छ । २६ वटा सेक्टरमा उडान अनुमति लिएको निगमले सबै सेक्टरमा नियमित उडान गर्दैन । आन्तरिक उडानका लागि नौवटा जहाज भए पनि नियमित उडानमा ४ वटा हाराहारी मात्रै हुने गरेका छन् ।


निगमले एक वर्षमा पाइलटहरूको तलब, भत्ता, तालिम, अनुमतिपत्र नवीकरण, रात्रि उडान सञ्चालनलगायतमा ३ अर्ब ९८ करोड रुपैयाँ खर्चिएको छ । हाल निगमसँग आन्तरिक र अन्तर्राष्ट्रिय उडानका लागि ९२ जनाको हाराहारी पाइलट र १ सय ६८ हाराहारी क्याबिन क्रु छन् ।


इन्जिनियरिङतर्फ जहाज मर्मतसम्भार लगायतमा ९६ करोड ९६ लाख खर्च छ । यसमा इन्जिनियर तथा प्राविधिकको १७ करोड तबलबाहेक जहाज मर्मत तथा स्पेयर्स पार्ट्सलगायत खर्च मात्रै ७९ करोड ६५ लाख पुगेको छ ।


यो अघिल्लो आवको तुलनामा २८ करोड बढी हो । २४ अर्ब ऋण लगानीमा गत वर्ष मात्रै ल्याइएका दुई वाइडबडीको खर्च र आम्दानी यो हिसाबमा समेटिएको छैन । निगमले चालु आवसम्म सरकारसहित ५ वटा वित्तीय निकायलाई तिर्नुपर्ने ऋणको आकार ४० अर्ब १३ करोड रुपैयाँ पुगेको छ । यसको ०७५/०७६ को प्रक्षेपित सञ्चित घाटा ५ अर्ब २१ करोड नाघिसकेको छ ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?