कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सीमापारि गएका धेरै किशोरी फर्कंदैनन्

मधु शाही

बाँके — हातमा झोला बोकेर १७ वर्षीया किशोरी नेपालगन्जस्थित जमुनाहा नाका पार गर्न लागेकी थिइन् । एकसरो लुगामा पैदल लम्किरहेकी उनले ‘तरकारी किन्न पारि जान लागेको’ बताइन् । नाकामा तैनाथ सुरक्षाकर्मीले सोधेपछि उनले भनिन्, ‘तरकारी किनेर फर्किहाल्छु ।’ 

उनीजस्ता थुप्रै किशोरी जिल्ला र आसपासबाट दैनिक सीमापारि सामान खरिद गर्न जान्छन् । परम्परादेखि सीमावर्ती भारतीय रुपैडिया बजारमा दैनिक उपभोग्य वस्तु र लत्ताकपडा खरिद गरिन्छ । यसरी सीमा काटेका कतिपय चेली कहिल्यै फर्किंदैनन् । १७ वर्षीया ती किशोरी तरकारी किन्ने बहानामा सीमा काट्न खोजिरहेकी रहिछन् ।


तर, उनी जान पाइनन् । माइती नेपालका कर्मचारीलाई शंका लागेपछि सोधपुछ गरे । त्यस क्रममा सीमापारि मानव तस्करी गर्ने व्यक्तिले उनलाई कुरिरहेको खुल्यो । घरमा जानकारी नदिई किशोरी तरकारी किन्ने बहानामा सीमा पारि जान लागेको पत्ता लाग्यो । नेपालगन्जकी १७ वर्षीया अर्की किशोरी घुम्ने भन्दै साथीसँगै सीमामा आइन् । उनीसँगै १८ वर्षीया साथीसमेत थिइन् । सोधपुछका क्रममा उनीहरू परिवारलाई ढाँटेर रुपैडिया जान लागेका थिए । माइती नेपालले त्यही सीमाबाट उनीहरूलाई फिर्ता गर्‍यो ।


अहिले नेपालगन्जबाट २ घण्टा दूरीमा रहेको बहराइचमा मेला हेर्न जाने किशोरीको लर्को छ । ती सबै स्थानीय हुन्छन् । बहराइच मेला भर्ने योजना बनाएर दुई दिनअघि १७ वर्षीया दुई किशोरी जमुनाहा नाकामा फेला परे । सोधपुछका क्रममा सीमापारि बसेका मानव तस्करले ‘सेटिङ’ मिलाएको खुल्यो ।


सामान किन्न जाने बहानामा महिला र किशोरी दैनिक सीमामा आउने/जाने गर्छन् । यसरी जानेको उद्देश्य छुट्याउन र रोकथाम गर्न चुनौती भइरहेको माइती नेपालका नेपालगन्ज संयोजक केशव कोइरालाले बताए । ‘यसरी जाने धेरै स्थानीय हुन्,’ उनले भने, ‘जान नदिउँ किनमेल गर्ने मानव अधिकार हनन होला भन्ने डर, दिउँ फर्किने होइनन् कि भन्ने चिन्ता ।’ लैजानका लागि तस्करले किशोरीलाई विभिन्न बहानामा सीमा पार गर्न लागाउँछन् । आफू भारतीय भूमिमा कुरेर बस्छन् ।


सिमानामा जिल्लाबाहिरबाट आएका भन्दा स्थानीय किशोरीलाई नियन्त्रण गर्न चुनौती रहेको उनले सुनाए । यहाँका धेरै जीवनयापनका लागि सीमापारि निर्भर छन् । त्यस्तो दैनिकीको फाइदा मानव तस्करले उठाइरहेका छन् । सन् २०१८ मा ९ सय २० जनाले जोखिमपूर्ण यात्रा गरेको माइती नेपालको तथ्यांक छ । त्यसमा सीमा जोडिएको नेपालगन्ज उपमहानगरपालिकाका मात्र २७ जना रहेका छन् । बैजनाथका ४४, खजुराका ३०, राप्तीसोनारीका ३१, डुडुवाका ३ र कोहलपुर नगरपालिकाका ७६ जना जोखिमपूर्ण यात्रा गरिरहेको अवस्थामा फेला परेका थिए ।


शक्ति समूह नेपालगन्ज ट्रान्जिट होमकी क्षेत्रीय अधिकृत निर्मला थापाका अनुसार पछिल्लो समय दलालले मान्छे कन्भिन्स गर्ने तरिका फेरिरहेका छन् । यसै साता दाङमा हर्बलको मार्केटिङ गर्ने जागिर दिन्छु भन्दै एक युवकले २० किशोरीलाई नेपालगन्ज नाका हुँदै भारत लगेको प्रहरीको अनुसन्धान ब्युरोबाट उनले खबर पाएको बताइन् ।

प्रकाशित : श्रावण २१, २०७६ ०७:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?