बागलुङको तुरतुरे ताल फुटेर सडक बग्यो

प्रकाश बराल

बागलुङ — गतवर्ष पहिरोले बडिगाड खोला थुनिएर बनेकाे तुरतुरे ताल आइतबार राति फुटेको छ । ताल फुटेकाे पानीले मध्यपहाडी लोकमार्ग समेत बगाएको छ । 

बडिगाड गाउँपालिकाको भीमगिठेमा सडक बगाएपछि पश्चिम बागलुङको ढोरपाटन नगरपालिका, निसीखोला र तमानखोला गाउँपालिकाको सम्पर्क टुटेको छ। यो सडक भएर हरेक दिन दर्जनौं बस, ट्रक, जिप र अन्य सवारी चल्थे।

पैदल यात्री समेत हिड्न नमिल्ने गरी पहिरो खसेको प्रहरी नायब उपरीक्षक झबिन्द्रप्रसाद भट्टराईले बताए। ताल फुटे पनि पानी भने एकैपटक नखोलिएकोले तल्लो तटीय क्षेत्रमा ठूलो क्षति भएन। एक किलोमिटर लामो ताल फुटेपछि पानीको बहावले सडक बगाएको हो।

यो सडक नभएपछि पैदल यात्री समेत दर्लिङको मालारानी भन्ने स्थानबाट कम्तिमा ३ घण्टा घुमाउरो बाटो हिड्न बाध्य भएका छन्। सोमबार बिहानै देखि सयौं मानिस घुमाउरो बाटो प्रयोग गरिरहेका छन्। उक्त बाटो पनि उत्तिकै जोखिमको छ। सडक अबरोध भएपछि बिरामी र बुढाबुढीलाई समस्या परेको ढोरपाटन नगरपालिकाका प्रमुख देवकुमार नेपालीले बताए।

प्रकाशित : श्रावण २०, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्

आज नाग पञ्चमी

कान्तिपुर संवाददाता

काठमाडौँ — घरको मूलढोकामा नागको चित्र टाँसेर पूजा गर्दै सोमबार नाग पञ्चमी देशभर मनाइँदै छ । यस दिन विशेषगरी नव नाग अनन्त, वासुकी, शेष, पद्मनाभ, कम्बल, शंखपाल, धृतराष्ट्र, तक्षक र कालीय नागको पूजा गरिन्छ ।

प्रत्येक वर्ष श्रावण शुक्ल पञ्चमीका दिन बिहानै घर दैलो सफा गरी शुद्ध गरेर मूलढोकामाथि विभिन्न रंग प्रयोग गरी बनाइएको नागको चित्र गोबरले टाँसेर गाईको दूध र दुवो चढाई पूजा अर्चना गर्ने परम्परा छ ।

रोपाइँका लागि पानी पार्न नागहरूले सहयोग गरेको र अब रोपाइँ सकिएकाले उनीहरूप्रति कृतज्ञता ज्ञापन गर्न त्यसरी पूजा अर्चना गरेको भन्ने लोककथन छ ।

यस दिन काली नागको बासस्थान रहेको विश्वास गरिएको पाटनको धापाखेल, कर्कोटक नागको बासस्थान टौदह र नक्सालको नाग पोखरीमा मेला लाग्ने गर्दछ ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्