हात्तीका हूलको सधैं त्रास

तारबारले रोकिएनन् वन्यजन्तु, राहत वितरणले दिएन दीर्घकालीन समाधान
ठाकुरसिंह थारू

बर्दिया — रोपाइँ सकिएको भर्खरै हो । रोपोले गाँज हाल्नै बाँकी छ । बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा जंगली हात्तीको आतंक सुरु भइसक्यो । निकुञ्ज आसपासका गाउँमा यतिबेला त्रास छ । पहिले पहिले निकुञ्जसित जोडिएका गाउँमा धेरै क्षति हुन्थ्यो । अहिले तीभन्दा अलि परका बासिन्दा मर्कामा परिरहेका छन् ।

हात्तीका हूलको सधैं त्रास

राजापुर नगरपालिका–३ खुटेना गाउँमा केही दिनअघि हात्तीले दिउँसै तीन घर भत्कायो । गत शनिबार राति गेरुवा गाउँपालिकाका आधा दर्जन घरमा क्षति पुर्‍याएको थियो । खुटेना गाउँका घरमा पहिले पहिले हात्तीका हूल पस्दैनथ्यो । क्षति पुर्‍याएको योपल्ट पहिलो घटना भएको स्थानीयले बताए । कर्णाली र गेरुवा नदीको भँगालोको बीचमा बस्ती रहेकाले हात्ती सजिलै गाउँ पस्ने सम्भावना कमै हुन्थ्यो । यसपटक हात्ती पस्यो । स्थानीय चकित परे, डराए ।


‘नदीमा कम पानी भएकाले हात्ती गाउँ पसेको हुन सक्छ । तीन घर भत्कायो,’ राजापुर–३ का वडाध्यक्ष पुनाराम थारूले भने, ‘हात्तीले दुःख दिन थालिसक्यो ।’ जिल्लाका राजापुर, ठाकुरबाबा, बारबर्दिया नगर र गेरुवा गाउँपालिकामा वन्यजन्तुले बर्सेनि सताउने गरेका छन् । हात्तीले धनजन नोक्सान गर्दै आएको छ ।


हात्ती र मान्छेबीच यहाँ वर्षौंदेखि द्वन्द्व चल्दै आएको छ । निकुञ्ज स्थापना भएयता निरन्तर यस्तो समस्या छ । यसले संरक्षणका काममा प्रतिकूल प्रभाव पारिरहेको छ । हात्तीका कारण बालीनाली नोक्सान धेरै हुन्छ । हात्तीको आक्रमणबाट गाउँलेको ज्यानै पनि गएको घटना छन् । निकुञ्ज प्रशासनले गत वर्षमात्रै वन्यजन्तु पीडितलाई ५० लाख रुपैयाँभन्दा बढी क्षतिपूर्ति दिएको छ ।


‘हात्तीले घर, बालीनालीमा क्षति पुर्‍याएबापत ५० लाख रुपैयाँ बाँडेका छौं । पोहोर मानवीय क्षति भएन, केही गाउँले घाइते भए,’ बर्दिया निकुञ्जका प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले भने, ‘यो आजको समस्या होइन । वर्षौंदेखि छ ।’ प्रयास गरिए पनि जंगली हात्तीले गर्ने उपद्रोको समस्या स्थायी रूपमा समाधान हुन सकेको छैन ।


निकुञ्ज प्रशासनले हात्तीलाई वन क्षेत्रबाट बाहिर निस्किन नदिन पक्की पिलर निर्माण गरेर त्यसमा विद्युतीय तार जडान गरेको छ । सोलार तारबार र मेस जालीलगायतका विकल्प रोजियो । त्यसले हात्ती थामिएका छैनन् । गत वर्ष तीन किलोमिटर तारबार गरिएको थियो । अहिलेसम्म १ सय २५ किलोमिटर तारबार भइसकेको छ ।


हात्तीबाट पीडित राजापुर–३ खुटेनाका कृष्णराम थारूले बस्नै नमिल्ने गरी घरमा क्षति भएको बताए । ‘हामी खेतमा रोपाइँ गर्न गएका बेला हात्तीले घर भत्काइदियो,’ उनले भने, ‘हात्तीका हूल गाउँमा पसेपछि भागाभाग भएको थियो ।’ धेरै प्रयासपछि गाउँले मिलेर हूललाई धपाएको उनले बताए ।


निकुञ्जका अनुसार वन क्षेत्रमा रहेका हात्तीका हूल अन्नमा पल्केपछि गाउँ पसेर उपद्रो गर्न थालेका हुन् । हूल गाउँमा पसेपछि धपाउनका लागि गाउँले थाल ठटाउँछन् । रातभर जाग्राम बस्छन् । बबई नगरपालिकाको बलाती, कर्मला, डुर्मेनी, बर्गदा, ठाकुरद्वाराको शिवपुर हात्तीसार र सूर्यपटुवाको कैलासीलगायत निकुञ्ज आसपासका विभिन्न गाउँमा हात्ती पसेर बर्सेनि खेतका खाद्यान्न बालीमा क्षति पुर्‍याउँदै आएको छ ।


ठाकुरबाबा नगरको शिवपुरमा गत शनिबार जंगली हात्ती पसे । स्थानीयले होहल्ला गरेर लखेटे । हालै निर्माण गरिएको पक्की पिलर पार गरेर हूल बस्तीमा पसेको थियो । पिलर नाघेर हात्ती गाउँ पसेको देखेर निकुञ्ज कर्मचारी छक्क परे । पक्की पर्खाल उठाएर त्यसमा खम्बा बनाउने विधि गत वर्षमात्र अपनाइएको हो । त्यसअघि विद्युतीय तार र सोलार प्रविधिबाट हात्ती नियन्त्रण गर्ने प्रयास गरिएको थियो ।


‘एउटा प्रविधि ल्यायो, अर्को उपाय हात्तीले खोजिहाल्दो रहेछ । हामीलाई पछि पार्छ,’ प्रमुख संरक्षण अधिकृत बरालले भने, ‘५/६ महिनामै हात्तीले विकल्प खोजेको देखिन्छ । शनिबार आरसीसी प्रविधिलाई फेल गर्‍यो ।’ हात्तीलाई रोक्न निकुञ्ज प्रशासनले अनेक विधि प्रयोग गर्दै आएको हो ।हूललाई वनभित्रै रोक्न निकुञ्जले छुँदा हल्का करेन्ट लाग्ने विद्युतीय तार जडान गर्‍यो । फलामको पोल राख्यो । सिमेन्टका पोलमा तारबार गरिए । तर हात्तीका अगाडि केही चलेन ।


विद्युत् तारमात्रै होइन, नियन्त्रणका लागि प्रयोग गरिएको प्रविधिका विरुद्ध मान्छेजस्तै हात्तीले पनि विकल्प प्रयोग गरिरहेको निकुञ्जका कर्मचारीले बताए । निकुञ्जको लम्कौली फाँटमा हालै गरिएको सर्वेक्षणमा जंगली हात्तीले झटका दिने विद्युतीय तारमाथि सुकेको ठूलो मुढा तेर्स्याएर चुँडालेको पाइयो ।


विद्युतीय तार घेरेर त्यसभित्र हात्तीलाई मन पर्ने केराको बोट, धान र भेली (गुँड) राखिएको थियो । निगरानी गर्न सीसीटीभी जडान थियो । ‘हात्ती पनि मान्छेजस्तै संवेदनशील हुन्छ । यसले प्रतिकूलताको सामना गर्न विभिन्न विकल्प खोज्न सक्छ,’ हात्ती नियन्त्रण अनुसन्धानमा संलग्न राष्ट्रिय प्रकृति संरक्षण कोषका सहायक संरक्षण अधिकृत लक्ष्मीराम जोशीले भने, ‘विद्युतीय तारलाई पनि सजिलै भत्काउन सक्ने घटना देखिएका छन् ।’


कोषको कार्यक्रमले सन् २००९ देखि ठाकुरद्वारा, शिवपुर, पाताभार, हात्तीसारलगायत क्षेत्रमा अनुसन्धान गर्दै आएको छ । सुरुमा मध्यवर्ती क्षेत्रमा जंगली हात्ती जान नदिन काठको पोलमा विद्युतीय तार जडान गरिएको थियो । तर काठको पोलमा करेन्ट प्रवाह नहुने भएका कारण हात्तीले सजिलै ढालेर क्षति पुर्‍याए ।


एकपल्ट करेन्ट लागिसकेको हात्तीले त्यसको विकल्प खोज्न सक्ने अनुसन्धानकर्मी बताउँछन् । पछिल्लो समय कंक्रिटको पर्खाल निर्माण गरी हात्ती नियन्त्रणको प्रयास भइरहेको जोशीले बताए । तर शनिबारको घटनाले कंक्रिटको पर्खाललाई पनि चुनौती दिएको छ ।


घरछेउमै निकुञ्ज छ । मध्यवर्ती जंगल क्षेत्रमा दर्जनौं बढी गाउँ पर्छन् । निकुञ्जबाट वन्यजन्तु गाउँ पस्छन् । स्थानीयको बालीनालीमा क्षति पुर्‍याउँछन् । घरपालुवा चौपाया मार्छन् । तर निकुञ्जका वन्यजन्तु मार्न नपाइने भएकाले स्थानीयले सकेसम्म धपाउँछन् । नभए तयार भएको बालीमा क्षति भइरहेको टुलुटुलु हेर्न बाध्य छन् ।


निकुञ्ज स्थापना भएयता आसपासका मध्यवर्ती क्षेत्रका सर्वसाधारण र वन्यजन्तुबीच द्वन्द्व छ । द्वन्द्वका कारण वन्यजन्तुको संरक्षणमा समस्या देखिएपछि विकल्पमा डल्लाको होमस्टे रोजाइमा परेको छ । उनीहरूले खेतीपाती र पशुचौपाया पाल्नुको साटो होमस्टेलाई आय आर्जनको माध्यम बनाउन जुटेका छन् । खेती लगाइन्छ तर तयार भएपछि बाँदर र बँदेल आएर नष्ट गरिदिन्छन् । पशुचौपाया पनि त्यस्तै हो ।


‘होमस्टे सञ्चालनपछि खेतीपाती गर्न र पशुचौपाया पाल्न पर्दैन तर सबै ठाउँमा भने होमस्टे विकल्प नहुन सक्छ,’ स्थानीय पुष्प चौधरीले भने । त्यसका लागि वन्यजन्तुले क्षति नपुर्‍याउने बालीनाली रोज्न निकुञ्ज प्रशासनले आग्रह गरे पनि सजिला कार्यक्रम गाउँलेलाई दिइनुपर्ने उनको भनाइ छ । निकुञ्जमा बाघ, चितुवा, हात्ती, बँदेल, बाघ, हुँडार र स्याललगायतका वन्यजन्तुको संख्या बढेको छ । वन्यजन्तुको संख्या बढेसँगै नजिकका बस्तीलाई गाह्रो परेको छ । वन्यजन्तुलाई रोक्न गरिएका तारबार प्रभावकारी नहुनुले गाउँलेको गाँस खोसिएको छ ।


स्थानीयमा वन्यजन्तु जोगाउनुपर्छ भन्ने चेतना पहिलेभन्दा धेरै छ । निकुञ्ज स्थापनाअघि सर्वसाधारणले खेतबारीमा आउने वन्यजन्तु मार्थे । तर निकुञ्ज सुरक्षाका लागि नेपाली सेना परिचालन गरिएको छ । निकुञ्ज प्रशासनले अपनत्व ग्रहण गराउन सर्वसाधारणसँग मिलेर काम गरिरहेको छ । निकुञ्जले वन्यजन्तुबाट पीडित व्यक्तिलाई राहत दिने गरेको छ । तर राहत वितरणले मात्रै द्वन्द्वको दीर्घकालीन समाधान दिएको छैन ।

प्रकाशित : श्रावण २०, २०७६ ०९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?