कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

अझै बनेन टिकुलिया पुल

पप्पु कन्स्ट्रक्सनले अलपत्र छाडेको पुलको पिलरमा ठोकिएर गत वर्ष डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गयो । अहिले पनि स्थानीयवासी डुंगाकै भरमा वारपार गर्छन् ।
शिव पुरी

रौतहट — डुंगा चलेकै छ । तिनमा यात्रु आउजाउ गरिरहेका छन् । त्यही ठाउँ हो जहाँ गत वर्ष भदौमा डुंगा दुर्घटना हुँदा ५ जनाको ज्यान गएको थियो । अहिले पनि यहाँ खोला तर्ने साधन डुंगा हो । 

अझै बनेन टिकुलिया पुल

पुल बेलैमा बनेन । ठेकेदार कम्पनी पप्पु कन्ट्रक्सनले काम छाडेकोले अलपत्र रहेको पिलरमा ठोक्किएर डुंगा दुर्घटना भएको थियो । घटनापछि पनि उक्त कम्पनीले काम अघि बढाएको छैन । हाल पप्पु कन्स्ट्रक्सन कारबाहीमा परेको छ । गौर–४, टिकुलिया घाटमा पुल नबन्दा स्थानीय डुंगामै वारपार गर्न बाध्य छन् । यसपालि पनि डरत्रासमै डुंगा चलाइएको छ । डर भए पनि वारिपारि गर्न स्थानीयका लागि डुंगा चढ्नुको विकल्प छैन ।


समयमा पुल नबन्दा बन्जरहा, औरैया, मठिया, जोकहा, वैरिया, अकोलवा र रामपुर खापलगायतका दर्जनौं गाउँका बासिन्दालाई सदरमुकाम गौर आउजाउ जोखिमपूर्ण छ । बाढी र डुबान क्षेत्रमा संघीय राजधानीबाट शिविर सञ्चालन गर्न आएका डा. गोविन्द केसीले पुल निर्माणमा भएको ढिलासुस्तीले पारिका एक दर्जन बढी गाउँ प्रभावित भएको बताए । ‘सरकारले यस्तो काममा चासो देखाउनुपर्छ,’ उनले भने, ‘निर्माणमा ढिलासुस्ती गर्ने ठेकेदारलाई सरकारले किन कारबाही गर्दैन ?’


अलपत्र छाडेको पुलको कामले पछिल्लो समय गति लिन सकेन । ठेकेदारको काम देखेर स्थानीय आक्रोशित छन् । डुंगा दुर्घटनाको दुई महिनापछि साइटमा आएका निर्माण कम्पनीका प्रतिनिधिले ‘काम चाँडै सिध्याउँछौं’ भनेर गएका थिए । कामको गति बढेको छैन । गत भदौ ९ मा भएको डुंगा दुर्घटनामा ५ जनाको मृत्यु भएको थियो ।


घटनापछि निर्माणको काम थाल्न चौतर्फी दबाब खेपेको कम्पनीले चाँडै सक्ने मौखिक प्रतिबद्धता जनायो । ‘अहिले उस्तै ताल देखाएको छ । कामले गति लिएन,’ वडाध्यक्ष भुवनेश्वर शाहीले भने, ‘स्थानीयको पीडा ठेकेदारलाई पनि थाहा छ । सरकारले ठेकेदारलाई किन कारबाही गर्दैन ? समयमा काम नसकेर ठेकेदार रमिता हेरिरहेको छ ।’ चार वर्षमा ६५ प्रतिशत काम सकिएको छ ।


समयमा पुल बन्न नसकेपछि यस क्षेत्रको दैनिकी अस्तव्यस्त छ । तत्कालीन सडक डिभिजन कार्यालय हेटौंडाले २० करोड ७२ लाखको लागतमा गौर–औरैया जोड्ने लालबकैया नदीमा २२५ मिटर लम्बाइ र ७.२ मिटर चौडाइको पक्की पुल बनाउन बोलपत्र आह्वान गरेको थियो ।


लागत इस्टिमेटभन्दा २८ प्रतिशत तल १४ करोड ९३ लाखमा टेन्डर सकार गरेर तीन वर्षभित्र निर्माण पूरा गर्ने पप्पु कन्ट्रक्सनका तत्कालीन सञ्चालक हरिनारायण रौनियारले २०७१ असार २९ मा सम्झौता गरेका थिए । सम्झौताअनुसार २०७४ माघ २९ मा निर्माणको काम सम्पन्न हुनुपर्थ्यो । सडक डिभिजन चन्द्रनिगाहपुरका प्रमुख दरोगा प्रसादले ठेकेदारले यो वर्ष पनि ढिला गरी काम सुरु गरेकाले समस्या भएको बताए ।


केही समयअघिसम्म त्यहाँ बाँसको अस्थायी पुल बनाइएको थियो । त्यहीँबाट स्थानीय ओहोरदोहोर गर्थे । बाँसको फड्के बाढीले बगाइसकेको छ । पुल निर्माण ठेक्काको सम्झौता ०७४ असार २५ मा सकिएको छ । अहिलेसम्म ठेक्काको म्याद थपिएको छैन । यही बीचमा ठेकेदारले निर्माणमा लापरबाही गरेपछि सडक डिभिजनले २०७४ माघ २९ मा सम्झौताअनुसार काम किन नसकेको भन्दै पत्राचार गरेको थियो । पत्रको ठेकेदार रौनियारले बेवास्ता गरे ।


चैत ६ मा अर्को पत्र पठाएर काम चित्तबुझ्दो नभए सार्वजनिक खरिद ऐनअनुसार कारबाही हुने चेतावनी दिइयो । डिभिजनले ७ दिनभित्र कामको प्रगति विवरणसहित उपस्थित हुन भन्दै चैत २५ मा थप पत्र पठायो । डिभिजन प्रमुख दरोगाले म्याद सकिएको २ वर्ष पुगे पनि थप नभएको बताए । ‘म्याद थप्न फाइल माथि पठाइसकेका छौं,’ उनले भने, ‘अब चाँडै म्याद थप भएर आउँछ होला ।’

कन्स्ट्रक्सनका साइट इन्जिनियर सुरेन्द्र यादवले वर्षा सकिएलगत्तै काम थाल्ने बताए ।

प्रकाशित : श्रावण २०, २०७६ ०८:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?