जब आकाशमै यात्रु बेहोस भए

सुरज कुँवर

काठमाडौँ — बुद्ध एयरको एटीआर विमान नेपालगन्जबाट काठमाडौंतिर उडिरहेको थियो । नारायणीदेखि उत्तरपश्चिमको पहाडमाथि आकाशमा पुग्दा विमान १५ हजार ५ सय फिट उचाइमा थियो । जहाजभित्र एयरहोस्टेस कृति झा र सुरक्षा अधिकारी यात्रुलाई पानी बाँड्दै थिए ।

जब आकाशमै यात्रु बेहोस भए

जहाजको मध्यभागमा एक यात्रु एक्कासि बेहोस भएपछि खैलाबैला भयो । १३ नम्बरको सिटमा बसिरहेका ती यात्रु थिए, सुर्खेतका ६० वर्षीय तप्तबहादुर बिष्ट जो पूर्वराज्यमन्त्री हुन् । छेउछाउका यात्रुले चिच्याएपछि एयरहोस्टेस कृति त्यहाँ पुगिन् । मुखबाट बान्ता निस्किएको अवस्थामा बिष्ट सिटमै बेहोस थिए । कृतिले ककपिटमा क्याप्टेन इर्साद उद्धिनलाई इन्टरकमबाट खबर गरिन् । त्यस बेला जहाज कोपाइलट सुमित शुक्लाले उडाइरहेका थिए ।


क्याबिनक्रुले यात्रुको अवस्था असामान्य रहेको रिपोर्टिङ गरेपछि जहाज उडानको कमान्ड क्याप्टेन उद्धिनले सम्हाले । १० वर्षदेखि बुद्धको एटीआर उडाइरहेका उनले त्रिभुवन विमानस्थलस्थित टावरलाई खबर गरे । आफ्नो जहाज आपतकालीन अवस्थामा रहेकाले प्राथमिकता दिन आग्रह गरे । उनले ‘मेडिकल इमर्जेन्सी’ पनि मागे । त्यसपछि एटीसीले जहाजलाई थप निगरानीमा राख्यो ।


क्याप्टेनले जहाजभित्रको अवस्थाबारे पनि इन्टरकमबाट रिपोर्टिङ लिइरहेका थिए । कृति र सुरक्षाले जहाजभित्र रहेका यात्रुमध्ये कोही डाक्टर वा मेडिकल पर्सन भए/नभएको सोधीखोजी गरे । कोही पनि रहेनछन् । बेहोस बिष्टलाई कार्डियो पल्मोनरी रिससिटेसन–सीपीआर (छाती थिचेर सास फर्काउने कार्य) गर्नुपर्ने भयो । धन्न, जहाजमा सीपीआर विधिबारे जानकार एक यात्रु भेटिए । उनी थिए अभीनित कनोडिया । बिष्टलाई सिटबाट झारेर ग्यालरीमा उतानो पारेर सुताइयो । कनोडियाले बिष्टको छातीमा पम्प दिए ।


उता क्याप्टेनले जहाज नेपालगन्ज फर्काउने निर्णय लिए र काठमाडौं टावरमा खबर गरे । उत्तरपश्चिममा उडिरहेको जहाज बादल छल्दै दक्षिण रुटतर्फ लाग्यो । धन्न, त्यति बेला उक्त रुटमा ट्राफिक थिएन । बुद्धकै अर्को जहाज भैरहवाबाट काठमाडौंका लागि उडेको थियो जुन धेरै अघि बढिसकेको थियो । क्याप्टेनले नजिकको विमानस्थलको दूरी हिसाब गरे, नेपालगन्ज ६० माइल, भैरहवा ४५ माइल र काठमाडौं १ सय ३० माइलको दूरीमा देखिए ।


५ मिनेट हाराहारी छाती पम्पिङ गरिएपछि बिष्ट होसमा आए । क्याप्टेनले जहाजलाई काठमाडौं नल्याई फर्काउने निर्णय लिइसकेका थिए । भैरहवा नजिक पर्ने भएकाले उनले एयरहोस्टेसमार्फत बिरामीका भाइ बलबहादुरलाई नेपालगन्ज वा भैरहवा कता फर्काउने भनी सल्लाह मागे । बिरामीका भाइ बलबहादुरले भैरहवामा अवतरण गराउँदा पनि हुने बताएपछि क्याप्टेन उद्धिनले भैरहवा टावरमा रहेका एयर ट्राफिकलाई डाक्टरसहितको एम्बुलेन्स तयार पार्न खबर गरे ।


क्याप्टेन उद्धिनले काठमाडौं टावरलाई पनि आफूले भैरहवामा अवतरण गर्ने निधो गरेको खबर टिपाए । उनले घटना भएको १५ मिटेनमा जहाज भैरहवा विमानस्थलमा कुशलतापूर्वक अवतरण गराए । त्यहाँ थियो विमानस्थलको एम्बुलेन्स । बुद्ध एयरको भैरहवा स्टेसन म्यानेजर दर्शन घिमिरेले बिरामीलाई तत्काल युनिभर्सल मेडिकल कलेज पुर्‍याए ।


बिरामीलाई एम्बुलेन्सले अस्पतालतर्फ लगेपछि क्याप्टेन उद्धिन नेपालगन्जबाट ल्याएका बाँकी ६९ यात्रु बाकेर काठमाडौं आए । उता युनिभर्सलमा भर्ना भएका बिरामी यात्रुलाई डाक्टरले थप उपचारका लागि काठमाडौं रिफर गर्‍यो । बेलुकी ८ बजे बलबहादुर आफ्ना दाजुलाई एम्बुलेन्समा राखेर काठमाडौंतर्फ लागे ।

प्रकाशित : श्रावण २०, २०७६ ०७:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?