२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३१७

स्थानीय तहमा चन्द समूहको त्रास, धौलागिरी बन्दको प्रभाव कालीकोटमा

तुलाराम पाण्डे

कालीकोट — नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका मध्यपश्चिम कमाण्ड इन्चार्ज वीरजंगले साउन १ गते प्रेस विज्ञप्ति जारी गर्दै ७ गतेदेखि सेतो नम्बर प्लेटका सरकारी गाडी चल्न नदिने घोषणा गरे । चन्द समूहको संरचनाअनुसार मध्यपश्चिम कमाण्ड साविक धौलागिरीमा अञ्चलमा भए पनि कालीकोटका स्थानीय तहका जनप्रतिनिधिले आफ्नो क्षेत्र ठानेर गाडी चलाएनन् । 

स्थानीय तहमा चन्द समूहको त्रास, धौलागिरी बन्दको प्रभाव कालीकोटमा

तिलागुफा नगर उपप्रमुख दन्ता नेपाली साउन २५ गते नगर कार्यालय गाल्जेबाट कृषि शाखाको कामका लागि निजी बोलेरोमा फोइमहादेव पुगिन् । नगरको गाडी चलाउँदा जोखिम हुने भन्दै उनी सदरमुकामस्थित एक होटेलको बोलेरो झिकाएर फोइमहादेव पुगेकी हुन् । ‘नगरको गाडी नचलाउनु भन्ने सुनेर बोलेरो खोजियो,’ उपप्रमुख नेपालीले भनिन् ‘चालक पनि नभएकाले निजी बोलेरो भाडामा लिइएको हो ।’

नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर बिष्ट र उपाध्यक्ष मनशोभा बुढा सुर्खेतबाट निजी गाडीमै जिल्ला फर्किए । उनीहरुले साउन पहिलो साता काठमाडौ‌ं लगेको गाउँपालिकाको सरकारी गाडी सुर्खेतमै छोड्नुपर्‍यो । ‘सरकारी गाडी चलाउन दिएका छैनन् भन्ने सुनियो, त्यसैले निजी भाडाको गाडीमा आयौं,’ अध्यक्ष बिष्टले भने, ‘पालिकाको गाडी तोडफोड हुन सक्छ भनेर नल्याएका हौं ।’ असार १० गतेको नेपाल बन्दको अवज्ञा गरेर गाउँसभा संचालन गरेको भन्दै नरहरिनाथ गाउँपालिका कार्यालयमा चन्द समूहले आगजनी गरेको थियो ।

साउन दोस्रो साता जिल्ला स्वास्थ्य कार्यालयले समेत सरकारी गाडी चलाएन् । जिल्ला अस्पताल सुरक्षामा गएका सुरक्षाकर्मीले नै गाडी सुरक्षित राख्नुहोस् भनेपछि गाडी थन्काएको निमित्त प्रमुख कटक महतले बताए । खाडाचक्र नगरपलिकाले पनि सरकारी गाडी नचलाएको उपप्रमुख विजया विष्टले बताइन् । जिल्लामा खाडाचक्र, रास्कोट, नरहरिनाथ, तिलागुफालगायत स्थानीय तहका गाडी र मोटरसाइकल छन् ।

चन्द समूहले असार १९ गते जिल्लाका स्थानीय तहमा तालाबन्दी गरेको थियो । चन्द समूहले लगाएका ताला प्रहरीले असार २० गते नै फोडेको थियो । चन्द समूहले लगाएका सबै ठाउँका ताला प्रहरीले काटिसकेको जिल्ला प्रहरी प्रमुख डिएसपी विनोद शर्माले बताए । उनले जनप्रतिनिधिले चन्द समूहलाई चन्दा दिएर मिलेमतो गरेको आरोप लगाए ।

गाडी बन्द गर्ने आफूहरुको योजना नरहेको चन्द समूहका जिल्ला सेक्रेटरी मनिलाल ऐडीले दाबी गरे । ‘सरकारी गाडी बन्द गर्ने धौलागिरीतिर पर्ने मध्यपश्चिम कमाण्डको योजना हो,’ उनले भने, ‘यहाँका सरकारी कार्यालयले आफैं डराएर बन्द गरेछन् ।’

कालीकोट चन्द समूहको प्रभाव क्षेत्र मानिन्छ । कालीकोट पार्टी प्रवक्ता खडकवहादुर विश्वकर्माको गृह जिल्लासमेत हो । यही घर भएका पोलिटब्यूरो सदस्य भरत बम नेपालगन्ज र काठमाडौं जिल्ला सेक्रेटरी धिरेन्द्र उपाध्याय काठमाडौ‌ं जेलमा छन् ।

प्रकाशित : श्रावण १९, २०७६ २०:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?