खुम्चिँदै चारकोसे, मोरङ-सुनसरीमा ३० वर्षयता ११ हजार हेक्टर घट्यो

अहिले बाक्लो बस्ती र बजार विस्तार भएको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दर हरैंचालगायत क्षेत्रमा घना जंगल थियो । लेटाङ नगरपालिकाको बजार क्षेत्र सबै चारकोसेको जमिन हो ।
विनोद भण्डारी

विराटनगर — मोरङ–सुनसरीको चारकोसे जंगल तीन दशकमा झन्डै ११ हजार हेक्टर घटेको छ । अहिले पनि कागजी रूपमा ५५ हजार ५ सय हेक्टरमा फैलिएको चारकोसे जंगल दुई वर्षअघिको नापी सर्भेअनुसार भने ४४ हजार ५ सय ४० हेक्टरमा सीमित भएको हो ।

मोरङको बेलबारी नगरपालिका–११ लक्ष्मीमार्गमा चारकोसे जंगलको जमिनमा बनेका पक्की घर र बजार । जंगलसँगै जोडिएका गाउँ र नगरका सयौं घर–बस्ती यसरी नै अतिक्रमण गरी बनेका हुन् । तस्बिर : विनोद भण्डारी/कान्तिपुर

घना जंगल रहेको ठाउँमा अहिले बाक्लो बस्ती र बजार विस्तार भएको छ । डिभिजन वन कार्यालय मोरङका प्रमुख विशाल घिमिरेले तीन दशकमा जंगल क्षेत्र करिब ११ हजार हेक्टर घटेको बताए ।

अहिलेको लेटाङ, बेलबारी, डाँगीहाट, भाउन्ने, पथरी, कानेपोखरी, मंगलबारे, उर्लाबारी, मधुमल्ला, केराबारी र सुन्दर हरैंचालगायत क्षेत्रमा घनाजंगल थियो । अहिले ती सबै ठाउँमा बाक्लो बस्ती र बजार विस्तार भएको छ । जंगलको बीचमा रहेको लेटाङ नगरपालिकाको बजार क्षेत्र सबै चारकोसेको जमिन हो । यहाँ वन अतिक्रमण गरेर बसोवास गर्ने परिवारको संख्या ३ हजारभन्दा बढी रहेको नगर प्रमुख शंकर राईले बताए । ०२४ सालमा चिसाङ खोलाले बस्ती उठाएपछि त्यहाँका बासिन्दा यता सरेको उनको भनाइ छ ।

पथरी नगर क्षेत्रमा एक हजार ५ सय परिवारभन्दा बढी चारकोसेको जमिनमा बसेको नगर प्रमुख दिलीप राईले बताए । नगरमा करिब ६ हजार परिवार सुकुम्बासी छन् । ‘तीमध्ये पन्ध्र सय परिवार जंगलमा र अरू ऐलानी जमिनमा बस्दै आएका छन्,’ उनले भने । जंगलसँगै जोडिएको सुन्दर हरैंचा नगरपालिकामा सय बिघाभन्दा बढी जंगलको जमिन अतिक्रण भएको नगर प्रमुख शिवप्रसाद ढकालले बताए । उनका अनुसार नगरका वडा ४, ५, ९ र १० मा जंगलको सयौं बिघा अतिक्रमण भएको छ ।

जंगलबीचमा रहेको केराबारी, उर्लाबारी, भाउन्ने र कानेपोखरीमा पनि सयौं परिवार जंगलको जग्गामा बसिरहेका छन् । बेलबारी–११ का रामकुमार लिम्बूले लालपुर्जाबिनाको लक्ष्मीमार्गको चार धुर जमिनमा करिब ६० लाख लागतमा तीनतले घर बनाएका छन् । उनको घरले चर्चेको जमिन चारकोसे जंगलको नाममा छ । उक्त घर र जमिन बेच्न चाहे तत्काल महँगोमा बिक्री हुन्छ । त्यहींका याम कार्की, पदम राई, वीरबहादुर धिमाल र मिनु लिम्बूले पनि लालपुर्जा नभएको जमिनमा चारतले घर बनाएका छन् । पूर्वपश्चिम राजमार्गसँग जोडिएको उक्त जमिन र घर अन्तको भन्दा महँगोमा बिक्री हुन्छ ।

लालपुर्जा नभएको जमिन र त्यसमा निर्माण भएको घर खरिद–बिक्री हुँदा स्थानीय बजार व्यवस्थापन समितिले अभिलेख राख्छ ।

त्यसबापत उसले बजार व्यवस्थापनका नाममा केही राजस्व पनि असुल गर्दै आएको छ । समितिका अध्यक्ष रामकुमार लिम्बू नै हुन् ।

बेलबारीको लक्ष्मीमार्गमा मात्रै करिब ६ सय घर लालपुर्जाबिनाको जमिनमा बनाइएको छ । घर बनेको जमिन चारकोसे जंगलको हो । लक्ष्मी सामुदायिक वन क्षेत्रअन्तर्गतको करिब चार हेक्टर वन अतिक्रमण गरी बसेको वडाध्यक्ष राजन पोखरेलले बताए । ती बस्तीका कुनै पनि घर र त्यसले चर्चेको जमिनको लालपुर्जा छैन । ‘घर र जमिन खरिदबिक्री भइरहन्छ,’ पोखरेलले भने, ‘नम्बरीभन्दा महँगोमा बेचविखन हुन्छ । लालपुर्जाबिनाको जमिन प्रतिधुर ५ लाख रुपैयाँसम्ममा बिक्री भइरहेको उनले जानकारी दिए ।

बजार व्यवस्थापन समितिका अध्यक्ष लिम्बूका अनुसार यो बस्तीका सबैले घर र जमिन बिक्री गर्दा समितिलाई जानकारी दिन्छन् । ‘फलानाले भोग गरेको जमिन फलानाको अधीनमा रहेको भन्ने अभिलेख समितिले राख्छ,’ उनले भने, ‘त्यसबापत खरिद–बिक्रीको रकमअनुसार कम्तीमा १ हजार ५ सयदेखि ३ हजारसम्म राजस्व लिन्छ ।’ त्यो रकम बजार व्यवस्थापनमा खर्च हुने उनले बताए ।

वन क्षेत्र अतिक्रमण गरेर बनाइएको घर र जमिनको तत्कालीन डाँगीहाट गाउँ विकास समितिले कार्ड नम्बर वितरण गरेको थियो । त्यही नम्बरअनुसार बजार व्यवस्थापन समितिले अभिलेख राखेको छ । अभिलेखमा प्रत्येक व्यक्तिले चर्चेको जमिनको चार किल्ला प्रमाणित गरी भोगचलन गर्नेको फोटो टाँसिएको छ । अध्यक्ष लिम्बूका अनुसार त्यो जमिन कसैले बिक्री गरे अभिलेखबाट उसको नाम र फोटो हटाएर नयाँ खरिदकर्ताको नाम र फोटो राखिन्छ । त्यही अभिलेखका आधारमा जमिन र घर खरिद–बिक्री भइरहेको लिम्बूले बताए ।

प्रकाशित : श्रावण १८, २०७६ २१:२७
प्रतिक्रिया
पठाउनुहोस्

देउवाको आरोप, 'सरकार निरंकुश बन्दै गयो'

कान्तिपुर संवाददाता

(भक्तपुर) — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले दुई तिहाइको आडमा सरकार निरंकुश बन्दै गएको बताएका छन् । शनिबार मध्यपुर थिमिमा लेखक दीपेन्द्रराज गिरीको पुस्तक विधाता कार्यक्रममा सभापति देउवाले प्रधानमन्त्री केपी शर्मा ओलीले सबै शक्ति हातमा लिएर निरंकुश बन्दै गएको आरोप लगाए । 

प्रधानमन्त्रीले सेना, प्रहरीलाई आफूमातहत ल्याउन खोजेको र स्वतन्त्र न्यायालयमा समेत हस्तक्षेप गर्न थालेको उनको आरोप छ । देश र जनताको सेवामा लाग्नुपर्ने सेना, प्रहरी, कर्मचारीलाई सरकारले पार्टीको गुलाम जस्तो बनाउन खोजेको देउवाले कार्यक्रममा आरोप लगाए ।

कार्यक्रममा सभापति देउवाले प्रेस स्वतन्त्रताको महत्त्वपूर्ण जग र नागरिकको महत्त्वपूर्ण अधिकार नै प्रेस भए पनि सरकारले प्रेस स्वतन्त्रतालाई कुण्ठित पार्न खोजेको आरोप लगाए । सरकारले संविधानलाई मिच्दै जनताका हक अधिकार कुण्ठित गर्दै गए संसद्मा संघर्षरत प्रमुख प्रतिपक्षी दल कांग्रेस सडकमा समेत संघर्ष गर्न बाध्य हुने उनले बताए । उनले पार्टीका नेता तथा कार्यकर्तालाई लोकतन्त्रमाथि चुनौतीपूर्ण अवस्था आएको भन्दै त्यसविरुद्ध संघर्षका लागि तयार रहन निर्देशनसमेत दिएका छन् । सरकारले लोकतन्त्रका उपलब्धिमाथि कब्जा जमाउन खोजेको बताउँदै देउवाले कांग्रेसलाई लोकतन्त्रमाथिको हस्तक्षेप अस्वीकार्य रहेको उल्लेख गरे ।

कार्यक्रममा कांग्रेस नेता विश्वप्रकाश शर्मा, गगन थापा, पूर्वसभामुख दमननाथ ढुंगाना, डा. गोविन्दराज पोखरेल, कांग्रेस जिल्ला सभापति दुर्लभ थापालगायतले पुस्तकको चर्चा गर्दै अब देशमा कुनै पनि प्रकारको युद्ध होइन, शान्ति र समृद्धि चाहिएको बताएका छन् ।

प्रकाशित : श्रावण १८, २०७६ २०:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्