कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

त्रिविमा फेरि भागबन्डा : आयोग अध्यक्षमा पौडल, सदस्यमा ढकाल

सुदीप कैनी

काठमाडौँ — त्रिभुवन विश्वविद्यालय सेवा आयोगको अध्यक्षमा शनिबार प्राध्यापक लालुप्रसाद पौडेल नियुक्त भएका छन् । त्रिवि भूगर्भ विभागका प्रमुख पौडेललाई प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीले सिंगापुर उड्नुअघि नियुक्ति गरेका हुन् । आयोगका सदस्यमा प्राध्यापक हेमराज ढकाललाई नियुक्त गरिएको छ । उनी शिक्षाशास्त्र संकायको शैक्षिक योजना तथा व्यवस्थापन समितिका सदस्य हुन् । पर्वतका पौडेल पूर्वएमाले र गोरखाका ढकाल पूर्वमाओवादी निकट हुन् । 

त्रिविमा फेरि भागबन्डा : आयोग अध्यक्षमा पौडल, सदस्यमा ढकाल

शिक्षामन्त्री तथा सहकुलपति गिरिराजमणि पोखरेलको अध्यक्षतामा गठन भएको ३ सदस्यीय समितिले शनिबारै उनीहरूको नाम सिफारिस गरेको थियो । उनीहरूले नियुक्तिपत्र भने बुझिसकेका छैनन् ।

तत्कालीन अध्यक्ष, सदस्य र प्रशासकीय प्रमुखसहित १० जनाविरुद्ध कर्मचारी भर्नामा अनियमितता गरेको आरोपमा अख्तियारले मुद्दा चलाएपछि झन्डै एक महिनादेखि सेवा आयोग पदाधिकारीविहीन थियो । शिक्षामन्त्री पोखरेलको अध्यक्षतामा गत साउन १४ गते भौतिकशास्त्र केन्द्रीय विभागका प्रमुख विनील अर्याल र व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा सदस्य रहेको सिफारिस समिति गठन भएको थियो । समितिको बैठक बसेर अध्यक्ष र सदस्यको नाम शनिबारै सिफारिस गरिएको हो । तत्कालीन अध्यक्ष चैतन्य शर्मा मुद्दाका कारण निलम्बित भएका थिए । उनको गत साउन ५ गते तीनवर्षे कार्यकाल सकिन्थ्यो । सदस्य चिन्तामणि पोखरेल निलम्बित भए पनि उनको समयावधि २०७७ कात्तिकसम्म छ । प्रशासकीय प्रमुख परशुराम कोइरालासमेत खुला प्रतिस्पर्धाको परीक्षार्थीको अंक फेरबदल गरेकामा निलम्बन परेका छन् । त्यसका कारण सेवा आयोगको दैनिक कामकाज प्रभावित हुँदै आएको थियो । सदस्य पोखरेलको मुद्दा किराना नलाग्दै ढकाललाई नियुक्त दिने निर्णय भएको हो ।


प्रधानमन्त्री तथा कुलपति ओलीले शनिबारै त्रिविको उपकुलपति नियुक्ति गर्न नाम सिफारिस समिति गठन गरेका छन् । उपकुलपति तीर्थराज खनियाँको ४ वर्षे कार्यकाल आगामी भदौ ५ गते पूरा हुँदै छ । त्रिविसँगै नेपाल संस्कृत, कृषि तथा वनविज्ञान, पोखरा, पूर्वाञ्चल, मध्यपश्चिम र सुदूरपश्चिमसहित ७ विश्वविद्यालयमा पनि उपकुलपतिको पदावधि सकिँदै छ ।

प्रकाशित : श्रावण १८, २०७६ २१:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?