कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

जथाभावी सडकले बस्ती जोखिममा

सडकका नाममा जथाभावी डोजर चलाइएका र भूकम्पले चिरिएका बस्ती स्थानीय धमाधम विस्थापित हुँदै 

(पाल्पा/प्यूठान) — पाल्पामा २ सय २० परिवार पहिरोको जोखिममा छन् । यहाँ जथाभावी डोजर चलाइनु, भूकम्पका कारण चिरा परेका पहाड र प्राकृतिक प्रकोप पहिरोका मुख्य कारण हुन् । रम्भा गाउँपालिकाको हुँगी, तिनाउको श्रीडाँडा, कोलडाँडा, मस्याम, दोभान, रामपुर नगरपालिकाको गेझा, पूर्वखोलाको वीरकोट, रिब्दीकोटको खस्यौली, निस्दीको सहलकोट, ज्यामिरे, कालीगण्डकी बेंसी क्षेत्रमा बढी जोखिम छ ।

जथाभावी सडकले बस्ती जोखिममा

देउरालीमा तीन परिवारलाई प्रशासनले टहरा बनाएर सारिसकेको छ । धारादी गाउँका तिलकबहादुर विकको घरअगाडि दुई वर्षदेखि जमिन भासिने क्रम जारी छ । त्यहाँका सबै घर जोखिममा छन् । तानसेन–हार्थोक–सर्देवा सडक बनाउने क्रममा जमिन चर्किएर भासिन थालेको विकले बताए । कालीगण्डकी करिडोरले सडक चौडा बनाउँदा १० घर र तिनाउको कोलडाँडाको घुँघराछापका ८ घर पहिरोको जोखिममा छन् । सहलकोटको सुकेकोटनजिकैका ६ घरछेउ भूकम्पले जमिन चर्किएको छ । पहिरो खसे माथिको सुकेकोट बस्ती पनि जोखिममा पर्छ ।

स्थानीय उमेश गाहाका अनुसार सुकेकोट बस्तीछेउ ५ सय मिटर जमिन चर्किएको छ । रामपुर नगरपालिकाको गेझा र पूर्वखोलाको वीरकोटका ८० घर पहिरोको जोखिममा छन् । वीरकोटको मचाबारीका ३९ परिवारमध्ये सात परिवार विस्थापित भइसके । तिनाउको दोभान बगाहाका १५ घर जोखिममा छन् । वातावरणीय प्रभाव मूल्यांकन नगरीकन सडकको ट्र्याक खोल्दा अझ समस्या निम्तिएको छ । रम्भा गाउँपालिका–१ हुँगीका २८ घरपरिवार पानी पर्दा जाग्राम बस्न बाध्य छन् । रम्भा–१, हुँगी र २ नम्बर फोक्सिङकोट जोड्ने ‘सेतीपोखरी–ठूलोथुम्के–फोक्सिङकोट मोटरबाटोका कारण तल्लो भेगका बस्ती जोखिममा परेका हुन् । गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए । उनका अनुसार ऐन र कार्यविधि बनाएर आगामी दिनमा जोखिम न्यूनीकरणका थप उपाय अपनाइनेछ ।


पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले विपदा लागि तयारी अवस्थामा रहे पनि ऐन, नियम र कार्यविधि बनाउन बाँकी रहेको बताए । रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण जीसीले विपदको कार्ययोजना बनिसकेको जनाए । जिल्ला प्रशासनले कालीगण्डकी क्षेत्र, तिनाउको खानी तथा उद्योग सञ्चालन क्षेत्र जोखिमयुक्त रहेको जनाएको छ । ‘विपद्बाट जोगिन बजेटसाथै व्यवस्थापनका लागि सामानसमेत व्यवस्था गरेका छौं,’ प्रजिअ वीरेन्द्रकुमार यादवले भने, ‘तीन तहका सरकारको समन्वयमा विपद् व्यवस्थापन गर्नुपर्ने अवस्था छ ।’


वाचा पूरा भएन

प्यूठानका गौमुखी र नौबहिनी गाउँपालिकाका स्थानीयले चार वर्षअघिको पहिरो भुलेका छैनन् । बर्खा लागेपछि उनीहरू अहिले पनि तर्सन्छन् । नौबहिनीको फोप्ली, लुङ, खबाङ, स्याउलीबाङ, लिघा तथा गौमुखीका पूजा, अर्खा रजबारा, लिबाङ र खुङमा पहिरोले क्षति पुर्‍याएको थियो ।


०७२ साउन १० र ११ गते बाढीपहिरोले अधिकांश स्थानीय विस्थापित भएका थिए । कम्तीमा ६४ को मृत्यु भएको थियो । नौबहिनीको केन्द्र बाहानेमा आएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीयलाई पनि भूकम्पपीडितसरह राहत दिने र बस्ती स्थानान्तरण गराउने प्रतिबद्धता जनाएका थिए । त्यो वाचा अझै पूरा नभएको नौबहिनी–८, अधेरीकी नानुमाया केसीले बताइन् । ‘असारसम्म पहाडका टुप्पाटुप्पामा पुगेर ठूला मेसिनले जमिन खोतलेको देखिन्थ्यो,’ उनले भनिन्, ‘ठूलो पानी पर्दा त्यहीँबाट पहिरो झर्छ ।’ ०७२ सालको पहिरोमा उनले श्रीमान् गुमाइन् । घर पुरेपछि विस्थापित भएकी छन् ।


उक्त पहिरोले २ हजार परिवार प्रभावित भएका थिए । त्यहाँका बस्ती बागलुङ, रोल्पा र गुल्मी सिमाना जोडिएको झिमरुक नदीको जलाधार क्षेत्र हो । उत्तरी प्यूठान मकै, कोदो राम्रो उत्पादन हुने रसिलो क्षेत्र मानिन्छ । पहिरो गएका बस्ती वर्षौंदेखि उजाड छन् । त्यसबेला प्रधानमन्त्री आएर भूकम्पपीडितसरह राहत दिने वाचा गरे पनि पूरा नभएको नौबहिनी–६, बाहानेका लक्ष्मण रिजालले बताए । घरमाथिबाट खनिएको सडकका कारण उठीबास लागेको उनको भनाइ छ । सडकका कारण दर्जनौं बस्ती जोखिममा रहेको नौबहिनी–४, खबाङका रेगमबहादुर थापाले बताए । ‘भौतिक पूर्वाधार निर्माण गर्दा सबै क्षेत्रको समन्वयमा गर्नुपर्ने हो,’ थापाले भने, ‘हाम्रोमा त्यसो गरिँदैन । यसले गर्दा धेरै विपत्ति निम्त्याइरहेको छ ।’ उनले पहिले चर्केको जमिनमै ठूला डोजर, एक्साभेटर प्रयोग गरी बनाइएको बताए ।

प्रकाशित : श्रावण १८, २०७६ १९:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?