जथाभावी सडकले बस्ती जोखिममा

सडकका नाममा जथाभावी डोजर चलाइएका र भूकम्पले चिरिएका बस्ती स्थानीय धमाधम विस्थापित हुँदै 
माधव अर्याल, गिरुप्रसाद भण्डारी

(पाल्पा/प्यूठान) — पाल्पामा २ सय २० परिवार पहिरोको जोखिममा छन् । यहाँ जथाभावी डोजर चलाइनु, भूकम्पका कारण चिरा परेका पहाड र प्राकृतिक प्रकोप पहिरोका मुख्य कारण हुन् । रम्भा गाउँपालिकाको हुँगी, तिनाउको श्रीडाँडा, कोलडाँडा, मस्याम, दोभान, रामपुर नगरपालिकाको गेझा, पूर्वखोलाको वीरकोट, रिब्दीकोटको खस्यौली, निस्दीको सहलकोट, ज्यामिरे, कालीगण्डकी बेंसी क्षेत्रमा बढी जोखिम छ ।

ZenTravel

देउरालीमा तीन परिवारलाई प्रशासनले टहरा बनाएर सारिसकेको छ। धारादी गाउँका तिलकबहादुर विकको घरअगाडि दुई वर्षदेखि जमिन भासिने क्रम जारी छ। त्यहाँका सबै घर जोखिममा छन्। तानसेन–हार्थोक–सर्देवा सडक बनाउने क्रममा जमिन चर्किएर भासिन थालेको विकले बताए। कालीगण्डकी करिडोरले सडक चौडा बनाउँदा १० घर र तिनाउको कोलडाँडाको घुँघराछापका ८ घर पहिरोको जोखिममा छन्। सहलकोटको सुकेकोटनजिकैका ६ घरछेउ भूकम्पले जमिन चर्किएको छ। पहिरो खसे माथिको सुकेकोट बस्ती पनि जोखिममा पर्छ।
स्थानीय उमेश गाहाका अनुसार सुकेकोट बस्तीछेउ ५ सय मिटर जमिन चर्किएको छ। रामपुर नगरपालिकाको गेझा र पूर्वखोलाको वीरकोटका ८० घर पहिरोको जोखिममा छन्। वीरकोटको मचाबारीका ३९ परिवारमध्ये सात परिवार विस्थापित भइसके। तिनाउको दोभान बगाहाका १५ घर जोखिममा छन्। वातावरणीय प्रभाव मूल्यांकन नगरीकन सडकको ट्र्याक खोल्दा अझ समस्या निम्तिएको छ। रम्भा गाउँपालिका–१ हुँगीका २८ घरपरिवार पानी पर्दा जाग्राम बस्न बाध्य छन्। रम्भा–१, हुँगी र २ नम्बर फोक्सिङकोट जोड्ने ‘सेतीपोखरी–ठूलोथुम्के–फोक्सिङकोट मोटरबाटोका कारण तल्लो भेगका बस्ती जोखिममा परेका हुन्। गाउँपालिका अध्यक्ष विष्णुप्रसाद भण्डारीले विपद् व्यवस्थापनका लागि बजेट विनियोजन गरिएको बताए। उनका अनुसार ऐन र कार्यविधि बनाएर आगामी दिनमा जोखिम न्यूनीकरणका थप उपाय अपनाइनेछ।

पूर्वखोला गाउँपालिका अध्यक्ष नुनबहादुर थापाले विपदा लागि तयारी अवस्थामा रहे पनि ऐन, नियम र कार्यविधि बनाउन बाँकी रहेको बताए। रिब्दीकोट गाउँपालिका अध्यक्ष नारायण जीसीले विपदको कार्ययोजना बनिसकेको जनाए। जिल्ला प्रशासनले कालीगण्डकी क्षेत्र, तिनाउको खानी तथा उद्योग सञ्चालन क्षेत्र जोखिमयुक्त रहेको जनाएको छ। ‘विपद्बाट जोगिन बजेटसाथै व्यवस्थापनका लागि सामानसमेत व्यवस्था गरेका छौं,’ प्रजिअ वीरेन्द्रकुमार यादवले भने, ‘तीन तहका सरकारको समन्वयमा विपद् व्यवस्थापन गर्नुपर्ने अवस्था छ।’

वाचा पूरा भएन
प्यूठानका गौमुखी र नौबहिनी गाउँपालिकाका स्थानीयले चार वर्षअघिको पहिरो भुलेका छैनन्। बर्खा लागेपछि उनीहरू अहिले पनि तर्सन्छन्। नौबहिनीको फोप्ली, लुङ, खबाङ, स्याउलीबाङ, लिघा तथा गौमुखीका पूजा, अर्खा रजबारा, लिबाङ र खुङमा पहिरोले क्षति पुर्‍याएको थियो।

०७२ साउन १० र ११ गते बाढीपहिरोले अधिकांश स्थानीय विस्थापित भएका थिए। कम्तीमा ६४ को मृत्यु भएको थियो। नौबहिनीको केन्द्र बाहानेमा आएर तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीयलाई पनि भूकम्पपीडितसरह राहत दिने र बस्ती स्थानान्तरण गराउने प्रतिबद्धता जनाएका थिए। त्यो वाचा अझै पूरा नभएको नौबहिनी–८, अधेरीकी नानुमाया केसीले बताइन्। ‘असारसम्म पहाडका टुप्पाटुप्पामा पुगेर ठूला मेसिनले जमिन खोतलेको देखिन्थ्यो,’ उनले भनिन्, ‘ठूलो पानी पर्दा त्यहीँबाट पहिरो झर्छ।’ ०७२ सालको पहिरोमा उनले श्रीमान् गुमाइन्। घर पुरेपछि विस्थापित भएकी छन्।

उक्त पहिरोले २ हजार परिवार प्रभावित भएका थिए। त्यहाँका बस्ती बागलुङ, रोल्पा र गुल्मी सिमाना जोडिएको झिमरुक नदीको जलाधार क्षेत्र हो। उत्तरी प्यूठान मकै, कोदो राम्रो उत्पादन हुने रसिलो क्षेत्र मानिन्छ। पहिरो गएका बस्ती वर्षौंदेखि उजाड छन्। त्यसबेला प्रधानमन्त्री आएर भूकम्पपीडितसरह राहत दिने वाचा गरे पनि पूरा नभएको नौबहिनी–६, बाहानेका लक्ष्मण रिजालले बताए। घरमाथिबाट खनिएको सडकका कारण उठीबास लागेको उनको भनाइ छ। सडकका कारण दर्जनौं बस्ती जोखिममा रहेको नौबहिनी–४, खबाङका रेगमबहादुर थापाले बताए। ‘भौतिक पूर्वाधार निर्माण गर्दा सबै क्षेत्रको समन्वयमा गर्नुपर्ने हो,’ थापाले भने, ‘हाम्रोमा त्यसो गरिँदैन। यसले गर्दा धेरै विपत्ति निम्त्याइरहेको छ।’ उनले पहिले चर्केको जमिनमै ठूला डोजर, एक्साभेटर प्रयोग गरी बनाइएको बताए।

प्रकाशित : श्रावण १८, २०७६ १९:१६
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

पूर्वस्वीकृति नलिई अन्तरवार्ता लिँदै गरेको अवस्थामा विभागको छापा

रासस

काठमाडौँ — वैदेशिक रोजगार विभागले पूर्वस्वीकृति नलिई विदेश पठाउने भन्दै अन्तरवार्ता लिइरहेको गौशालास्थित क्लासिक ओभरसिज म्यानपावर कम्पनीमा छापा मारेको छ । पूर्वस्वीकृति बिना मलेसियाको एउटा कम्पनीमा कामदार पठाउन छनोट गरिरहेको भन्ने सूचनाका आधारमा विभागको अनुगमन टोलीले शनिबार उक्त म्यानपावरमा छापा मारेको हो ।

उक्तम्यानपावर कम्पनीले विभागबाट पूर्वस्वीकृति नलिई मलेसियाको वावा सन प्याकेजिङ इन्टरप्राइजेज कम्पनीका लागि कामदार छनोट गर्न भन्दै अन्तरवार्ता लिइरहेको थियो । अन्तरवार्ताका लागि करीब १५० युवा उक्त म्यानपावर कम्पनी पुगेका थिए ।

विभागबाट पूर्वस्वीकृति लिएको कागजात देखाउन नसकेपछि अनुगमन टोलीले अन्तरवार्ता स्थगित गर्न सो म्यानपावरलाई निर्देशन दिएको छ । अन्तरवार्ताको क्रममा म्यानपावरले सङ्कलन गरेको राहदानीलगायत कागजात फिर्ता गर्न निर्देशन दिइएको विभागले जनाएको छ । विभागले म्यानपावर सञ्चालकलाई २४ घन्टाभित्र उपस्थित हुन निर्देशन दिएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ १८:४८
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×