दोलखामा पहिरोले १० घर पुरिए, दुई जना सम्पर्कविहीन - समाचार - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

दोलखामा पहिरोले १० घर पुरिए, दुई जना सम्पर्कविहीन 

राजेन्द्र मानन्धर

दोलखा — गौरीशंकर गाउँपालिका–१ जुँगुमा शुक्रबार राति पहिरो खस्दा १० घर पुरिएका छन् । घटनामा दुई जना सम्पर्कविहीन भएका छन् ।

राति पहिरो जान थालेपछि अन्य स्थानीयले भने भागेर ज्यान जोगाएका छन् ।


५५ वर्षीय जगतबहादुर खत्री र १८ वर्षीय निसान खड्का बेपत्ता भएको दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताए । पहिरोबाट बच्न घरबाट भाग्दै गरेका खत्री र पहिरोले पुरिन लागेको बस निकाल्न गएका खड्का सम्पर्कविहीन भएका हुन । पहिरोले पुरिन लागेको थाहा पाएपछि खड्का बस निकाल्न गएका थिए ।


पहिरोका कारण २२ घरका बासिन्दा विस्थापित भएका छन् । १० घर पुरिएको र ११ घर अति जोखिममा भएकाले स्थानीयले घर छाडेका छन् ।


अहिले पहिरोग्रस्त क्षेत्रमा सुरक्षाकर्मीसहित स्थानीय प्रशासन र गाउँपालिकाको टोली खटिएको छ ।

प्रकाशित : श्रावण १८, २०७६ ०८:५५
प्रतिक्रिया
पठाउनुहोस्

केन्द्रबाट पठाइएका शिक्षक स्थानीय तहले लिएनन्

शिक्षा विकास तथा समन्वय एकाइले अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या 
गणेश राई

काठमाडौँ — शिक्षक सेवा आयोगमार्फत छनोट गरेर पठाइएका शिक्षकहरू लिन स्थानीय तहहरूले अस्वीकार गरेका छन् । मुलुकका ७७ वटै शिक्षा विकास तथा समन्वय एकाइले धमाधम अन्तर्वार्ता लिँदै कार्यथलो रोज्न लगाएर सिफारिस गरेपछि समस्या आएको हो । 

संविधानअनुसार विद्यालय तह सञ्चालन जिम्मेवारी स्थानीय सरकारलाई छ तर शिक्षक अनुमतिपत्र, भर्ना र बढुवालगायत प्रक्रिया केन्द्रमातहत हुन्छ । शिक्षा विकास तथा समन्वय एकाइलाई शिक्षक व्यवस्थापन, एसईई तथा कक्षा ११ र १२ को परीक्षा सञ्चालन जिम्मेवारी दिइएको छ । एकाइमा सामुदायिक र संस्थागत विद्यालय, शिक्षक र विद्यार्थीको अभिलेख राखिएको छ ।

एकाइले शिक्षक व्यवस्थापनअन्तर्गत शिक्षक सेवा आयोगले लिने परीक्षा सञ्चालन, अन्तर्वार्ता, नियुक्ति, उपदान, राजीनामा, पेन्सन पट्टा, सरुवा, बढुवाका प्रक्रिया पूरा गर्दै आएको छ । ‘शिक्षक भर्ना प्रक्रियाप्रति स्थानीय तहका जनप्रतिनिधिहरूको असन्तुष्टि छ,’ एकाइका एक प्रमुखले भने, ‘कानुनी आधार स्पष्ट हुन नसक्दा स्थानीय तहहरूले एकाइको अस्तित्व स्विकारेका छैनन् ।’

सेवा आयोगले जिल्लागत रूपमा लिखित परीक्षा सञ्चालन तथा अन्तर्वार्ता लिने व्यवस्था गरेको छ । यसअघि शिक्षा कार्यालयमार्फत लिने गरिएको परीक्षा अहिले एकाइलाई जिम्मेवारी दिइएको छ । एकाइले दुवै परीक्षा उत्तीर्ण शिक्षकलाई आफू जान चाहेको स्थानीय तह रोज्न लगाउँछ । ‘तर स्थानीय तहले लिन मानेका छैनन्,’ अर्का एकाइ प्रमुखले भने, ‘जनप्रतिनिधिहरूमा कानुनी प्रक्रिया र विधिबारे अन्योल हुँदा यो समस्या आएको हो । समन्वय गर्ने प्रयास जारी छ ।’

काठमाडौं महानगरपालिकाका प्रवक्तासमेत रहेका १५ नम्बरका वडाध्यक्ष ईश्वरमान डंगोलले विद्यालय सञ्चालनका सबै जिम्मेवारी महानगरपालिकामा आइसकेको बताए । ‘कति विद्यालय छन्, कस्ता विद्यार्थी छन् र कति शिक्षक चाहिन्छ भन्ने अभिलेख हामीसित छ,’ उनले भने, ‘समन्वय एकाइले सिधै सिफारिस गरेर पठाउनु हुन्न । हाम्रो आवश्यकताअनुसारको शिक्षक राख्न पाउनुपर्छ ।’

माध्यमिक तहका १ हजार ९७ शिक्षक सिफारिसका क्रममा स्थानीय तहले विरोध जनाएका हुन् । निमावि तहका १ हजार ६ सय ३५ शिक्षक पदपूर्ति गर्न अन्तर्वार्ता लिइसकिएको छ । त्यसपछि पदस्थापन हुनेछ । प्राथमिक तहका ९ हजार ९ सय ९६ शिक्षक पदपूर्तिका लागि अन्तर्वार्ता जारी छ । ‘माविको पदस्थापन सकिएको छ,’ शिक्षक सेवा आयोगका सचिव तुलसी थपलियाले भने, ‘साउनभित्र निमावि तहको पदस्थापन हुनेछ, प्राविको अन्तर्वार्ता जारी छ । पदस्थापन गर्न केही समय लाग्छ ।’ काठमाडौंका एकाइ प्रमुख नन्दलाल पौडेलले सबैतिर अवरोध आएकाले पदस्थापन गर्नुअघि स्थानीय तहसँग समन्वय बैठक राखिने बताए ।

रित्ता शिक्षा कार्यालय
संघीय संरचनाअनुकूल शिक्षा विकास तथा समन्वय एकाइ भनेर नाम फेरिएका मुलुकभरका जिल्ला शिक्षा कार्यालय दुई वर्षदेखि रित्तै छन् ।

तत्कालीन जिल्ला शिक्षा कार्यालय भक्तपुरमा २९ कर्मचारी थिए । एकाइ भएपछि आठ जना मात्र रहेको एकाइ प्रमुख खेमनाथ पोखरेल बताउँछन् । शिक्षा कार्यालय रहँदा ललितपुरमा ३३ कर्मचारी थिए । एकाइ प्रमुख योगेन्द्रप्रसाद बरालका अनुसार अहिले एक उपसचिव, दुई अधिकृत, दुई नायब सुब्बा, दुई कार्यालय सहयोगी र एक चालक कार्यरत छन् ।

शिक्षा कार्यालय रहँदा काठमाडौंमा ७० जना कर्मचारी थिए । अहिले ९ जना मात्र रहेको एकाइ प्रमुख नन्दलाल पौडेल बताउँछन् । यसरी ७७ जिल्लाका शिक्षा विकास तथा समन्वय एकाइमा न्यूनतम ५ देखि अधिकतम ९ जना कर्मचारी खटाइएका छन् ।

सरकारले देशभरिका शिक्षा कार्यालयको भवन एकैखाले नक्सामा निर्माण गरेको छ । एकाइमा परिणत गरिएपछि प्रशासन, लेखा, स्टोर, सभा कक्ष, कार्यक्रम, अनौपचारिक शिक्षा, कर्मचारीलगायत शाखामा तालाचाबी लगाइएका छन् । ‘कम्तीमा यो लेखापाल र स्टोरकिपर चाहिँ व्यवस्था भएको भए सहज हुन्थ्यो,’ ललितपुर एकाइ प्रमुख बरालले भने, ‘लेखापाल नहुँदा स्रेस्ता राख्न र सामग्री खरिदमा समस्या छ ।’

सरकारले यसअघि शिक्षा कार्यालयलाई जिल्ला प्रशासन कार्यालयअन्तर्गत व्यवस्थापन गरेको थियो । केही समयपछि पुनः शिक्षा मन्त्रालयमातहतमै रहने व्यवस्था गरेपछि समन्वय एकाइ लेखापालविहीन बनेका हुन् । एकाइको लेखालाई प्रशासन कार्यालयका लेखापालले हेर्ने भनिए पनि व्यवहारमा छैन ।

प्रकाशित : श्रावण १८, २०७६ ०८:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×