सिंगो गाउँपालिकामा एक जना सचिव

दुर्गम भएकैले भोटखोला गाविसमा कर्मचारी जान मान्दैनन् । गए पनि काज वा सरुवा मिलाएर हिँडिहाल्छन् ।
कान्तिपुर संवाददाता

(संखुवासभा) — भोटखोला गाउँपालिकामा पाँचवटा वडा छन् । एउटा वडाबाट अर्कोमा पुग्न दुई दिनसम्म लाग्छ । तर, यी सबै वडा हेर्न जम्मा एक जना सचिव छन् । पर्याप्त वडा सचिव नहुँदा स्थानीय तहले प्रदान गर्ने सेवा प्रभावकारी हुन सकेको छैन ।



‘सिंगो गाउँपालिकामा एक जना मात्रै वडा सचिव हुँदा हैरानी छ,’ हटियाका थुदोक भोटेले भने, ‘काम लिन समस्या भयो, एक जना वडा सचिवले सबैतिरको काम गर्न भ्याउँदैनन् । मार हामीले खेपिरहेका छौं ।’


वडा सचिव दाबा लामा एक्लैले सबै वडा हेर्नुपर्दा समयमा काम नभएर सेवाग्राही मर्कामा परिरहेको स्विकार्छन् । भोटखोला जिल्लाको दुर्गम मानिन्छ । गाउँपालिका केन्द्र पुग्न २ दिन हिँड्नुपर्छ । ‘दरबन्दीअनुसारका कर्मचारी नहुँदा समस्या छ,’ दावाले भने, ‘कर्मचारी कोही भोटखोला आउन मान्दैनन् । यो गाउँपालिकामा कुल दरबन्दी २७ जना छ तर पाँच जना अस्थायी कर्मचारीबाट काम चलाइरहनुपरेको छ ।’


गाउँपालिकाका अध्यक्ष तेम्बा भोटे पटकपटक केन्द्रसम्म धाउँदा पनि कर्मचारी नआएको बताउँछन् । ‘भोटखोला गाउँपालिका दुर्गम भएको कारणले नै कर्मचारी आउन मान्दैनन्,’ उनले भने, ‘मन्त्रालयले सरुवा गरेर पठाए पनि बाध्यतामा एक/दुई महिना बस्छन् अनि तत्काल सरुवा वा काज मिलाएर गइहाल्छन् ।’ भएका कर्मचारी टिकाउन गाउँपालिकाले थप चार हजार दुर्गम भत्ता दिने निर्णय गरेको छ ।


सडक सञ्जालले नछोएको भोटखोलाका ५ वटै वडा हिँडेर पुग्नुपर्छ । सबै वडा कार्यालय पुगेर सेवा दिन ज्यादै कठिन हुने सचिव लामाले बताए । ‘हरेक वडामा महिनामा तीन/चार दिनमा एकपटक सेवा दिन पुग्छु,’ उनले भने, ‘दैनिक सबै वडा पुग्न सकिँदैन ।’


भोटखोलाको थुदामबाट वडा नम्बर २ को कार्यालय च्याम्ताङ आउन करिब तीन दिन लाग्छ । वडा कार्यालय पुगे पनि दैनिक रूपमा सेवा दिन नसक्दा स्थानीयले हैरानी खेप्नुपरेको छ । भोटखोलामा करिब ६ हजार ५ सय ७६ जनसंख्या छ । सडक, विद्युत् र सञ्चारसमेत छैन । दक्ष जनशक्ति र सञ्चारसमेत नहुँदा सेवा प्रभावकारी हुन नसकेको कर्मचारी बताउँछन् ।


भोटखोलामा अहिले प्रमुख प्रशासकीय अधिकृत, सहलेखापाल, नायब सुब्बा (वडा सचिव र कृषि शाखा प्रमुख), खरिदार, खानेपानी सरसफाइ प्राविधिक छन् । कर्मचारी समायोजनपछि पनि दरबन्दीअनुसार खटिएकाहरू आएका छैनन् । ‘स्थायी दरबन्दीका ३ जना कर्मचारीबाट सेवा दिनुपरेको छ,’ अध्यक्ष भोटेले भने, ‘केही कर्मचारी करारमा नियुक्त गरेर चलाइरहेका छौं ।’


प्रकाशित : श्रावण १७, २०७६ १९:४१
प्रतिक्रिया
पठाउनुहोस्

‘मिस इंग्ल्यान्ड–२०१९’ को सेकेन्ड रनरअप बनिन् प्रतिष्ठा

कान्तिपुर संवाददाता

लन्डन — बेलायतको प्रतिष्ठित सौन्दर्य प्रतियोगिता ‘मिस इंग्ल्यान्ड–२०१९’ मा नेपाली चेली प्रतिष्ठा ‘तृष’ राउत सेकेन्ड रनरअप बन्न सफल भएकी छन् । २२ हजार आवेदकमध्येबाट छानिएर फाइनल पुगेकी प्रतिष्ठाले बिहीबार साँझको ग्रान्ड फिनालेमा सेकेन्ड रनरअपको उपाधि जितेकी हुन् । न्यू क्यासल अपन टाइनमा ५४ प्रतिस्पर्धीबीच भएको फाइनलमा उनले ‘च्यारिटी क्वीन’ को उपाधि पनि पाइन् । 

मानसिक स्वास्थ क्षेत्रमा काम गर्ने च्यारिटी संस्थाका लागि उनले १० हजार ६ सय ३९ पाउन्ड संकलन गरेकी थिइन् । जुन रकम प्रतियोगीमध्ये सबैभन्दा उच्च हो । उनको सहयोगार्थ बेलायतको नेपाली समुदाय पनि जुटेको थियो ।

प्रतिष्ठाले खुसी ब्यक्त गर्दै जितले आफ्नो आत्मविश्वास अभिवृद्धि साथै महिला सशक्तिकरणमा लाग्न उत्प्रेरित गरेको बताइन् । उनले अहिले मानसिक स्वास्थ जटिल विषय भएको उल्लेख गर्दै भविष्यमा यही क्षेत्रमा काम गर्ने जनाइन् ।
अल्डरसट निवासी २६ वर्षीया प्रतिष्ठा भूपू गोर्खा प्रकाश राउतकी छोरी हुन् ।

हङकङमा जन्मिएकी प्रतिष्ठा ५ वर्षको उमेरदेखि बेलायतमा छिन् । उनले १६ वर्षमै मोडलिङ थालेकी हुन् ।

युनिभर्सिटी अफ ब्राइटनबाट इन्टेरियर आर्किटेक्चरमा ब्याचलर उत्तीर्ण प्रतिष्ठा पेसाले प्लोर प्लान आर्किटेक्ट हुन् । उनले गत वर्ष बेलायतको चर्चित फार्नबोरो एयर शोको फ्लोर प्लान पनि गरेकी थिइन् । छिट्टै रेजिडेन्सियल हाउजिङ आर्किटेक्ट फर्म खोल्ने र मोडलिङ पनि एकसाथ अघि बढाउने उनले बताइन् ।

प्रकाशित : श्रावण १७, २०७६ १९:२७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×