कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

१५ दिनमा दूधको मूल्य बढ्छ : कृषिमन्त्री खनाल 

प्रमिता ढकाल

भरतपुर — कृषि तथा सहकारीमन्त्री चक्रपाणी खनालले दुग्ध उत्पादक कृषकहरुको माग १५ दिन भित्र पुरा गर्ने दाबी गरेका छन् । शुक्रबार चितवनको भरतपुरमा पत्रकारहरुसँग कुराकानी गर्दै मन्त्री खनालले दुग्ध उत्पादक कृषकको माग सुनुवाईका लागि कार्यादल गठन गरी प्रक्रिया अघि बढाइएको बताए ।

१५ दिनमा दूधको मूल्य बढ्छ : कृषिमन्त्री खनाल 

'कृषकहरुको माग प्रति सरकार गम्भीर छ,' उनले भने, 'दूधको मूल्य वृद्धि गर्ने विषयमा कुनै विमति छैन, कृषकले वास्तविक मूल्य पाउँछन् ।' दूधको मूल्य वृद्धिको माग गर्दै चितवनका दुग्ध उत्पादक कृषकहरु आन्दोलित बनेका बेला मन्त्रीले यस्तो आश्वाशन दिएका हुन् । बिहीबार मात्रै दूधको मूल्य कम्तीमा १० रुपैयाँले बढाउनुपर्ने माग राख्दै चितवनका दुग्ध उत्पादक सहकारी संस्थाहरुले सरकारलाई सातादिनको समय दिएका थिए । उनीहरुले दुग्ध उत्पादक सहकारीहरुलाई लगाइने करमा समेत छुट गर्न कृषकहरुले माग गरेका छन् ।


भोलिपल्ट चितवन आइपुगेका कृषीमन्त्री खनालले कार्यदलले १५ दिन भित्र उचित मूल्य निर्धारण गर्ने बताए । हरेक दुईदुई वर्षमा दूधको मूल्य वृद्धि गर्ने सरकारको रणनीति भएपनि यसपटक लामो समय लागेको उनले जानकारी दिए । यद्यपी सरकार र मन्त्रालय कृषककै पक्षमा रहेको भन्दै कृषकहरुलाई नआत्तिन उनले आग्रह गरेका छन् ।


कुराकानीको क्रममा मन्त्री खनालले गत वर्षको तुलनामा यस वर्ष धान उत्पादनमा केही गिरावट आउने देखिएको उल्लेख गरे । गतवर्ष अहिलेको समयमा ९२ प्रतिशत धान रोपाईं सकिएकोमा हाल ८० प्रतिशत मात्र रोपाईं भएको र कतै डुबान र कटानको समस्या समेत देखिएकाले धान उत्पादनमा कमी आउने आँकलन गरिएको उनको भनाइ छ ।


कृषिमा प्रोत्साहनका कार्यक्रममबारे बोल्दै मन्त्री खनालले सरकारले यसै वर्ष देखि चक्लाबन्दी खेती र युवा लक्षित खेति प्रणाली लागू गर्ने तयारी भएको बताए । चक्लाबन्दी खेतिमा आधुनिक प्रविधिको प्रयोग सहज हुने र उत्पादन वृद्धिमा सहयोग पुग्ने भएकाले सरकारले यसको अवधारण अघि सारेको उनको भनाइ छ । तराईमा एक सय बिगाह र पहाडमा एक सय रोपनी जमिनमा खेती गर्ने युवाहरुलाई राज्यले बीउ, मल, सिचाईं, औजार लगायतमा सहयोग गर्ने उनले बताए ।

प्रकाशित : श्रावण १७, २०७६ १३:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?