[अपडेट] पहिरोले घर पुरिँदा आमा–छाेरीकाे मृत्यु, पाँच घाइते

संगीता तिमिल्सेना 

बाजुरा — लगातारको वर्षाका कारण बाजुराको गौमुल गाउँपालिका–६ टाँडाकोटीमा पहिरोले घर भत्काउँदा आमा र छोरीको मृत्यु भएकाे छ । अन्य पाँच जना घाइते छन् ।

[अपडेट] पहिरोले घर पुरिँदा आमा–छाेरीकाे मृत्यु, पाँच घाइते

बिहीबार राति खसेको पहिराेमा ३० वर्षीया आमा निरुता चदाँरा र छ वर्षीया छोरी किस्मिताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरिक्षक जनकराज ढुंगानाले बताए ।

पहिरोले तीनतले घर भत्काउँदा एकै घरमा सुतेका सात जना मध्ये दुई जनाको मृत्यु भएको हो । राति करिब १२:३० बजेतिर घरमाथिबाट पहिरो खसेको बताइएको छ ।


घरभित्र च्यापिएर मृतकका ससुरा जंगे चदाँरा गम्भीर घाइते भएका छन् । जंगेका ३८ वर्षीय छोरा सुके चदाँरा उनकी ३८ वर्षया बुहारी जडेनी चँदारा पनि घाइते छन् । यस्तै १२ वर्षीया अस्मिता चदाँरा र १० वर्षीय विकास चदाँरा घाइते भएको प्रहरी निरीक्षक ढुंगानाले बताए ।

च्यापिएका घाइतेलाई स्थानीय र प्रहरीको सक्रियतामा उद्धार गरिएको थियाे । घाइते पाँच जनालाई घटमुनाको सहरी स्वास्थ्य केन्द्रमा प्राथमिक उपचार पछि जिल्ला अस्पताल बाजुरा ल्याइएको छ ।


मृतकका आफन्तहरुका लागि गाउँपालिकाको टोली राहतसहित घटनास्थल पुगेको छ । घाइते तथा बिचल्लीमा परेका आफन्तका लागि गाउँपालिकाबाट तत्काल दाल, चामल, नुन, तेल, ओढ्ने ओछ्याउनेसहित त्रिपाल र भाडाकुँडा लिएर गाउँपालिकाको टोली घटनास्थल पुगेको उपाअध्यक्ष सिता थापाले बताइन् ।

स्वास्थ्यकर्मीको टोली घटनास्थलमा

पहिरोमा मृत्यु भएका आमाछोरीको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालबाट चिकित्सककाे टोली घटनास्थल पुगेको छ ।

पहिरो गएको ठाउँ जिल्ला अस्पताल बाजुराभन्दा ६ घण्टा पैदल दुरीमा भएकाले पोष्टमार्टम गर्न ल्याउन असहज हुँदा चिकित्सककाे टोली नै घटनास्थल पठाएको जिल्ला अस्पताल बाजुराका प्रमुख रुपचन्द्र विश्वकर्माले बताएका छन् । प्रमुख विश्वकर्माका अनुसार घटनास्थलमा पोष्टमार्टमका लागि चिकित्सक टीका राईको टोली पठाइएको छ ।

प्रकाशित : श्रावण १७, २०७६ १०:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?