२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६९

सत्तारूढ र विपक्षी दल लचिलो नहुँदा संसद् बैठक सर्‍यो

कान्तिपुर संवाददाता

काठमाडौँ — सत्ता र प्रतिपक्षले अडान नछाडेपछि प्रतिनिधिसभा बैठक बिहीबार पनि स्थगित भएको छ । सभामुख कृष्णबहादुर महराको अगुवाइमा संसद् भवनमा बसेको सर्वदलीय बैठकमा सहमति नजुटेपछि सूचना टाँस गरेर आगामी २० गतेसम्मलाई स्थगित गरिएको हो । 

सत्तारूढ र विपक्षी दल लचिलो नहुँदा संसद् बैठक सर्‍यो

कांग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) ले सर्लाहीमा चन्द समूहका जिल्ला इन्चार्ज कुमार पौडेलको हत्याका सम्बन्धमा संसदीय छानबिन समिति बनाउनुपर्नेलगायत माग राखेर प्रतिनिधिसभा अवरुद्ध गर्दै आएका छन् ।


सभामुखले सहमतिका लागि बोलाएको बैठक करिब २ घण्टा चले पनि सहमति जुट्न सकेन । संसद् सचिवालयले छलफलका लागि पर्याप्त समय दिने उद्देश्यले बैठक सञ्चालनमा हतार नगरिएको जनाएको छ । ‘हामीले संसदीय समिति बनाउनुपर्नेलगायत आफ्ना कुरा राख्यौं,’ कांग्रेस संसदीय दलकी सचेतक पुष्पा भुसाल गौतमले भनिन्, ‘सत्तापक्षले थप छलफल आवश्यक रहेको बताएपछि सहमति हुन सकेन । संसदीय समिति बनाएर प्रतिपक्षले मात्र छानबिन गर्ने होइन, मानव अधिकार उल्लंघन र व्यक्ति हत्याको विषयमा सबै मिलेर छानबिन गरौं भनेका हौं ।’


छलफलमा सत्तापक्षीय सांसदले पौडेल हत्याको विषय राज्यव्यवस्था समितिले हेरिरहेकाले संसदीय समिति गठनको आवश्यकता नरहेको धारणा राखेका थिए । सत्तापक्षका नेताहरूले राज्यव्यवस्थाले हेरेको विषयलाई फेरि संसदीय समिति बनाउन नहुने तर्क गरेका थिए । सत्तापक्षले समस्या समाधान गर्न वार्ता टोली बनाउने प्रस्ताव गरेको थियो । ‘वार्ता कोसँग केका लागि गर्ने प्रस्ट नभएपछि हामीले मानेनौं,’ भुसालले भनिन् । बैठकको अन्त्यमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले सदन खुलाएर प्रतिपक्षले राखेको मागमा छलफल जारी राख्दा राम्रो हुने प्रस्ताव गरेका थिए ।


उक्त प्रस्तावलाई कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले अस्वीकार गरे । उनले अहिले नै सदन चल्दा आफूहरू विरोधमा जाने भन्दै छलफलका लागि थप समय मागेका थिए ।


त्यसपछि सभामुख महराले तीन दिन समय राखेर सदन स्थगित भएको जानकारी बैठकलाई दिएका थिए । सर्वदलीय छलफलमा सत्तापक्षबाट उपप्रधानमन्त्री उपेन्द्र यादव, नेकपा संसदीय दलका उपनेता नेम्वाङ, प्रमुख सचेतक देव गुरुङ, समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईलगायत उपस्थित थिए । यसैगरी प्रतिपक्षतर्फ कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदार, मुख्य सचेतक बालकृष्ण खाँण, सचेतक पुष्पा भुसाल, सांसद मीनेन्द्र रिजाललगायत थिए ।

प्रकाशित : श्रावण १६, २०७६ १५:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?