बाढीपहिरो पीडित पहिचान गर्न नसक्दा हेलिकप्टरबाट ओसारेको राहत गोदाममै

डिल्लीराम खतिवडा

(उदयपुर) — प्रदेश १ सरकारले ताप्ली र लिम्चुङबुङ गाउँपालिकाका बाढीपहिरो पीडितका लागि हेलिकप्टरमार्फत पठाएको राहत सामग्री गोदामै थन्किएका छन् । पीडित पहिचान हुन नसक्दा राहत उपयोग हुन नसकेको हो ।

बाढीपहिरो पीडित पहिचान गर्न नसक्दा हेलिकप्टरबाट ओसारेको राहत गोदाममै

असार अन्तिमको वर्षासँगै आएको बाढीपहिरोले सडक अवरुद्ध भएपछि ताप्ली र लिम्चुङबुङमा खाद्यान्न अभाव भएको थियो । ढुवानीको उपाय थिएन । प्रदेश सरकारले राहतका लागि दाल, चामल, नुन र तेल पठाएको थियो । पीडित भोकै परेको भन्दै स्थानीय सरकारको आग्रहमा प्रदेश सरकारले सामान पठाएको थियो ।


गत बिहीबार र शुक्रबार संघीय सरकारले उपलब्ध गराएको हेलिकप्टरमार्फत प्रदेश सरकारले राहत पठाएको थियो । तर खाद्यान्न पुगेको ५ दिन बितिसक्दा पनि वितरण हुन सकेको छैन । राहत नपाउँदा पीडित भोकभोकै बस्नुपरेको छ ।


‘गाउँपालिकाले समयमै राहत उपलब्ध नगराउँदा पीडित भोकै बस्न बाध्य छन्,’ लिम्चुङबुङ गाउँपालिका २ ताम्लिछा टेकनपुरका ६३ वर्षीय जसबहादुर खत्रीले भने, ‘घरबाहिरविहीन भएकाहरू अर्काको घरमा आश्रय लिएर बसेका छन् ।’


राहत आएको भनिए पनि पीडितले पाउन नसकेको उनले बताए । प्रदेश सरकारले ताप्लीका लागि ३ हजार ९ सय किलो चामल, ५ सय ७० किलो दाल, २ सय ५० किलो नुन र तेल २ सय ५० लिटर पठाएको थियो । लिम्चुङबुङका ४ हजार १ सय १० किलो चामल, २ सय ५० किलो दाल, १ सय ५० किलो नुन र तेल १ सय ३० लिटर पठाएको विपत् व्यवस्थापन समितिका अध्यक्ष तथा गाउँपालिका प्रवक्तासमेत रहेका लिम्चुङबुङ ५ का वडाध्यक्ष केशर खड्काले बताए ।


‘पूरै राहत (दाल, चामल, नुन र तेल) आएको छैन, आएको राहतभन्दा माग्नेको संख्या धेरै भयो,’ खड्काले भने, ‘त्यसैले गाउँपालिकाभरि अनुगमन गरेर मात्रै वास्तविक पीडितलाई राहत उपलब्ध गराउने योजना छ ।’


अनुगमनको काम अझै केही दिन लाग्ने भन्दै उनले त्यसपछि मात्र वितरण हुने बताए ।

वैशाखदेखि असार तेस्रो सातासम्मको खडेरीले अन्नबाली नष्ट गरेको र त्यसपछि बाढी पहिरोले सडक अवरुद्ध गर्दा सर्वसाधारण चर्को समस्यामा परेपछि स्थानीय तहले प्रदेश सरकारको मद्दत मागेको थियो । प्रदेश सरकारलाई राहतका लागि सिफारिस गर्दा जिल्ला विपद् व्यवस्थापन समितिले ताप्ली ४ र लिम्चुम्बुङ गाउँपालिका ५७ परिवार विस्थापित भएको सिफारिस गरेको थियो ।


सडकमा क्षति पुगे पनि सर्वसाधारण भने जोखिममा नरहेको समितिको सिफारिसले देखाउँछ । समितिले पनि गाउँपालिकाको सिफारिसका आधारमा प्रदेशलाई जानकारी गराएको हो । तर राहत आएर गोदाममा थन्किएपछि पीडितको संख्या बढेको र राजनीति हुन थालेको सर्वसाधारणले गुनासो गरेका छन् ।


ताप्ली गाउँपालिकाले आएको राहत वडा–वडामा पठाउने निर्णय गरेको जानकारी दिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । ‘इमेलमार्फत आएको जानकारीमा वडाध्यक्षको संयोजकत्वमा सर्वदलीय समिति बनाएर राहत बाँड्नु भनिएको छ,’ प्रमुख जिल्ला अधिकारी ध्रुवबहादुर खड्काले भने, ‘तर लिम्चुङबुङ गाउँपालिककाले अहिलेसम्म कुनै जानकारी गराएको छैन ।’

प्रकाशित : श्रावण १५, २०७६ ०७:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?