कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६६

नेपालसँग व्यापारिक सम्बन्ध बढाउँदै तिब्बत

ताप्लेजुङ र संखुवासभा नजिकै घुम भन्ने स्थानमा नेपालसँग व्यापारका लागि तिब्बतले करिब २ सय घर निर्माण गर्दै

ताप्लेजुङ/संखुवासभा — पूर्वी नेपालको ताप्लेजुङ र संखुवासभाका लागि पायक पर्ने गरी तिब्बतले व्यापारिक केन्द्र निर्माण गरेको छ । घुम भन्ने स्थानमा करिब दुई सय घर निर्माणाधीन छन्, ती नेपालसँगको व्यापारकै लागि बनाइएको हो । 

नेपालसँग व्यापारिक सम्बन्ध बढाउँदै तिब्बत

ताप्लेजुङबाट गएका व्यापारी तथा फक्ताङलुङ गाउँपालिकाका प्रमुखसहितका पदाधिकारीलाई त्यहाँका अधिकारीले निर्माणाधीन केन्द्रको अवलोकन गराएका छन् । उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष दिनेश अधिकारीका अनुसार यो केन्द्रमा नेपालका ब्यापारी समेतले कारोवार गर्न सक्ने छन् । वाणिज्य संघका द्वितिय उपाध्यक्ष दावा शेर्पाका भने, ‘त्यहाँका सरकार प्रमुखले नेपालीले त्यहि बसेर व्यापार गर्नेलाई तीन वर्षसम्म भाडा नलिने र खानेबस्ने व्यवस्थासहितको प्रस्ताव गरेका छन् ।’


ताप्लेजुङ र संखुवासभा दुवै जिल्लाका लागि यो सुविधाको प्रस्ताव गरेका हुन् । पहिलो चरणमा एक जिल्लाका लागि दुई/दुई वटा भवन दिने र आवश्यकता अनुसार त्यसलाई थप गर्न सकिने तिब्बतका अधिकारीको बताएका छ । निर्माणाधीन व्यापारिक केन्द्रमा पुग्न टिप्ताला भञ्ज्याङ र किमाथांकाबाट समान ३५ किलोमिटर छ ।


नेपाल र चिनको ताप्लेजुङतर्फको सिमाना टिप्ताला भञ्ज्याङ र संखुवासभा र चिनको सिमाना किमाथांका हो । चीनले नेपालसँगका यी दुवै नाकासम्म सडक विस्तार गरिसकेको छ ।


टिप्ताला भञ्ज्याङबाट ओलाङचुङगोला वस्तिसम्म २४ किलोमिटर सडकपनि बिस्तार भएको छ भने किमाथांकाबाट संखुवासभा तर्फपनि १३ किलोमिटर सडक खनिएको छ । दुवै जिल्ला सदरमुकामसँग भने सडक जोडिन बाँकि रहेको छ । किमाथांका र ओलाङचुङगोला नाकावाट यसअघि देखिनै व्यापारिक कारोबार हुँदै आएको छ । चौरी र याकलाई बोकाएर र मान्छेले बोकेर सामान आयात तथा निर्यात हुँदै आएको छ ।

सडक जोडिने पत्तो छैन

तिब्बतले व्यापारिक केन्द्रको तयारी गरेपनि नेपालतर्फका सडक कहिले जोडिन्छ पत्तो छैन । यहि गतिमा काम गर्न सके ताप्लेजुङ तर्फको सडक यसै आर्थिक वर्षमा ट्रयाक खुल्ने उत्तर दक्षिण लोकमार्ग आयोजनाका प्रमख रामबहादुर गुरुङ बताउँछन् ।


उनका अनुसार ट्रयाक खोल्ने काम गरिरहेको एलाइट निर्माण कम्पनिले अहिले ओलाङचुङगोला तर्फबाट पनि निर्माणको प्रयास गरिरहेको छ । सदरमुकाम फुङलिङबाट सुकेटार हुँदै गएको सडकभने फक्ताङलुङ गाउँपालिका ६ लेलेपको लुङथुङसम्म पुगेको छ । ओलाङचुङगोला सम्मको ट्रयाक खोल्न अब २२ किलोमिटर मात्रै बाँकी छ ।


‘गोलाबाट १० र लेलेपबाट १२ किलोमिटर खोलेर यसै आर्थिक वर्षमा सक्ने प्रयासमा छौं,’ ठेकदार पेम्बा शेर्पाले भने, ‘हाम्रो निर्माण अवधि त दुई वर्षको छ तर द्विदेसीय सडक भएकाले सकेसम्म चाँडो काम गर्ने प्रयासमा छौं ।’ अहिले चार वटा स्काइभेटर मेशिन लगाएर लेलेपबाट विस्तार गरिरहेको उनले बताए । मेशिन तिब्बत घुमाएर ल्याउने तयारीमा ठेकदार लागेका हुन् । उनीहरुले तिब्बतसँग तेल किन्न र मेशिन भाडामा पनि प्रस्ताव गरेका छन् ।


संखुवासभाबाट अब १४ किलोमिटर ट्रयाक खोल्न बाँकी छ । उत्तर दक्षिण कोशी सडक आयोजनाका अनुसार १ सय ६२ किलोमिटर मध्ये बाँकी सडक ढुङगा अधिक भएको ठाउँमा खोल्नुपर्छ । अप्ठेरो र विकट भएकाले समय लाग्नसक्ने आयोजनाले जनाएको छ । ताप्लेजुङ तर्फको तिब्बतदेखि गोलासम्मको सडक ओलाङचुङगोलामा जन्मेर देश विदेसमा रहेका वालुङहरुको लगानीमा खनिएको हो । स्थानीय आफैंले गरेको लगानी गरेर बस्तिमा जोड्न लागेका हुन् । यसलाई पनि विस्तार गर्नुपर्ने र पुल बनाउनु पर्ने, ग्राभेलिङ गर्नुपर्ने जस्ता काम बाँकी रहेका छन् ।


नेपाल सरकारले औपचारिक आग्रह गरे तिब्बतले सडक विस्तार तथा स्तरोन्नतीमा पनि सहयोगको प्रस्ताव गरेको फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् । ‘आफूले कामगर्दा कसैले अवरोध नगरोस् भन्ने प्रतिबद्धता पनि उनीहरु चाहन्छन्,’ छेतेनले भने, ‘सरकारले प्रस्ताव गरे सडक निर्माण गर्छौ भनेर पनि अनौपचारिक र औपचारिक कार्यक्रम समेतमा भन्ने गरेका छन् ।’

प्रकाशित : श्रावण १४, २०७६ १५:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?