१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

कर्णाली राजमार्गमा पहिरोले सधैं सास्ती

दैखोला, पिली र ताडीमा पहिरो खस्ने समस्या बढी छ 

सुर्खेत — कर्णाली राजमार्गअन्तर्गत कालिकोट खण्डको कालेखोलामा पहिरो जाँदा यातायात अवरुद्ध भएको छ । शनिबार रातिदेखि गएको पहिरो अझै पन्छाइएको छैन ।

कर्णाली राजमार्गमा पहिरोले सधैं सास्ती

कालेखोला पुलनजिकै खसेकोले पहिरोले पैदल हिँड्न पनि मुस्किल छ । डिभिजन सडक कार्यालय जुम्लाका इन्जिनियर श्रवणकुमार महताराले ३० मिटर लामो पहिरो खसेको बताए । पहिरोले सडक अवरुद्ध भएपछि सुर्खेत–नेपालगन्जबाट आएका र मुगु, जुम्ला तथा कालिकोटबाट त्यतातिर जाने करिब सय बस/ट्रक बाटोमै अलपत्र परेका छन् । कालिकोटका डीएसपी विनोद शर्माले पहिरो पन्छाउन स्काभेटर आए पनि तत्काल खुल्न सक्ने अवस्था नरहेको बताए ।

दुई दिनअघि कालिकोट खण्डकै गगनेखोलामा पहिरो जाँदा दुई दिनसम्म सडक अवरुद्ध भएको थियो । कालेखोलामा त चट्टानै खसेको थियो । लामो समयसम्म सडक अवरुद्ध नहोस् भनेर कालिकोट र दैलेखमा स्काभेटर तयारी अवस्थामा राखिएको इन्जिनियर महताराले बताए । कर्णाली राजमार्गको दैखोला, पिली र ताडीमा पहिरो खस्ने समस्या बढी छ । टाकुल्लाखोलामा निर्माणाधीन पुल ७ वर्षदेखि अलपत्र हुँदा बर्खामा थप सास्ती हुने गरेको छ ।

नाग्म–गमगढी पनि अवरुद्ध

कर्णाली राजमार्गअन्तर्गत मुगु जोड्ने गमगढी–नाग्म सडक पनि पहिरोले अवरुद्ध भएको छ । मुगुको सातमोड क्षेत्रमा पहिरोले रुख ढालेर सडक अवरुद्ध भएको हो ।

शनिबार रातिदेखि पहिरो जाँदा जिल्लाबाहिर जाने र जिल्लामा आउने सवारीसाधन बीचमै अलपत्र परेका छन् । रारा–छायाँनाथ यातायात प्रालिका रोड इन्चार्ज खगेन्द्र हितानले पहिरो नपन्छाएसम्म सवारी चल्न नसक्ने बताए । उनका अनुसार पहिरो र रुख पन्छाउन स्काभेटर आवश्यक पर्छ ।

डिभिजन सडक कार्यालयका इन्जिनियर श्रवणकुमार महताराले शनिबार पिनाखोलाको पहिरो पन्छाएर सडक खुलाउने काम भइरहेको बताए । असार लागेसँगै झरीले हिलाम्मे हुँदा गमगढी–ताल्चा ९ किलोमिटर सडक पनि अवरुद्ध छ । गमगढी बजार नजिकै जुम्ला मन्दिरभन्दा मुनितिरको १२ मिटर सडक अत्यन्तै जोखिममा छ ।


पुल निर्माण अलपत्र

कर्णाली राजमार्गको सुर्खेत–जुम्ला सडकमा निर्माणाधीन पुल समयमै नबन्दा बर्खामा सास्ती हुने गरेको छ । त्यसमाथि विभिन्न ठाउँमा पहिरो जाँदा सडक अवरुद्ध हुने गरेको छ ।

०६८ यता राजमार्गमा २५ वटा पुल निर्माणको लागि सम्झौता भएका छन् । तर, अधिकांश पुल अधूरै छन् । कालोसूचीमा पर्नबाट बच्न बिभिन्न बहाना देखाएर म्याद थपिइरहेका छन् । कर्णाली राजमार्गको कुवाखोला, कालेखोला, पालतडा, कानेखोला, दहीखोला, पातलेखोला, मट्टेखोला, रतिखोला, छेडाखोला, लोहाखोलामा पुल निर्माणाधीन छन् ।

राजमार्गमा १५ वटा पुल निर्माणको जिम्मा लिएको रसुवा/इलाइट/सूर्य जेभीले अधिकांश पुलको गलत डिजाइन भएका कारण तोकिएको समयमा काम सम्पन्न गर्न नसकिएको बताएको छ । कम्पनीका प्रतिनिधि दीपक खडाले डिजाइन फेल हुँदा रतिखोलाको पुल निर्माण हुन नसकेको बताए । उनका अनुसार डिजाइनजरजे दिएको नक्सा र विश्व बैंकको मापदण्डअनुसार नहुँदा काम रोकिएको हो । ‘हामीलाई काम समयमा गरेन भनेर आरोप लगाइन्छ, तर सरकारी निकायले गलत डिजाइन दिँदा समस्या भइरहेको छ,’ उनले भने ।

डिभिजन सडक कार्यालय सुर्खेतका इन्जिनियर देवेन्द्र भट्टराईले धेरैजसो पुल निर्माणको काम एउटै कम्पनीले लिँदा काममा ढिलाइ भएको बताए । रतिखोलामा भने ‘जियोलोजिकल’ समस्या रहेको उनले बताए । दैलेख, कालिकोट र जुम्ला खण्डमा पक्की पुल निर्माणको जिम्मा लिएका बिभिन्न ११ कम्पनीका सञ्चालक सम्पर्कविहीन छन् । विश्व बैंकले गत आर्थिक वर्षमा राजमार्गमा निर्माणाधीन पुलको लागि ७६ करोड रुपैयाँ दिएको थियो ।

तुलाराम पाण्डे (कालिकोट), ज्योति कटुवाल (दैलेख) र राजबहादुर शाही (मुगु)

प्रकाशित : श्रावण १३, २०७६ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?