कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

प्रदेश २ ले माग्यो २५ अर्ब

सन्तोष सिंह

धनुषा — प्रदेश २ सरकारले बाढी र डुबानबाट पीडितलाई राहत र क्षतिग्रस्त संरचना पुनर्निर्माणका लागि संघीय सरकारसित २५ अर्ब रुपैयाँ माग गरेको छ । मुख्यमन्त्री लालबाबु राउतले आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेरै बाढीबाट प्रदेशमा भएको क्षतिबारे जानकारी गराउँदै बजेट माग गरेका हुन् । 

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा मुख्यमन्त्री राउतले प्रधानमन्त्री ओलीलाई बाढीबाट प्रदेश २ मा ३७ जनाभन्दा बढीको मृत्यु भएको र हजारौं परिवार घरबारविहीन भएको ब्रिफिङ गरेका थिए ।


उनले विस्थापित परिवारको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमा विशेष जोड दिन प्रधानमन्त्रीसित आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिनभित्रै आफूले बाढी प्रभावित क्षेत्र भ्रमण गर्ने र सहयोग गर्ने आश्वासन दिएका छन् ।


मुख्यमन्त्री राउतसँगै काठमाडौं पुगेका आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले बाढीपीडितलाई राहत र संरचना पुनर्निर्माण प्रदेश सरकारबाट सम्भव नरहेकाले संघीय सरकारलाई सहयोग मागिएको बताए । ‘संघीय सरकारसँग दीर्घकालीन रूपमा बाढी नियन्त्रणको प्याकेजसमेत मागेका छौं,’ मन्त्री यादवले भने, ‘संघीय सरकारसँग चुरे संरक्षण र भारतीय बाँधले हुने डुबानबारे समेत छलफल भएको छ ।’


प्रधानमन्त्रीसँगको भेटमा नदीको बाँध तत्काल मर्मत गर्ने, भत्केको घर पुनर्निर्माण गर्ने, क्षतविक्षत सडक मर्मत गरी बाढी र डुबानको दीर्घकालीन समाधान खोज्ने विषयमा छलफल भएको मन्त्री यादवले जानकारी दिए ।


भेटमा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानुनमन्त्री यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल र नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहभागी थिए ।

प्रकाशित : श्रावण १३, २०७६ ०७:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?