प्रदेश २ का मुख्यमन्त्रीसहितको टोली र प्रधानमन्त्रीबीच भेट, बाढी प्रभावितको अवस्था बारे जानकारी

सन्तोष सिंह

जनकपुर — प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतसहितकाे टोलीले बाढीबाट भएको क्षति बारे प्रधानमन्त्री केपी शर्मा ओलीलाई जानकारी गराएका छन् । मुख्यमन्त्री नेतृत्वमा प्रदेश २ बाट गएको सर्वदलीय टोलीले आइतबार बिहान प्रधानमन्त्री ओलीलाई बाढी र डुबानबाट भएको क्षतिबाट जानकारी गराएको हो । 

प्रदेश २ का मुख्यमन्त्रीसहितको टोली र प्रधानमन्त्रीबीच भेट, बाढी प्रभावितको अवस्था बारे जानकारी

प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा मुख्यमन्त्री राउतले बाढीबाट प्रदेशमा सार्वजनिक र नीजि अर्बौ बराबरको क्षति भएको, ३७ जना भन्दा बढीको मृत्यु भएको र हजारौं परिवार घरबारविहीन भएको जानकारी गराएका छन् ।


बाढीबाट भएको क्षतिको परिपूर्ति प्रदेश सरकारबाट सम्भव नरहेकोले विस्थापितहरुको पुनर्वास र पुनर्निमाणको लागि संघीय सरकारलाई सहयोग मुख्यमन्त्री राउतले आग्रह गरे ।


मुख्यमन्त्री राउतले विस्थापित परिवारहरुको पुनर्वास, नदी नियन्त्रण र सडक मर्मतमाथि विशेष जोड आग्रह गरेका छन् । प्रधानमन्त्री ओलीले केही दिन भित्रै आफू पनि बाढी प्रभावित क्षेत्रको भ्रमण गर्ने र आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।


भेटमा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री मातृकाप्रसाद यादव, प्रदेश २ का भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोनल, आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादव, नेकपा संसदीय दलका नेता सत्यनारायण मण्डल, नेपाली कांग्रेस संसदीय दलका नेता रामसरोज यादव सहभागी थिए ।

प्रकाशित : श्रावण १२, २०७६ १२:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?