लिम्चुङबुङमा खाद्यान्न लैजान मौसम बाधक

कान्तिपुर संवाददाता

उदयपुर — खराब मौसमले हेलिकप्टर अवतरण हुन नसक्दा प्रदेश १ सरकारले पठाएको खाद्यान्न बिहीबार दुर्गम लिम्चुङबुङ गाउँपालिकामा पुर्‍याउन सकिएन । त्यहाँ लैजान नसकिएपछि उक्त खाद्यान्न ताप्ली गाउँपालिका लगिएको छ ।

लिम्चुङबुङमा खाद्यान्न लैजान मौसम बाधक

विराटनगरबाट लिम्चुङबुङका लागि उडेको हेलिकप्टर खराब मौसमका कारण ताप्लीको रूपाटारमा अवतरण गराएको प्रहरी उपरीक्षक वीरबहादुर बुढामगरले बताए । उनका अनुसार लिम्चुङबुङका लागि लैजान विराटनगर विमानस्थलमा हेलिकप्टर तयारी अवस्थामा छ ।


प्रदेश १ सरकारले लिम्चुङबुङ र ताप्ली गाउँपालिकामा बिहीबार खाद्यान्न पठाएको हो । पहिरोले सडक थुनिएर ढुवानी हुन नसक्दा ती गाउँमा खाद्यान्न संकट चुलिएको थियो । गाउँपालिकाले असार ३१ गते ‘संकटग्रस्त’ घोषणा गर्दै सहयोग आहवान गरेको थियो ।

प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिको बुधबारको निर्णयअनुसार चामल ८ हजार १० किलो, रहर दाल १ हजार ९ सय ९५ किलो, नुन ५ सय किलो र खाने तेल ५ सय लिटर पठाइएको छ । विराटनगर विमानस्थलबाट प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री हिक्मत कार्कीले सेनाको हेलिकप्टरमा खाद्यान्न पठाएका हुन् ।


उक्त हेलिकप्टरले एकपटकमा २ हजार १० किलो चामल, १ सय ८० किलो रहर दाल, १ सय २० किलो नुन र १ सय २० लिटर

खाने तेल बोकेको छ । ताप्ली र लिम्चुङबुङमा दुई–दुईपटक ढुवानी गरिने मन्त्री कार्कीले बताए । लिम्चुङबुङ गाउँपालिकाका अध्यक्ष मेजरकुमार राईका अनुसार गाउँपालिका जोड्ने गाईघाट–लिम्चुङबुङ–हलेसी, कटारी–बेतेनी–इनामे–लिम्चुङबुङ र गाईघाट–फाक्सिङटार–लिम्चुङबुङ गरी ३ वटै सडक वर्षाले क्षतिग्रस्त छ । उक्त भेगका ६ हजारभन्दा बढी जनसंख्या प्रभावित भएको उनको भनाइ छ ।


मन्त्री कार्कीले क्षतिग्रस्त सडक एक साताभित्र मर्मत र ट्र्याक खोली सञ्चालनमा ल्याउन प्राविधिकलाई निर्देशन दिइसकिएको बताए ।

प्रकाशित : श्रावण १०, २०७६ ०८:१५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?