३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

समाजवादको नयाँ मोडेल नेपालले विकास गर्नुपर्छ : दाहाल

विपिन श्रीस

काठमाडौँ — नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले २१ औं शताब्दीमा सामाजिक न्याय र सबैले उपभोग गर्न पाउने समृद्धिसहितको समाजवादको नयाँ मोडेल (नमुना) नेपालले प्रस्तुत गर्नुपर्ने बताएका छन् । नेकपाका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित श्रद्धाञ्जली सभालाई सम्बोधन गर्दै अध्यक्ष दाहालले भने, ‘सगरमाथाको उचाइ भएको यो देशबाट २१ औँ शताब्दीमा समाजवादको एउटा नयाँ धारा, एउटा नयाँ मोडेल विश्वलाई दिन सकिन्छ, सक्नुपर्दछ ।’

समाजवादको नयाँ मोडेल नेपालले विकास गर्नुपर्छ : दाहाल

समाजवादको नयाँ मोडेल निर्माण गर्न नेपाल कम्युनिष्ट पार्टीलाई अवसर प्राप्त भएको अध्यक्ष दाहालको भनाइ छ । ‘पार्टी एकता सुदृढ गरी सरकारको काम प्रभावकारी बनाएर गुणात्मक ढंगले जनताको मन जितेर मात्रै त्यो अवसर पुरा गर्न सकिन्छ’, उनले भने ।


अध्यक्ष दाहालले मानवजातीको भविष्य समाजवादमा मात्रै रहेको दाबी गरे । ‘अहिले संसारमा धनी र गरिबको खाडल झन् फराकिलो भएको छ । गरिबीको दुष्चक्रमा अर्बौ मानिसहरु पिल्सिएका छन् । यो परिस्थितिमा मानवजातीको भविष्य भनेको समाजवादमा मात्रै छ ।’


सामाजिक न्यायबिनाको केही मान्छे धनी हुने र बहुसंख्यक गरिब हुने प्रणालीले मानव जातीको कल्याण गर्नै नसक्ने दाहालको जिकिर छ । ‘सामाजिक न्यायबिना केही मान्छेहरु मात्रै धनी हुने र बहुसंख्यक गरिब हुने सिस्टमले मानव जातीको कल्याण गर्नै सक्दैन ।’


सरल, पारदर्शी, इमानदारिता र स्वभाविकता नरबहादुर कर्माचार्यको विशेषता भएको उल्लेख गर्दै अध्यक्ष दाहालले अहिले राजनीतिक आन्दोलन र कम्युनिष्ट आन्दोलनमा पनि धेरै किसिमका विसंगतीहरु देखा परेको बताए । ‘त्यसका विरुद्ध पनि संघर्ष गर्नुपर्छ’, उनले भने । उनले भदौबाट नेकपाले राष्ट्रिय अभियान थाल्ने पनि बताए ।


दाहालले जनयुद्ध गर्न नरबहादुर कर्माचार्यले प्रेणित गरेको पनि सुनाए । उनले भने, ‘नरबहादुर कर्माचार्यको घरमा बसेर नै जनयुद्धको तयारी गरेका हौं ।’

प्रकाशित : श्रावण ९, २०७६ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?