कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८१

दोर्दीमा बाढी : भेटिएका चारैवटा शवको सनाखत, बेपत्ता ६ जनाको खोजी जारी, ८ जनाको उपचार हुँदै (अपडेट)

आश गुरुङ

लमजुङ — दोर्दीखोलामा बुधबार दिउँसो एक्कासी आएको बाढीले बगाउँदा मृत्यु भएका चारै जनाको सनाखत भएको प्रहरीले बताएको छ । बाढीले बगाएका २ जनाको शव दोर्दी गाउँपालिका–४, नौथर शेरामा भेटिएको थियो भने शेरा नजिकै एउटा र कीर्तिपुर बेंसीमा एउटा शव भेटिएको थियो।

दोर्दीमा बाढी : भेटिएका चारैवटा शवको सनाखत, बेपत्ता ६ जनाको खोजी जारी, ८ जनाको उपचार हुँदै (अपडेट)

उनीहरु बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिकाका अन्दाजी ३५ वर्षीय सइद अन्सारी र पर्सा जिल्ला पोखरिया नगरपालिकाका अन्दाजी बर्ष ३० शिवधुन चौधरी रहेको प्रहरीले बताएको छ । शेराभन्दा माथि भेटिएकाको शव सप्तरी जिल्ला सप्तकोशी नगरपालिका–८ का अन्दाजी ५० वर्षीय भुवनेश्वर चौधरीको र कीर्तिपुर बेसीमा भेटिएका १ जना डडेल्धुराको आलिताल गाउँपालिका ६ का अन्दाजी ३५ वर्षीय रमेश बुढा रहेको जिल्ला प्रहरी कार्यालयका निरिक्षक बसन्त पाण्डेले बताए । उनीहरुको बेंसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालमा पोष्टमार्टम भइरहेको छ ।


दोर्दीखोलामा निर्माणाधिन २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको हेडवर्क्समा डिसेन्डर बनाउँदै गरेका कामदारलाई दोर्दीको बाढीले बगाएको प्रहरीले बताएको छ । बगाएर ल्याएको शवलाई निर्माणस्थलबाट करिब ८ किलोमिटर तल नौथर शेरामा २ शव, ७ किलोमिटर तल शेरा नजिकै एउटा र ४ किलोमिटर तल कीर्तिपुर बेंसीमा एउटा शव भेटिएको थियो ।


डीएसपी रबिन्द्रमान गुरुङका अनुसार बेपत्ता ६ जनाको खोजी भइरहेको छ । उद्धार गरिएका ८ घाइतेको लमजुङ जिल्ला सामुदायिक अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ । बेपत्ताको बिहानैदेखि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी, जलविद्युत आयोजना, जनप्रतिनिधि र स्थानीयले खोजी थालेका छन् ।


दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले बेपत्ताको खोजीखार्य भइरहेको बताए । माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको प्रवर्द्धक टिबर्टी इनर्जी कम्पनीका संचालक राजेन्द्र वस्तीले बाढीले धनजनको क्षति पुर्‍याएको बताए । जलविद्युत आयोजनामा क्षति पुर्‍याएपनि पहिले उद्दार र खोजीमा लागेको उनले बताए ।


दोर्दीखोलाको मुहानतिर पहिरो गएर थुनिन गई एक्कासी बाढी आएको हुनसक्ने अनुमान गरिएको छ । तर, यसको कारण यही हो भनेर पत्ता लगाउन नसकिएको प्रमुख जिल्ला अधिकारी डा. डिजन भट्टराईले बताए ।

प्रकाशित : श्रावण ९, २०७६ १३:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?