कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५३

भारतको बाटो हुँदै राहत

शाहीमान राई

इनर्वा, धनुषा — बाढीले बढी क्षति पुर्‍याएको धनुषाको सुदूरपूर्वी गाउँमा राहत पुर्‍याउन कठिन भएको छ । बाढीले कमला नगरपालिका र जनकनन्दनी गाउँपालिकातर्फ जाने सडक, पुल, कल्भर्ट भत्किएपछि राहत वितरण गर्न भारतको बाटो हुँदै जानुपर्ने भएको छ । 

डुबानमा परेको जनकनन्दनी गाउँपालिका–१ इनर्वामा सबैभन्दा बढी क्षति पुगेको छ । यहाँ ९५ घर विस्थापितमध्ये ७५ घर दलित मुसहर जाति छन् । त्यस ठाउँमा राहत पुर्‍याउन भारतीय भूमि जटही–जयनगर हुँदै जानुपर्छ ।


जनकनन्दनीको वडा नं २ बलाहागोठ ९३ घर, वडा नं ३ प्रखे महुवामा ८, वडा नं ४ खजुरी चन्हामा २६ घर, वडा नं ५ पतनुकामा १२ घर र वडा नं ६ को बलाहाकठालमा ६ घर गरी दुई सय ४० घरपरिवार पूर्ण रूपमा विस्थापित छन् । ग्रामीण पुनर्निर्माण नेपाल (आरआरएन) का जिल्ला संयोजक खरभूषण साहले भारतीय बाटो हुँदै इनर्वाका गरिब, दलित, विपन्न समुदायका विस्थापितलाई राहत सामग्री बाँडेको बताए ।


विस्थापितलाई रेडक्रसलगायत विभिन्न गैरसरकारी संघसंस्थाले राहत वितरण गरे पनि पर्याप्त नभएको बाढीपीडितले गुनासो गरेका छन् । राहत वितरण गर्दा राहत लिन आउने पीडित घरपरिवारको संख्या अत्यधिक हुने भएकाले व्यवस्थापन गर्न कठिनाइ हुने गरेको छ ।


जनकनन्दनी गाउँपालिकामा बाढीपीडितलाई भेट्न पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा केही दिनअघि हेलिकप्टरमा पुगेका थिए । यसबाहेक प्रदेश सरकार, स्थानीय प्रशासनलगायत सरकारी निकाय, गैरसरकारी संस्थाका कोही प्रतिनिधिसमेत स्थलगत निरीक्षणमा नपुगेको गाउँपालिका उपाध्यक्ष भारती कार्कीले बताइन् ।


उपाध्यक्ष कार्कीका अनुसार जनकनन्दनी वडा नं १ इनर्वामा एक सय ४७ घर, २ बलाहागोठमा ६६ घर, ३ प्रखे महुवामा १२ घर, ४ खजुरी चन्हामा ८ घर, ५ पतनुकामा एक घर र ६ को बलाहाकठालमा ६ घर गरी दुई सय ४० घर पूर्ण रूपमा क्षति भएको छ ।


प्रारम्भिक तथ्यांकअनुसार इनर्वामा एक सय ३४ घर, बलाहागोठ २ सय ८३ घर, प्रखे महुवामा २ सय ४३ घर, खजुरी चन्हामा ५६ घर, पतनुकामा ३१ घर र वडा नं ६ को बलाहाकठालमा ३४ घर गरी ७ सय ८१ घर आंशिक क्षतिको सूचीमा राखिएको छ । त्यस्तै दुई करोड ७१ लाख ४७ हजार ६ सय रुपैयाँ खाद्यान्न र पशुपन्छी क्षति भएको गाउँपालिका प्रमुख प्रशाकीय अधिकृत कुलानन्द झाले बताए ।


गाउँपालिकाले तत्काल विस्थापित घरपरिवारका निम्ति मात्र राहत उपलब्ध गराउने निर्णय गरी सरकारी तथा गैरसरकारी संघसंस्थालाई त्यहीअनुसार बाँड्न लगाइएको उपप्रमुख कार्कीले बताइन् । ‘राहतमा गरिब, विपन्न, असहाय परिवारलाई प्राथमिकतामा राखिएको छ,’ उनले भनिन्, ‘पूर्ण क्षति भए पनि किनेर खाने अवस्था भएकालाई दोस्रो प्राथमिकतामा राखेका छौं ।’


धनुषामा जनकनन्दनी गाउँपालिकापछि वर्षा बाढीले सबैभन्दा बढी मुखियापट्टी मुसहरनिया गाउँपालिकामा क्षति पुर्‍याएको छ । मुखियापट्टी मुसहरनियामा एक सय ३६ घरपरिवार पूर्ण र ८ सय ८८ घर आंशिक गरी एक हजार २४ घरपरिवारमा क्षति भएको जिल्ला प्रशासन कार्यालय धनुषाका प्रशासकीय अधिकृत गणेश मिश्रले बताए ।


धनुषाको एक उपमहानगरपालिका, १२ वटा नगरपालिका र ५ वटा गाउँपालिका गरी १८ वटा स्थानीय तहमा एक हजार ७ सय ५३ घरमा पूर्ण रूपमा क्षति पुगेको छ । बाढीले जिल्लामा ६ जनाको मृत्यु भएको छ ।

प्रकाशित : श्रावण ९, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?