कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६७

बैतडीको गोकुलेश्वर कलेजमा विद्यार्थी संगठन तथा स्ववियु ‘खारेज’, शैक्षिक संस्थामा राजनीतिक संगठनको औचित्यबारे बहस सुरु

विश्वविद्यालयमा विद्यार्थी संगठन कहिलेसम्म ?
संगठन शुद्धीकरणभन्दा भ्रष्टीकरणतिर : त्रिवि
गणेश राई

काठमाडौँ — बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठन र स्ववियु खारेज गरेको सूचना सार्वजनिक गरेपछि शैक्षिक संस्थामा राजनीतिक संघ/संगठनको औचित्यबारे बहस सुरु भएको छ ।  

बैतडीको गोकुलेश्वर कलेजमा विद्यार्थी संगठन तथा स्ववियु ‘खारेज’, शैक्षिक संस्थामा राजनीतिक संगठनको औचित्यबारे बहस सुरु

विद्यार्थी संगठनबीच हुने झैंझगडाले शैक्षिक वातावरण बिथोलिएपछि विद्यार्थीकै सहमतिमा बैतडीको कलेजले स्ववियुसमेत खारेज गर्ने निर्णय गरेको हो । संघ/संगठनले नै आआफ्नो लेटरहेडमा निवेदन दिएकाले कलेज सञ्चालक समितिको बैठकको निर्णयानुसार कलेजमा दर्ता भएका राजनीतिक पार्टीसँग आबद्ध संघसंगठन (नेविसंघ, अनेरास्ववियु) र स्ववियु खारेज गरिएको कलेजले जनाएको छ ।

कलेज प्रमुख परमानन्द जोशीले जारी गरेको सूचनाअनुसार कलेजमा दर्ता भएका राजनीतिक पार्टी आबद्ध विद्यार्थी संघ, संगठनहरू (नेविसंघ, अनेरास्ववियु) आपसमा झैंझगडा, कुटपिट गर्नाले कलेजको शैक्षिक वातावरण अशान्त बन्ने र संघ/संगठनमा आबद्ध विद्यार्थीहरू नै असुरक्षित रहने अवस्था रहेको भन्दै खारेजीका लागि उनीहरूले निवेदन दिएका थिए ।

शिक्षाविद् विद्यानाथ कोइराला बैतडीको गोकुलेश्वर कलेज प्रमुखले आफूखुसी सूचना जारी गरे कि विद्यार्थी संगठनकै मन्जुरीमा गरे भन्नेमा शंका व्यक्त गर्छन् ।

‘अन्तर्राष्ट्रियस्तरमै कुनै विश्वविद्यालयमा राजनीतिक दलको भ्रातृसंगठनका रूपमा विद्यार्थी रहँदैनन्,’ कोइरालाले भने, ‘विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन विद्यार्थीका मुद्दामात्र उठाउने निकाय हो । दलीय विद्यार्थी संगठन हुने र त्यसैले स्ववियु कब्जा गरेर स्वार्थसिद्ध गर्ने नेपालमा मात्रै हो । यहाँ स्ववियुको खोलभित्र पार्टीको मुद्दा छिराउने गरिन्छ ।’

उनले स्ववियु राख्ने हो भने दलीय नभई मुद्दाका आधारमा हुनुपर्नेमा जोड दिए ।

विद्यार्थी संगठन नै निष्क्रिय

२०३६ सालमा त्रिभुवन विश्वविद्यालयमा स्वतन्त्र विद्यार्थी युनियन गठन भएपछि हरेक क्याम्पसमा विद्यार्थी संघ/संगठन क्रियाशील हुँदैआएका छन् । राजनीतिक पार्टीको भ्रातृसंगठनका रूपमा विद्यार्थी संगठित हुँदैआएका छन् । नेपाल विद्यार्थी संघ (नेविसंघ), अनेरास्ववियु (अखिल), राप्रविसंघ, नेक्राविसंघ, मधेसी विद्यार्थी फ्रन्टलगायत दलैपिच्छे विद्यार्थी संगठन क्रियाशील छन् ।

नेपालको राजनीतिक परिवर्तनका संवाहक मानिने ती संगठनहरू पछिल्लो समय निष्क्रियझै छन् ।

विद्यार्थी संगठनहरू स्ववियु चुनाव नियमित हुनुपर्ने अडानमा छन् । कांग्रेसको भ्रातृसंगठन नेविसंघ पाँच महिनादेखि नेतृत्वविहीन छ ।

‘पहिलेको संरचनाअनुसार कतिपय जिल्ला समिति र क्याम्पस इकाइ समिति अस्तित्वमा छन्,’ नेविसंघ केन्द्रीय कार्यसमितिका निवर्तमान वरिष्ठ उपाध्यक्ष पुष्पकुमार शाही भन्छन्, ‘स्ववियु मिनी पार्लियामेन्ट हो । तर हुन सकेन । हामी आगामी दिनमा पुनः स्ववियु चुनाव हुनुपर्नेमा कटिबद्ध छौं । लोकतन्त्रको मेरुदण्ड भनेकै निर्वाचन हो ।’

२०५७ सालसम्म नियमित स्ववियु चुनाव भयो । त्यसपछि माओवादीको सशस्त्र द्वन्द्व र जनजाति विद्यार्थीको आन्दोलनका कारण स्ववियु चुनाव नियमित हुन सकेन । सेमेस्टर सिस्टमले पनि विद्यार्थी राजनीति कम भएको शाहीको ठम्याइ छ ।

एमाले र एमाओवादीबीच एकीकरण भए पनि अनेरास्ववियु र अखिल (क्रान्तिकारी) बीच एकता हुन बाँकी छ । एकतापछि स्थापनाकालीन नाम ‘अनेरास्ववियु’ कायम गर्ने सहमति भएको छ । मातृ पार्टी नेकपाले अनेरास्ववियुको संयोजक ऐन महर र सहसंयोजक रन्जित तामाङ तोकेको छ । तर केन्द्रीय कमिटी एकीकरण भएको छैन ।

‘पार्टीले चाँडै विद्यार्थी एकीकरण प्रक्रिया टुंग्याउने आशामा छौं,’ साविक अखिल (क्रान्तिकारी) का पूर्वउपाध्यक्ष सुरेन्द्र बस्नेत भन्छन्, ‘स्ववियु आउँदो फागुनमा रुटिनअनुसार गराउनैपर्छ । त्रिविलगायत अन्य विश्वविद्यालयमा पनि हुनुपर्छ भन्ने पक्षमा छौं ।’ कतिपय क्याम्पसमा स्ववियुको अस्तित्व जोगाउन म्याद थप्न लगाइएको समेत उनले जनाए ।

६ वटा मधेसवादी दल एकतापछि राजपा बने पनि त्यही पार्टी निकट विद्यार्थी संगठन एकीकृत नामसहित अघि बढ्न सकेका छैनन् । नेपाल मजदुर किसान पार्टीनिकट नेक्राविसंघ भक्तपुर जिल्लामै सीमित छ । अखिल (पाँचौं), अखिल (छैटौं) संगठन अस्तित्वमा छन्/छैनन् भन्ने स्थिति छ । समाजवादी फोरम र नयाँ शक्ति पार्टी एकीकृत भएपछि तिनका विद्यार्थी संगठन एकीकृत हुन सकेको छैन । राप्रपा नामका पार्टीहरूका फरकफरक विद्यार्थी संगठनहरूको स्थिति उस्तै छ ।

त्रिवि सबै दल र विद्यार्थी संगठनले राजनीतिक अभ्यास गर्ने मुख्य थलो हो । त्रिविले विद्यार्थी संगठनहरूकै सहमतिमा स्ववियु निर्वाचनमा उम्मेदवार हुने विद्यार्थीको उमेरहद २८ वर्ष हुने नीति पारित गरेको छ । हरेक दुई वर्षमा हुने स्ववियु चुनाव गत फागुनमा हुन सकेन । विश्वविद्यालय नेतृत्वले स्ववियु आवश्यक ठानेको छैन ।

‘किनभने विद्यार्थी संगठनले शुद्धीकरणभन्दा भ्रष्टीकरणलाई बढी प्राथमिकता दिन्छन्,’ त्रिविका एक प्रशासकले भने, ‘प्रशासनिक अल्झो र बाधा पुर्‍याउँछन् । विद्यार्थीको हितमा भन्दा संगठनको कुरालाई लिएर अनावश्यक झन्झट निम्त्याउँछन् ।’


के हो स्ववियु ?

स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीको सेवा, सुविधा, अतिरिक्त क्रियाकलापलाई सुचारु राख्ने विद्यार्थी निकाय हो । ‘स्ववियु अध्ययनरत विद्यार्थीको हितमा काम गर्ने प्रेसर ग्रुप हो,’ त्रिवि विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालय प्रमुख गंगाबहादुर मगर भन्छन्, ‘स्ववियु कुनै पार्टी विशेष संगठनहरूको छाता संगठन होइन ।’

स्ववियुले विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक, भौतिक, नैतिक वातावरणलाई सन्तुलित राख्ने काममा प्रतिनिधित्व गर्छ ।

त्रिविमा स्ववियु अस्तित्वमा आएका बेला पञ्चायती व्यवस्था थियो । पञ्चायत समर्थक विद्यार्थीको राष्ट्रिय स्वतन्त्र विद्यार्थी मण्डल सशक्त थियो । त्यसको प्रतिवाद गर्ने सशक्त संगठन नेविसंघ, अनेरास्ववियु, प्रगतिशील विद्यार्थी संगठन थिए । उतिखेर प्रवीणता प्रमाणपत्र तहसमेत विश्वविद्यालयमा पढाइन्थ्यो । त्यसैले विद्यार्थी नेता उत्पादन गर्ने थलो विश्वविद्यालय र विद्यार्थी संगठनहरूको साझा निकाय स्ववियु बनेको थियो । २०४६ सालको राजनीतिक परिवर्तनपछि ती विद्यार्थी संगठनहरूले क्याम्पसदेखि विद्यालयसम्म प्रवेश गरी संगठन विस्तार गरे ।

बैतडीको गोकुलेश्वर कृषि तथा पशु विज्ञान कलेजले विद्यार्थी संघ, संगठन र स्ववियु खारेज गर्नुले सांकेतिक रूपमा स्ववियुको औचित्यमा प्रश्न उठाएको छ ।


प्रकाशित : श्रावण ८, २०७६ १५:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?