१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

निर्मला घटना आज पनि छन्, भोलि पनि हुन्छन् : गृहमन्त्री

पटकपटक विवादास्पद अभिव्यक्ति दिँदै आएका गृहमन्त्रीले विगतको तुलनामा मानव तस्करी घटेको दाबी गरे पनि प्रहरीकै तथ्यांकले त्यसलाई झूटो साबित गर्छ ।
जनकराज सापकोटा

काठमाडौँ — गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या जघन्य अपराध भए पनि नयाँ र पहिलो घटना नभएको बताएका छन् ।

निर्मला घटना आज पनि छन्, भोलि पनि हुन्छन् : गृहमन्त्री

मन्त्रालयको एक वर्षको कार्यसमीक्षा सुनाउन मंगलबार आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘निर्मला घटनाका प्रकरण यसभन्दा अगाडि पनि थिए, आज पनि छन् र भोलि पनि केही समयसम्म रहन्छन् । यस किसिमका अपराधलाई हामीले पूर्णतः निषेध

गर्न सक्दैनौं ।’


उनले निर्मला पन्त प्रकरणलाई राजनीतीकरण गरिनु दुःखद भएको जनाउँदै भने, ‘हिजोको सरकारले पनि आफ्ना पालामा भएका कैयन् केसलाई कानुनी कठघरामा ल्याउन सकेनन् ।’ उनले १३ वर्षपछिसमेत प्रहरीले फरार अपराधी समातेको उदाहरण दिँदै विकसित देशमा पनि शतप्रतिशत अपराधी कानुनी कठघरामा नआउने बताए ।


गतवर्ष साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिका १८ निम्बुखेडास्थित उखुबारीमा बलात्कारपछि हत्या गरिएको अवस्थामा निर्मलाको शव फेला परेको थियो । उक्त प्रकरणमा प्रहरीले अनुसन्धान निष्कर्षमा पुर्‍याउन नसकेको तथ्य बचाउ गर्दै थापाले प्रविधिले सम्पन्न अमेरिकामा पनि केही घटनाको अनुसन्धान निष्कर्षमा नपुग्ने बताए ।


विगतमा पनि विवादास्पद अभिव्यक्ति दिँदै आएका थापाले मुलुकमा रोजगारीको वातावरण सिर्जना हुँदै गएकाले विगतको तुलनामा मानव तस्करी घटेको दाबी पनि गरे । जबकि नेपाल प्रहरीको मानव बेचबिखन अनुसन्धान ब्युरोकै तथ्यांकले यसलाई खण्डन गर्छ । कान्तिपुरलाई ब्युरोबाट प्राप्त विवरणअनुसार २०७४ फागुन १४ गते थापाले गृहमन्त्रीको पदभार ग्रहण गरेकै वर्ष अर्थात् २०७४/७५ मा ६ वर्षयताकै सबभन्दा धेरै अर्थात् ३ सय ५ वटा मानव बेचबिखनका मुद्दा दर्ता भएका छन् । आर्थिक वर्ष २०७५/७६ को वैशाखसम्म मात्रै १ सय ९० मुद्दा दर्ता छन् । ब्युरोकै एक अधिकारीले वैधानिक रूपमा वैदेशिक रोजगारीमा जानेको संख्या घट्दै जाँदा मानव तस्करी बढेको बताए ।


वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७४/७५ मा ३ लाख १८ हजार ३ सय २७ जनाले रोजगारीमा जान स्वीकृति लिएका छन् । यसअनुसार दैनिक औसत ८ सय ७२ जना वैदेशिक रोजगारीमा जाने गरेको देखिन्छ । यो दर २०७२/७३ मा दैनिक १ हजार ३ सय ३८ थियो । यो संख्या घट्नुमा प्रमुख श्रम गन्तव्यका रूपमा रहेको मलेसिया बन्द हुनु, खाडी मुलुकले अफ्रिकी देशबाट कामदार ओसार्नुजस्ता कारण मुख्य हुन् ।


गृहमन्त्री थापाले पत्रकार सम्मेलनमा रेमिट्यान्स भने बढेको तर्क गरे । उनले भनेजस्तै आर्थिक वर्ष २०७४/७५ को तुलनामा २०७५/७६ मा रेमिट्यान्स बढेको देखिन्छ । अघिल्लो वर्ष ६ खर्ब ९५ अर्ब रेमिट्यान्स भित्रिएकामा पछिल्लो वर्ष बढेर ७ खर्ब ५५ अर्ब पुगेको थियो । रेमिट्यान्स बढे पनि वृद्धिदर भने अघिल्लो वर्षको तुलनामा निकै घटेको छ । २०७४/७५ को ११ महिनामा ३७ प्रतिशत रहेको रेमिट्यान्स वृद्धिदर २०७५/७६ मा घटेर १७ प्रतिशतमा सीमित हुन पुगेको छ ।


गृहमन्त्रीले यसअघि पनि निर्मला पन्त प्रकरणमा संसद्मा झूटो अभिव्यक्ति दिएका थिए । प्रकरणको पाँचौं दिन घटनामा संलग्न भन्दै जीवन घर्तीमगर र दीपक नेगी पक्राउ परिसकेको बताएका थिए । शंकाका आधारमा पक्राउ परेकालाई मुख्य अभियुक्तझैं प्रस्तुत गरे पनि उनको दाबी अनुसन्धानबाट पुष्टि हुन सकेन । एक जना मानसिक सन्तुलन ठीक नभएका र अर्का यौनरोगी रहेको खुल्यो । घटनामा संलग्नता पुष्टि नभएपछि दुवै छुटे ।


गृहमन्त्री यसअघि विवादित इन्काउन्टर घटनामा प्रहरीको बचाउ गर्दा पनि विवादमा तानिएका थिए । गतवर्ष साउन तेस्रो साता भक्तपुर, पेप्सीकोलाबाट निसान खड्काको अपहरणपछि हत्या प्रकरणमा मुछिएका सिन्धुपाल्चोकका गोपाल तामाङ र अजय तामाङ सूर्यविनायकको पाइलट बाबा आश्रमनजिकै जंगलमा मृत भेटिएका थिए । उनीहरू इन्काउन्टरमा मारिएको दाबी गरे पनि प्रहरीले उनीहरूलाई डेराबाटै समातेर लगेको स्थानीयले बताएका थिए । उक्त घटनामा गृहमन्त्री थापाले अनुसन्धान नै नगरी प्रहरीको बचाउ गरेका थिए ।


'चन्द समूह सुरक्षा चुनौती’

गृहमन्त्री थापाले राजनीतिक स्थायित्वलाई पूर्णता दिने र उपलब्धि रक्षा गर्ने सवालमा चन्द समूह चुनौती रहेको भन्दै सरकारले त्यसको सामना गरिरहेको बताए । चन्द समूहका गतिविधि कानुनविपरीत रहेकाले तिनलाई नियन्त्रण गर्नु कानुनी दायित्व रहेको उनको भनाइ छ ।


सरकारले पहल जारी राखे पनि चन्द समूह वार्तामार्फत समस्या समाधान गर्ने दिशातिर नगएको उनले आरोप लगाए । चन्द समूहका केही सर्त रहेको आफूले सुनेको तर औपचारिक रूपमा कुनै जानकारी नआएको गृहमन्त्रीले बताए । उनले विखण्डनको नारा अघि सारेका सीके राउतलाई पनि वार्ताद्वारा समाधान गरेको स्मरण गराउँदै चन्द समूहलाई वार्तामा आउन आग्रह गरे ।


गृहमन्त्री थापाले आफ्नो एकवर्षे कार्यकाल उपलब्धिमूलक रहेको बताउँदै शान्ति स्थापनामा उल्लेख्य काम भएको दाबी गरे । उनले संगठित सुन तस्करीको सञ्जाल ध्वस्त भएको बताए । ‘थोकमा हुने सुन तस्करी अहिले छैन । तर त्यो छिटफुट रूपमा मात्रै चलिरहेको छ,’ उनले भने । राजस्वमा गुणात्मक वृद्धि भएको र सीमामार्फत हुने तस्करी पनि रोकिएको गृहमन्त्रीले बताए । मानव तस्करीका घटना रोक्न विमानस्थलमा प्रयोगमा रहेको सफ्टवेयर परिवर्तन गर्ने तयारी भइरहेको जनाए ।


गृह मन्त्रालयले लक्ष्यअनुसार कार्यसम्पादनमा ८९ प्रतिशत सफलता हासिल गरेको प्रतिवेदनमा उल्लेख गरेको छ । गृह प्रशासन सुधार कार्ययोजना २०७४ ले राखेका ८२ वटा उद्देश्यमध्ये ७८ मा सफलता मिलेको दाबी गरिएको छ । गृृहले सीमाक्षेत्रको सुरक्षा व्यवस्था प्रभावकारी तुल्याउन गतवर्ष ८७ स्थानमा बोर्डर आउट पोस्ट स्थापना भएकामा २० स्थानमा वृद्धि गरिएको, १ हजार १ सय ४ जना फरार अपराधी पक्राउ गरेको र दुई प्रदेशमा अपराध अनुसन्धानका लागि डिजिटल फरेन्सिक ल्याब स्थापनालाई उपलब्धिका रूपमा उल्लेख गरेको छ ।


लागूऔषधको अवैध ओसारपसारमा संलग्न तीन हजार १२ जना पक्राउ, ७७ वटै जिल्लामा सशस्त्र प्रहरीको उपस्थिति विस्तार, हेलिकप्टरबाट ६४ पटक आपतकालीन उद्धार, १८ जना सुत्केरी र गर्भवतीसहित १ सय २७ जनाको उद्धारलाई पनि वार्षिक उपलब्धिमा समेटिएको छ । गृहमन्त्री थापाले शान्तिसुरक्षाको सूचकांकमा उल्लेख्य सफलता हासिल भएको जनाउँदै अन्तर्राष्ट्रिय संस्थाले समेत यसलाई स्विकारेको बताए ।

प्रकाशित : श्रावण ८, २०७६ ०७:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?