१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

नेकपा विवाद : स्कुल विभागमा भुसालको पनि दाबी

काठमाडौँ — नेकपामा स्कुल विभागको नेतृत्वमा ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कसलाई बनाउने भन्ने विवाद उत्कर्षमा रहेका बेला वैचारिक अभियान चलाउँदै आएका अर्का नेता घनश्याम भुसालले समेत दाबी गरेका छन् । 

नेकपा विवाद : स्कुल विभागमा भुसालको पनि दाबी

तत्कालीन एमालेको नवौं महाधिवेशनबाट उपमहासचिव बनेका भुसाल अहिले नेकपा स्थायी समिति सदस्य छन् । मार्क्सवादी प्रशिक्षण र त्यससम्बन्धी अध्ययन गर्दै हिँड्ने नेता भुसालले पार्टीको विचार निर्माणमा आफूले खेलेको भूमिकाको कदर गर्न शीर्ष नेताहरूसँग आग्रह गरेका छन् । ‘यदि पार्टीभित्र न्याय छ भने त्यो विभाग मलाई दिनुपर्छ, यो पार्टीको विचार निर्माणमा मैले कम मिहिनेत गरेको छैन,’ भुसालले कान्तिपुसँग भने, ‘पार्टीलाई अझै वैचारिक रूपमा स्पष्ट बनाएर लैजानुपर्नेछ, त्यसका लागि अहिले पार्टीले लिएको राजनीतिक लाइनको सही व्याख्या र प्रचार हुनुपर्नेछ ।’

भुसालले तत्कालीन एमालेको आठौं महाधिवेशनमा नेपालमा २०६२/६३ सालको जनआन्दोलनपछि राजनीतिक क्रान्ति पूरा भएको र मुलुक पुँजीवादी चरणमा प्रवेश गरेको व्याख्या गरेर दस्तावेज ल्याएका थिए । त्यतिबेला तत्कालीन एमालेले उनको यो विचारलाई महाधिवेशनमा छलफलमै लगेन ।

नवौं महाधिवेशनमा एमालेको राजनीतिक लाइन भुसालले अघिल्लो महाधिवेशनमा भनेकै सेरोफेरोमा आइपुग्यो । त्यही बलमा भुसालले उपमहासचिवमा जितेका थिए । पार्टीभित्र केपी शर्मा ओली समूहले नरुचाउने भएकाले उनलाई महाधिवेशनपछि कुनै विभागको जिम्मेवारी दिइएको थिएन ।

‘त्यो बेला पनि मैले स्कुल विभाग मागेको थिएँ, मलाई नदिनका लागि अध्यक्ष (ओली) ले नै विभाग राख्नुभयो,’ नेता भुसालले भने, ‘पार्टी स्कुल भनेको त्यहाँ मार्क्सवाद, समाजवाद पढाउने हो । यी हाम्रा आवश्यकता हुन् भने यसका लागि म उपयुक्त छु भन्ने मेरो भनाइ हो ।’ त्यसबेला अध्यक्ष ओलीले नै विभाग राखेपछि उपप्रमुखमा शंकर पोखरेललाई जिम्मेवारी दिइएको थियो । जसका कारण विभाग गुटबन्दीको सिकार बनेको भुसालको आरोप छ ।

‘अहिले पार्टीले स्विकारेको विचारलाई विकास र व्याख्या गर्न म योगदान गर्न सक्छु भन्ने लाग्छ,’ नेता भुसालले भने, ‘यसलाई गुटबन्दी, भागबन्डा, साँध/सिमानाभित्र राखेर निर्णय गर्नुहुँदैन । खास पार्टीका लागि उपयुक्त के हुन्छ, त्यो हेर्नुपर्छ ।’ भुसाल नेकपाको स्कुल प्रशिक्षण नचलेको बेलामा पनि सार्वजनिक फोरम निर्माण गर्दै मार्क्सवादी प्रशिक्षण चलाइरहेका छन् । हाल कार्ल मार्क्सको द्वि–शतवार्षिकी मनाउने सन्दर्भ जोडेर उनले प्रशिक्षणको नेतृत्व गरिरहेका छन् ।

मार्क्सवादसम्बन्धी पुस्तकसमेत लेखेका भुसाल विगतमा मदन भण्डारीले अघि सारेको ‘जनताको बहुदलीय जनवाद’ कि झलनाथ खनाल, सीपी मैनालीले भन्ने गरेको ‘नौलो जनवाद’ भन्ने वैचारिक विवाद हुँदा नौलो जनवादको पक्षमा थिए । पछि जनताको बहुदलीय जनवादलाई पार्टीले सिद्धान्त मानेको अवस्थामा विशेषगरी जबज पक्षधरहरू भुसाललाई जबजविरोधी नजरले हेर्थे । भुसाल माओवादीको हिंसात्मक बाटोको विरोधमै रहे । अहिले एमाले र माओवादी एकता भएपछि ‘जनताको बहुदलीय जनवाद’ को सट्टा ‘जनताको जनवाद’ को वैचारिक दिशामा अघि बढ्ने सहमति भएको छ ।


त्यहीअनुसार दस्तावेज पनि बनेको छ । जनताको जनवाद भन्ने अहिलेको वैचारिक लाइनको सही व्याख्या आफूबाट हुन सक्ने र यसलाई सही रूपमा कार्यकर्तामा बुझाउन आफूले सक्ने भुसालको दाबी छ ।

भुसालअघि नै उक्त विभागका लागि संघर्ष गरिरहेका नेता ईश्वर पोखरेल अहिले पनि पूर्वएमालेले मान्दै आएको ‘जनताको बहुदलीय जनवाद’ लाई पार्टीको वैचारिक लाइन बनाउनुपर्छ भन्ने नेता हुन् । एकताका बेला जनताको बहुदलीय जनवाद छाडेर जनताको जनवादमा जाने निर्णय भएपछि पनि पोखरेल पुरानै सिद्धान्तमा अडिग भएकाले पूर्वमाओवादी पक्षधर कुनै हालतमा उनलाई नस्विकार्ने अडानमा छन् ।

श्रेष्ठ माओवादी धारबाट आएका र हालको पार्टीको दस्तावेज निर्माणमा संलग्न नेता हुन् । श्रेष्ठ माओवादी धारभित्र हुँदा पनि वैचारिक विवाद र बहसमा संलग्न नेता हुन् ।

त्यसैले उनलाई दिनुपर्ने माओवादी पक्षको दाबी छ । पोखरेल र श्रेष्ठबीचको विवाद चर्किंदै जाँदा मंगलबार भुसालले आफ्नो सशक्त दाबी पेस गरे पनि भुसालले नेतृत्व पाउने सम्भावना निकै कम रहेको एक नेताले बताए । विकल्पमा दुई अध्यक्षले नै उक्त विभाग आफ्नो नेतृत्वमा राख्ने सम्भावना छ ।

माधव नेपाल पक्षका सुरेन्द्र पाण्डेलगायत केही नेताहरूले यो विकल्पको पनि चर्चा गरेका छन् । त्योसँगै नीति तथा अध्ययन प्रतिष्ठानको नेतृत्व लिने भनेर टुंगो भएका वरिष्ठ नेता झलनाथ खनाललाई त्यसबाट स्कुल विभागमा सार्ने सम्भावना पनि छ ।

खनाल पार्टीको पूर्वअध्यक्ष पनि भएको र मार्क्सवादी अध्ययन पनि गरेकाले धेरै रस्साकसी भएको अवस्थामा उनलाई ल्याउन सकिने विकल्पमा पनि कुरा भएको छ । सकेसम्म पोखरेल र श्रेष्ठबीचको विवाद मिलाउने कोसिसमा अध्यक्षहरू छन् । विवाद नमिलेपछि सचिवालय बैठक सारिएको छ ।

प्रकाशित : श्रावण ८, २०७६ ०७:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?