कविकुञ्जको मूल्य ५ करोड

फूलमान वल

काठमाडौँ — झन्डै सवा शताब्दीअघि महाकवि लक्ष्मीप्रसाद देवकोटा जन्मेका थिए, काठमाडौं डिल्लीबजारमा । बुबा तिलमाधवले अंश छुट्याइदिएपछि अलिक तल मैतीदेवीमा उनले ‘कविकुञ्ज’ बनाए । पुरानो इँटाको यही चारतले घरमा देवकोटाले जीवनका अधिकांश समय बिताए ।

महाकवि लक्ष्मीप्रसाद देवकोटाको घर ॅकविकुञ्ज’ । फाइल तस्बिर

उनी घरको दोस्रो तलामा सुत्थे । साहित्यिक सिर्जना लेख्थे । चुरोट तान्दै झ्यालबाट मैतीदेवीको हरियो फाँट हेर्थे । यही ऐतिहासिक घर साहित्यिक संग्रहालय बन्ने प्रक्रियाले फड्को मारेको छ । महाकविको परिवार सदस्यसमेत समेटेर सरकारले बनाएको मुआब्जा निर्धारण समितिले १२ आना क्षेत्रफलमा फैलिएको ‘कविकुञ्ज’को मूल्यांकन ५ करोड १२ लाख गरेको छ ।

बाहिरबाट हेर्दा पुरानो इँटा र काठे झ्यालसहितको चिटिक्क देखिए पनि चार वर्षअघिको भुइँचालोबाट ‘कविकुञ्ज’को भित्री स्वरूप आधा भत्किएको अवस्थामा छ । चारतले कविकुञ्जभित्र नेपाली मौलिकता झल्किने भर्‍याङहरू छन् । भुइँतलाका दुई कोठा बन्द छन् । अर्को कोठा दोस्रो तला खसेर पुरिएको छ । माइली छोरी अम्बिकादेवीका अनुसार भुइँचालोअघि यहाँ मानिस भाडामा बस्थे ।
देवकोटा सुत्ने कक्ष पनि भुइँचालोले आधा तल खसेको छ ।

देवकोटाले प्रयोग गरेका बेतका केही कुर्सी, दराज र टेबुल असरल्ल छन् । भित्तामा केही तस्बिर फ्रेमिङ गरिएको छ देवकोटाका । त्रिमूर्ति (लेखनाथ पौड्याल, बालकृष्ण सम र देवकोटा) का श्यामश्वेत ऐतिहासिक तस्बिरहरू पनि यहीँ छन् । भारतको गान्धी समाधिस्थलमा फूल चढाइरहेका छन् देवकोटाका तस्बिर पनि देख्न सकिन्छ । सामुन्ने भित्तामा पत्नी मनदेवीसँगै कुम जोडिएको तस्बिर छ । सबैभन्दा माथिल्लो तलाका दलिनहरूपुराना र काला देखिन्छन् । छाना पुरानो जस्ता पाताले छाएको छ । इँटाद्वारा निर्मित भित्तामा माटो लिपिएको देखिन्छ ।

समितिले कविकुञ्जको मूल्य निर्धारण गरी पर्यटन तथा संस्कृति मन्त्रालयलाई ५७ पृष्ठ लामो प्रतिवेदन पठाएको छ । मन्त्रिपरिषद्बाट
पारित भएपछि कविकुञ्ज सरकार मातहतमा आउने छ । यसपछि डीपीआर तयार पारी महाकवि लक्ष्मीप्रसाद देवकोटाकै नामबाट साहित्यिक संग्रहालय बन्ने र यो नेपाल प्रज्ञाप्रतिष्ठानअन्तर्गत रहने प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष महाकवि देवकोटाको ११० औं जन्मजयन्तीका अवसरमा ‘कविकुञ्ज’ किनेर संग्रहालय बनाउने घोषणा गर्दै परिवारसँग संवाद संयोजन गर्न कुलपति उप्रेतीलाई जिम्मेवारी सुम्पेका थिए ।

उनकै पहलमा जग्गा प्राप्ति ऐन २०३४ दफा १३ मा टेकेर काठमाडौंका प्रमुख जिल्ला अधिकारी रामप्रसाद आचार्य संयोजक रहेको मुआब्जा निर्धारण समिति गठन भएपछि आधिकारिक प्रक्रिया अघि बढेको थियो । संस्कृति मन्त्रालय, महाकविका परिवार, मालपोत कार्यालय, नापी र गुठी संस्थानका प्रतिनिधिसमेत सदस्य रहेको समितिले आठ महिना लगाएर मुआब्जा प्रक्रिया टुंग्याएको हो । यसअघिका सरकारले दुई पटक प्रयत्न गरे पनि मुआब्जामै कुरा नमिल्दा त्यसै रोकिएको थियो ।

समितिअन्तर्गत गठित घरजग्गा मूल्यांकन उपसमितिकी संयोजक एवं संस्कृति मन्त्रालयकी शाखा अधिकृत लेखा पनेरु महतका अनुसार ‘कविकुञ्ज’ गुठीको जग्गाअन्तर्गत परेकाले प्रक्रिया मिलाउन समय लागेको हो । ‘महाकविका छोराहरू अमेरिका र अस्ट्रेलियामा रहनुभएको कारण पनि छलफल टुंगिन थप समय लाग्यो,’ उनले भनिन् ।

महाकविले आफ्नै मिहिनेतमा बनाएको ‘कविकुञ्ज’ पशुपति महास्नान गुठीअन्तर्गत पर्छ । दिवंगत हुनुअघि यो जग्गाको भोगचलन अधिकार महाकवि देवकोटाले साइँली छोरी मीरा देवकोटालाई दिएका थिए । ‘उनी दिवंगत भइसकेका कारण सुरुमा त यो जग्गा नजिकका हकदारको नाममा सार्नुपर्‍यो,’ उनले भनिन्, ‘प्रक्रिया पनि निकै झन्झटिलो रहेछ । वडा कार्यालय, गुठीदेखि मालपोतमा थुप्रै पटक धाउनुपर्‍यो ।थुप्रै दुःख पाएँ ।’

प्रक्रिया सहज बनाउन अमेरिकामा रहेका महाकविका जेठो छोरा पदमप्रसाद, अस्ट्रेलियामा रहेका कान्छा छोरा दीपकप्रसाद र कविकुञ्जमै बस्दै आएकी माइली छोरी अम्बिकादेवी रिमाल सहयोगी बने । दिवंगत मीराका नामबाट दीपकका नाममा ल्याएपछि मात्रै समितिले मुआब्जा निर्क्योल गरेको हो ।

कविकुञ्जलाई मुलुककै अर्थपूर्ण साहित्यिक संग्रहालय बनाउने उद्देश्य भएकाले मुआब्जा निर्धारणमा कन्ज्युस्याइँ नगरिएको कुलपति उप्रेतीले जनाए । उनका अनुसार सरकारी मूल्य १६ लाख प्रतिआना र चलनचल्तीको मूल्य ३८ लाख प्रतिआना रहेकोमा समितिले भने झन्डै ४२ लाख प्रतिआना दररेट कायम गरी मूल्यांकन गरेको छ । जग्गा गुठीको स्वामित्वमा भएका कारण अहिले तोकिएको ५ करोड १२ लाख रुपैयाँको हिस्सा गुठी संस्थानलाई पनि जाने उनले बताए ।

उप्रेतीका अनुसार मन्त्रिपरिषद्बाट पारित भएपछि साहित्यिक संग्रहालयको डीपीआर बन्नेछ । अहिलेकै कविकुञ्जलाई आधार मानेर नयाँ भवन बन्ने र त्यसको पहिलो तलामा महाकवि देवकोटाको अडियो र भिजुअल सामग्री हुने उनले बताए ।

‘देवकोटाले विभिन्न कार्यक्रम, युनिभर्सिटी, देश/विदेशका साहित्यिक गोष्ठी र सम्मेलनमा दिएका सम्भाषण, साहित्यिक प्रस्तुति लगायतका अडियो भिजुअल सामग्री खोजी गरेर राख्नेछौं,’ उनले भने, ‘ताकि भित्र पस्नेबित्तिकै देवकोटालाई नै भेटेको महसुस हुन सकोस् ।’ उनका अनुसार दोस्रो तलामा देवकोटासँग सम्बन्धित विभिन्न सामग्री हुनेछन् । तेस्रो तलमा पुस्तकालय र चौथोमा सेमिनार हलसहितको देवकोटाकक्ष हुनेछ ।

प्रकाशित : श्रावण ८, २०७६ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

पुराना फिल्मलाई नयाँ ज्यान

फूलमान वल

काठमाडौँ — ७० वर्षअघि तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरू नेपाल आएका थिए । टुँडिखेलमा उनको नागरिक अभिनन्दन गरिएको थियो । त्यहाँ उभिएर उनको भाषण सुन्नेहरू केही मात्र जीवित होलान् । 

बेलायती महारानी एलिजावेथ द्वितीय पञ्चायतकालमा दुई पटक नेपाल आइन् । विसं २०१७ मा राजा महेन्द्र र २०४३ मा वीरेन्द्रसित बग्गी चढ्दै उनले काठमाडौं घुमिन् । यी दुवै पलको साक्षी बन्ने पनि थोरै नै होलान् ।

नेपाली भाषामा निर्मित पहिलो फिल्म ‘आमा’ २०२२ मा काठमाडौं उपत्यकाभित्र प्रदर्शनमा आयो । राजा महेन्द्रले नै भारतको देहरादूनबाट हिरासिंह खत्री झिकाएर फिल्म निर्देशन गर्न लगाए । यो फिल्म हेरेको अनुभव बताउने सक्ने दर्शक यतिबेला सहरमा कति होलान् ?

यी तीनवटै ऐतिहासिक क्षणको प्रत्यक्ष अनुभव गर्ने सौभाग्य नमिले पनि चिन्ता गर्नु पर्दैन । लामो समय ढुसी परेर थन्किएका फिल्मी टेप डिजिटाइजेसन भएर नयाँ स्वरूपमा आएको छ । पञ्चायतकालमा बनेका १० फिल्मसँगै विभिन्न ऐतिहासिक क्षणमा कैद महत्त्वपूर्ण भिडियो सामग्रीलाई चलचित्र विकास बोर्डले डिजिटल माध्यममा ढालेर नयाँ ज्यान दिएको हो । अब कुनै फिल्म महोत्सव या हलमा गएर तपाईं ती पुराना क्षणको साक्षी बन्न सक्नुहुनेछ ।

झन्डै तीन करोडमा अघिल्लो वर्ष थालिएको डिजिटाइजेसन कार्य अन्तिम चरणमा पुगेकोहो । बोर्डले ०२२ मा बनेको ‘आमा’ देखि ०४० मा रिलिज ‘के घर के डेरा’ सम्म डिजिटाइजेसन गरेको छ । यी दुई फिल्मसँगै ‘हिजो आज भोलि’, ‘परिवर्तन’, ‘मनको बाँध’, ‘जीवन रेखा’, ‘कुमारी’, ‘सिन्दूर’, ‘बदलिँदो आकाश’ र ‘शान्तिद्वीप’ को सम्पूर्ण काम सकेको बोर्डका कार्यकारी अध्यक्ष केशव भट्टराईले जनाए ।

यी दसवटा कथानक फिल्मबाहेक राजा महेन्द्र र वीरेन्द्रका विदेश भ्रमण, राज्यारोहण, विभिन्न मुलुकका राष्ट्रप्रमुख नेपाल आउँदाको क्षणलगायतका भिडियो सामग्री डिजिटल माध्यममा रूपान्तरण गरिएका छन् । यी सबै सामग्री तत्कालीन शाही नेपाल चलचित्र संस्थानले निर्माण गरेको थियो । बोर्डले वार्षिक उत्सव पारेर असार १६ डिजिटाइजेसन भइसकेका फिल्मका केही दृश्य देखाउँदै छ ।

‘अब नयाँ प्राण पाएका फिल्मको महोत्सव गर्ने योजना बनाइरहेका छौं’, अध्यक्ष भट्टराईले भने, ‘कमर्सियल सोका लागि पनि फिल्म उपलब्ध हुनेछन् ।’ कमर्सियल हलबाट आउने आम्दानी भने चलचित्रकर्मी कल्याण कोषमा जम्मा गर्ने बोर्डको योजना छ । पुराना फिल्म डिजिटाइजेसन प्रक्रिया भने सहज नभएको अग्रज छायांकार एवं निर्देशक मञ्जुकुमार श्रेष्ठको अनुभव छ ।

मुम्बईबाट डिजिटाइजेसन प्रविधि झिकाएर बोर्डमै जडान गरी वर्ष दिनअघि यो प्रक्रिया थालिएको थियो । बितेका ६ महिनादेखि यही कार्यमा व्यस्त श्रेष्ठले धेरैजसो भिडियो टेप ढुसी परेर ध्वनि नै उडेको अवस्थामा भेटिएको बताए । टेप प्रायः टुक्रिएका थिए । ‘प्रायः फिल्म आफैंले खिचेकाले टुक्राटाक्री जोड्न सजिलो भयो,’ उनले भने, ‘ध्वनि उडेका ठाउँमा पनि पुनः स्वरांकन गरेर पहिलेकै अवस्थामा फर्काउने काम भइरहेको छ ।’

स्वरांकन र डिजिटाइजेसनका लागि वरिष्ठ ध्वनि विज्ञ प्रदीपकुमार उपाध्यायले पनि योगदान गरेका छन् । उनीलगायतकै टोलीले ध्वनिमा काम गरेको हो । ‘अस्तित्व नै मेटिन लागेका पुराना कृति नयाँ प्रविधिमा ढालेका छौं,’ उनले भने, ‘मुलुककै लागि यो ठूलो उपलब्धि हो ।’ फिल्म ‘विश्वास’ मा भने टोलीले ज्यान भर्न सकेन ।

यी सबै फिल्मको टेप चलचित्र विकास कम्पनीको बालाजुस्थित ल्याबमा भण्डारण गरिएको थियो । निश्चित तापक्रममा राख्नुपर्नेमा लापरबाही भएका कारण ‘विश्वास’ को रिल डिजिटाइजेसन गर्न नसकिने गरी बिग्रिएको बोर्ड अध्यक्ष भट्टराईले बताए । ‘झन्डै दुई सयवटा फिल्मको टेप त्यही ल्याबमा छन्,’ उनले भने, ‘त्यहाँ सुरक्षित नहुने अवस्था देखेपछि बोर्डमै मगाएका छौं । यस वर्ष पनि केही फिल्म डिजिटाइजेसनको प्रक्रियामा जानेछन् ।’

प्रकाशित : असार १२, २०७६ ०९:१५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्