२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

खलंगा ९ दिनदेखि अन्धकारमा

जुम्ला — जुम्लाको सदरमुकाम खलंगा ९ दिनदेखि अन्धकारमा परेको छ । साना जलविद्युत उपभोक्ता समितिको पावरहाउसमा समस्या देखिएपछि विद्युत आयोजना सञ्चालनमा आउन सकिरहेको छैन ।

आयोजनाको टर्बाइन जडानमा ठेकेदारले लापरबाही गरेको स्थानीयले बताएका छन् ।

सदरमुकामा विद्युत आपूर्ति बन्द भएको ९ दिन भएको छ । अझै पनि विद्युत कहिले बन्ने भन्ने निश्चित भएको छैन । भारतीय कम्पनीले डिजिटल मेसिन जडान गरी पूर्ण रुपमा सञ्चालनमा ल्याउन नसक्दा विगत लामो समयदेखि जुम्ला लोडसेडिङको मार खेप्दै आएको छ ।


विद्युतको विकल्प नभएपछि केन्द्र र प्रदेश सरकार गुहार्नको लागि चन्दननाथ नगरपालिकाका उपप्रमुख अप्सरादेवी न्यौपाने महतको संयोजकत्वमा ९ सदस्यीय समिति गठन गरिएको छ ।


नगरपालिकालाई लोडसेडिङ मुक्त बनाउनका लागि नगरपालिकाले झण्डै ३ करोड भन्दा धेरै रकम विद्युत अयोजनाहरुलाई लगानी गरेको छ । सहकारी मार्फत् निर्माण प्रक्रिया अन्तिम चरणमा रहेका ५० किलोवाटको घोडेन्ना जलविद्युत आयोजना र एक सय किलोवाटको ठिन्के जलविद्युतमा नगरपालिकाले लगानी गरिरहेको चन्दननाथ नगरपालिकाका प्रवक्ता अर्जुन सिंह कठायतले बताए ।


‘साना जलविद्युतको मर्मत सम्भारको जिम्मा लिएको भारतीय कम्पनीका सबै कामदारहरु जिल्लाबाट गइसकेका छन्’ उनले भने, ‘ठेकेदार सम्पर्कमा आएपछि एक महिनामा विद्युत बन्ने छ भने यदी ठेकेदार सम्पर्कमै नआए मेसिन बन्ने अनिश्चित भैसकेकाले अब विकल्पको खोजी गर्न जरुरी छ ।’


खलंगामा झण्डै ३ हजार उपभोक्ताहरु छन् । अहिले विद्युत नहुँदा सरकारी काममा समेत समस्या भएको छ ।

प्रकाशित : श्रावण ७, २०७६ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?