कार्यकर्तामा 'फेसबुके रोग' : उपप्रधानमन्त्री पोखरेल

प्रदीप मेन्याङ्बो

सुनसरी — उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलले स्थानीय नेता, कार्यकर्ताहरुलाई सामाजिक सञ्जाल 'फेसबुके रोग' बाट मुक्त हुन आग्रह गरेका छन् । धरान उपमहाननगर कमिटीद्वारा मंगलबार आयोजित अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै पार्टी एकीकरणको सन्दर्भमा सामाजिक सञ्जाल फेसबुकमा आएका स्टाटस र कमेन्टका आधारमा व्यर्थ बहस नगर्न उनले आग्रह गरेका हुन् । 

उनले ड्यासमै सँगै बसेका नेकपा केन्द्रीय सदस्य धर्म निरौलाले पार्टी एकीकरणको सन्दर्भमा हालै लेखेको स्टाटसबारे नामै किटेर चर्चा गर्दै भने, ‘तपाईहरु पार्टी एकीकरणबारे कुनै दोधारमा नरहनुस्। अब एमाले पनि छैन र माओवादी केन्द्र पनि छैन। नेकपा मात्र छ। को कहाँ रहने र कसको मान्छे पर्‍यो, कसले नेतृत्व गर्ने भन्ने चिन्ता नलिनुस्।’ उनले नेतृत्व जसले लिए पनि नेकपाकै नेता कार्यकर्ताले लिने बताए।

उनले पार्टी एकीकरणका बारेमा रेडियो, टेलिभिजन, अनलाइन र पत्रपत्रिकामा आएका समाचारले पनि कार्यकर्ताले मन बिगार्ने भएकाले पार्टीको च्यानलप्रति विश्वास गर्न आग्रह गरे। उनले भने, ‘अहिले खोलो धमिलो छ, पारि तर्नु छ। खुट्टाको औलाले ढुङ्गा छाम्दै तर्नुपर्ने अवस्था छ। कुरो बुझ्नु भयो होला, पार्टीमा अहिले केही गाँजेमाजे छ त्यो केही समयपछि मिल्छ।’

उनले विगतको घाउ नकोट्याउन पनि आग्रह गरे। नेकपाले संविधानको सर्वोच्चतालाई मात्र मान्ने बताए। उनले भने, ‘संविधानको सर्वोच्चतासँगै कानुनी शासन, आवधिक निर्वाचन, जनअनुमोदित जनप्रतिनिधि र नियन्त्रण, बहुलवादी खुला समाज र सन्तुलन नै नेकपाको सार हो। यिनै सारलाई लिएर अब नेकपा अगाडि बढ्छ।’

यसअघि मन्त्री पोखरेलले चुम्लुङहिममा आयोजित धरान उपमहानगरपालिकाका दिवंगत प्रमुख तारा सुब्बा स्मृति ग्रन्थको लोकार्पण समारोहमा बहुमतको सरकारले जनतालाई सेवा दिन नसकेको कारणबारे खुलाउने प्रयास गरेका थिए।

उनले सङ्घीय गणतन्त्रमा सरकारमात्र परिवर्तन नभएर पुरै प्रणाली परिवर्तन भएको तर त्यस प्रणालीअनुसार चल्नका लागि संविधानअनुसारका ऐन, कानुन, नीति निर्माण तयार भइनसकेकाले सरकारले जनतालाई सेवा दिन नसकेको बताए। उनले भने, ‘सरकारले प्रणाली नै परिवर्तन गरेर मुलुकको समृद्धिको आधार तयार गरिरहेको अवस्थामा कानुन र नीति अभावमा खुट्टा टेकेर हिँड्न पाएको छैन। त्यही भएर सरकारले दिने सेवा जनतासम्म ‘डेलीभर’ हुन सकेको छैन।’

प्रकाशित : श्रावण ७, २०७६ १६:४७
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

नेप्से उकालो यात्रामा

रासस

काठमाडौँ — धितोपत्र बजारमा मंगलबार शेयर कारोबार मापक नेप्से परिसूचक करिब छ अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोबार मापक नेप्से परिसूचक ५.९४ बिन्दुले बढेर एक हजार २७७.१७ बिन्दुमा पुगेको छ ।

ठूला कम्पनीको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.९२ ले बढेर २७४.४१ बिन्दुमा पुगेको छ ।

परिसूचक बढे पनि मंगलबार कारोबार रकम भने उल्लेख्यरुपमा वृद्धि हुन सकेन । सोमबारको तुलनामा कारोबार रकम वृद्धि भएको छ । कुल १६९ कम्पनीको १४ लाख ४४ हजार १९२ कित्ता शेयर रु ३६ करोड ८९ लाख ८० हजार ८६० मूल्यमा खरीद बिक्री भए । सोमबार कुल १६६ कम्पनीको १० लाख ८४ हजार ५५३ कित्ता शेयर रु ३१ करोड ६६ लाख ४३ हजार ४२१ मूल्यमा खरीद बिक्री भएको थियो । स्टकका अनुसार कूल कारोबार भएका ११ उपसमूहमध्ये आज चार उपसमूहको शेयर ओरालो लागेको छ । यस्तै सात उपसमूहको शेयर भने वृद्धि भएको छ । होटल ३.९२, जलविद्युत् २.८, उत्पादन ४.२२ र अन्य उपसमूह ०.६५ बिन्दुले घटे । यस्तै बैंकिङ ६.९७, विकास बैंक ४.१७, वित्त ०.४३, निर्जीवन बीमा ३८.०५, लघुवित्त २८, जीवन बीमा ५.१९ र सामूहिक लगानी कोष ०.०१ बिन्दुले बढेको छ ।

स्टकका अनुसार आज कारोबारका आधारमा कृषि विकास बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु चार करोड ५१ लाख २२ हजार ३६९ मूल्यमा कारोबार भयो । नेपाल बैंक लिमिटेड रु तीन करोड ६१ लाख १९ हजार ४७६, नेपाल लाइफ इन्स्योरेन्स रु एक करोड ७३ लाख सात हजार ९७३, शिवम सिमेन्ट रु एक करोड १० लाख ८६ हजार २०३, प्रभु बैंक रु एक करोड आठ लाख ६० हजार २१८ र नबिल बैंक रु एक करोड सात लाख ७७ हजार १२३ मूल्यमा कारोबार भई शीर्ष स्थानमा रहे । स्टकका अनुसार महिला सहयात्रा माइक्रो फाइनान्स वित्तीय संस्थाका शेयरधनीले ७.९०, स्वदेशी लघुवित्त वित्तीय संस्था ७.७३, नेशनल माइक्रो फाइनान्स वित्तीय संस्था ५.७६, लक्ष्मी लघुवित्त वित्तीय संस्था ५.५०, समता माइक्रो फाइनान्स वित्तीय संस्था ५.१२ र राधी विद्युत् कम्पनीका शेयरधनीले ४.९० बिन्दुले बढेको छ । यस्तै दिव्यश्वरी हाइड्रो ७.२४, यूनियन हाइड्रोपावर ३.८८, सिर्जना फाइनान्स ३.२१, हिमालयन पावर पार्टनर २.८० र हिमालयन ऊर्जा विकास कम्पनीका शेयरधनीले २.७९ बिन्दुले घटेको छ ।

एक अर्ब ४० करोडको म्यूचुअल फण्ड बिक्री हुने

सिद्धार्थ बैंकले प्रवद्र्धन गरेको ‘सिद्धार्थ इन्भेस्टमेन्ट ग्रोथ स्किम २’ को बिक्री हुने भएको छ । सो योजनाको यही साउन २३ गतेदेखि बिक्री हुने आज प्रकाशित आह्वानपत्रमा उल्लेख छ । कूल रु एक अर्ब ४० करोड बराबरको उक्त योजना सिद्धार्थ म्यूचुल फन्डले ल्याएको दोस्रो योजना हो । प्रतिएकाइ रु १० का दरले १४ करोड एकाइ बिक्री गर्न लागिएको आज प्रकाशित आह्वान पत्रमा उल्लेख छ । सोमध्ये १५ प्रतिशतले हुन आउने दुई करोड १० लाख एकाइ वा सामूहिक लगानी कोष नियमावलीअनुसार बैंकको विज पूँजीको रुपमा लगानी गर्नेछ ।

आवेदन दिनेले न्यूनतम एकाइ सङ्ख्या १०० र अधिक्तम एकाइ एक करोड ४० लाख रहेको छ । उक्त सामूहिक लगानी कोष योजना छिटोमा यही साउन २७ गतेसम्म र ढिलोमा आगामी भदौ २० गतेसम्म बिक्री हुनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त गरी आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयमार्फत आदेवन दिन सकिने छ ।

प्रकाशित : श्रावण ७, २०७६ १६:४५
पूरा पढ्नुहोस्
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
×