कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

पहिरोले घेरियो गाउँ

गतवर्षको पहिरोले खानेपानीको मुहान बगाएपछि स्थानीयले हिउँदमा मर्मत गरेका थिए । त्यसलाई यस वर्षको पहिरोले बगाएको छ ।
आश गुरुङ

लमजुङ — मर्स्याङ्दी गाउँपालिका ३ अर्खले गाउँ पहिरोको उच्च जोखिममा परेको छ । कुनै पनि समय गाउँमा पहिरो जान सक्ने भन्दै स्थानीय त्रस्त छन् । 

पहिरोले घेरियो गाउँ

पहिरोले स्थानीय विस्थापित हुन थालेका छन् । केही वर्षयता स्थानीय धनराज गुरुङ बेंसीसहर बस्न थालेका छन् । गतवर्ष भदौ २७ गतेको भीषण पहिरोपछि अर्का स्थानीय टेकबहादुर गुरुङ पनि बेंसीसहर झरेका छन् । पानी पर्नेबित्तिकै निदाउन नसकिने पहिरो छेवैको घरका ६५ वर्षीय श्रीप्रसाद गुरुङले बताए । ‘रातभरि के र कसो गरौं हुन्छ । घरबाहिर, भित्र गर्दैमा रात कटेको छ,’ उनले भने, ‘पहिरो घरछेउमै छ । पानी परेपछि बग्न थाल्छ । कुन बेला बगाउला भन्ने डर ।’


पहिरोले जोखिममा पारेको घरबाहेक अन्यत्र बस्ने उपाय नरहेको स्थानीय कास्बिरी गुरुङ बताउँछन् । ‘जति पानी पर्छ, हामीलाई उत्तिकै डर लाग्छ,’ उनले भनिन् । गाउँमा १६ घर रहेको पञ्चकन्या देवी युवा क्लबका अध्यक्ष विनोद गुरुङले बताए । यीमध्ये २ घरपरिवार बेंसीसहर बस्छन् । ‘पहिरोले घेरिएर बसीखानु छैन । पानी पर्न थालेपछि हामी डाँडाका चौरमा जान्छौं,’ उनले भने । उनका अनुसार जनचेतना प्रावि पनि जोखिममा छ ।


पहिरोले दायाँबायाँ, माथि र तलबाट च्याप्दै ल्याएको स्थानीय जितबहादुर गुरुङ बताउँछन् । गतवर्षको पहिरोले खानेपानीको मुहान बगाएपछि स्थानीयले हिउँदमा मर्मत गरेका थिए । त्यसलाई यस वर्षको पहिरोले बगाइसक्यो । पुनः सामान्य ढंगबाट मर्मत गरी खानेपानी ल्याइएको उनले बताए । बाढीपहिरो गए तत्काल सर्न गाउँलेलाई १५ वटा पाल बाँडिएको वडाध्यक्ष प्रेमबहादुर बस्नेतले जानकारी दिए । उक्त पालले गाउँको दायाँपट्टि पर्ने माथिल्लो चौरमा गोठ निर्माण गरिएको छ । पानी पर्नेबित्तिकै सुरक्षित हुन स्थानीय त्यहाँ जाने गरेका छन् ।


२०५८ मा गाउँ वरपर ठूलो पहिरो गएको थियो । पहिलेदेखि पहिरो खस्ने ठाउँ भएकाले स्थानीय स्थानान्तरण हुन खोजिरहेका छन् । अहिले गाउँमाथि करिब ५ सय मिटरबाट छेउछाउ पहिरो झरिरहेको स्थानीय बताउँछन् । पहिरो निरन्तर झरिरहेकाले जोखिम बढ्दै गएको मर्स्याङ्दी गाउँपालिका अध्यक्ष अर्जुन गुरुङको भनाइ छ ।


‘अर्खले गाउँ उच्च जोखिममा छ । स्थानान्तरण गर्नुपर्नेछ,’ उनले भने, ‘जिल्ला विपद् व्यवस्थापन समितिको बैठकबाट गाउँलेलाई स्थानान्तरणका लागि निर्णयसहितको आग्रह सरकारलाई पठाएका छौं ।’ यो गाउँमा हिउँदमा समेत सुक्खा पहिरो जान सक्ने उनले बताए ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?