१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

ऐन मिचेर विश्वविद्यालय पदाधिकारी छानिँदै

गणेश राई

काठमाडौँ — सात विश्वविद्यालयका उपकुलपतिसहित पदाधिकारीको पदावधि भदौ ५ देखि सकिँदै छ । ती पदमा नियुक्तिका लागि सिफारिस समिति गठन नगरी राजनीतिक पहुँचका आधारमा भित्रभित्रै नाम छान्न थालिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीनिकट समूहले उपकुलपतिका निम्ति नामावली चयन गर्न थालेको स्रोतले जनाएको छ । 

ऐनअनुसार विश्वविद्यालयको कुलपति रहेका प्रधानमन्त्रीले सहकुलपति रहेका शिक्षामन्त्रीको अध्यक्षतामा छनोट समिति बनाई उपकुलपति नियुक्त गर्नुपर्छ । ‘विश्वविद्यालय र उच्च शिक्षाप्रदायक स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी नियुक्तिको मापदण्ड निर्धारण कार्यदलको प्रतिवेदन, २०७५’ ले बहालवाला पदाधिकारीको कार्यकाल सकिनु ६ महिनाअघि विश्वविद्यालय अनुदान आयोग अध्यक्षको संयोजकत्वमा सर्च कमिटी गठन गर्न भनेको छ । महिना दिनमात्र बाँकी रहँदा कुलपतिबाट औपचारिक रूपमा सिफारिस समिति गठन भएको छैन । शिक्षामन्त्री गिरिराजमणि पोखरेल हाल विदेश भ्रमणमा छन् ।


त्रिभुवन विश्वविद्यालय, नेपाल संस्कृत विश्वविद्यालय, पोखरा विश्वविद्यालय, पूर्वाञ्चल विश्वविद्यालय, सुदूरपश्चिमाञ्चल विश्वविद्यालय, मध्यपश्चिमाञ्चल विश्वविद्यालय र कृषि तथा वन विश्वविद्यालयमा पदाधिकारीको पदावधि सकिन लागेको हो । स्रोतका अनुसार प्रधानमन्त्री ओलीनिकट प्राध्यापकले यी विश्वविद्यालयका उपकुलपतिमा प्राध्यापकहरू राजेन्द्रध्वज जोशी, गणेशमान गुरुङ, खड्ग केसी, डिल्लीराम उप्रेतीलगायतलाई सिफारिस गरेका छन् । जोशी त्रिवि इन्जिनियरिङ अध्ययन संस्थाका पूर्वडिन र मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको मस्यौदा कमिटीका अध्यक्ष हुन् ।


गुरुङ समाजशास्त्री तथा पूर्वसभासद हुन् । उनी यसअघि लोकसेवा आयोगका सदस्य र विश्वविद्यालय अनुदान आयोगका अध्यक्षसमेत भइसकेका छन् । हालै मात्र प्राध्यापकमा बढुवा भएका केसी त्रिवि अन्तर्राष्ट्रिय सम्बन्धन तथा कूटनीतिक विभागका संयोजक हुन् । त्यसैगरी उप्रेती त्रिविका रजिस्ट्रार हुन् । यसअघि प्रगतिशील प्राध्यापक संगठनको महासचिव थिए । त्रिवि सेवा आयोगका निवर्तमान अध्यक्ष चैतन्य शर्मासमेत उपकुलपतिका दाबेदार हुन् ।


उनी सेवा आयोगमा रहँदा विवादमा मुछिएका र मुद्दा अदालतमा विचाराधीन रहेकाले प्रतिस्पर्धाबाट बाहिरिएको स्रोतले उल्लेख गरेको छ । ‘हामीले यिनै नाम प्रधानमन्त्रीलाई सिफारिस गरेका छौं,’ प्रधानमन्त्रीनिकट स्रोतले भन्यो, ‘समावेशी पनि हुनुपर्ने भएकाले योग्य महिला प्राध्यापकको छनोट हुन बाँकी छ ।’


खनियाँ पुनः आकांक्षी त्रिवि उपकुलपति तीर्थराज खनियाँले समेत पदमा दोहोरिने आकांक्षा देखाएको स्रोतको दाबी छ । ‘उहाँ (खनियाँ) ले उपकुलपतिमा दोहोरिने इच्छा प्रकट गर्नुभएको छ,’ स्रोतले भन्यो, ‘राजनीतिक रूपमा उहाँ कांग्रेस कोटामा हुनुहुन्छ । कांग्रेसलाई अहिल्यै बाइपास गरेर जान सक्ने स्थिति नहोला कि भन्ने छ ।’ खनियाँ त्रिविबाहेक अरू विश्वविद्यालयमा नियुक्त हुन सक्ने स्रोतले उल्लेख गरेको छ ।


भागबन्डा परम्परा

नेपाल प्राध्यापक संघले विश्वविद्यालयलाई प्राज्ञिक मूल्य कायम गर्न सक्ने प्राध्यापकमध्येबाट नियुक्ति हुनुपर्ने भनेको छ । ‘प्राज्ञिक छवि, प्रखर प्रशासकीय क्षमता र दृष्टिकोणसहित प्रतिस्पर्धाबाट उपकुलपति छनोट हुनुपर्छ,’ संघ अध्यक्ष रामेश्वर उपाध्यायले भने, ‘राजनीतिक आस्था हुन सक्छ तर राजनीतिक भागबन्डाभन्दा प्रतिस्पर्धाबाट उपकुलपति नियुक्ति गर्ने र उसैलाई रेक्टर र रजिस्ट्रार छनोट गर्ने अधिकार दिइनुपर्छ । जसले गर्दा आफ्नो कार्यकालमा गरेको जस–अपजस उसैले लेओस् ।’

प्रकाशित : श्रावण ६, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?