बाँध हेर्दै फर्कंदै

शिव पुरी

रौतहट — गृहमन्त्री रामबहादुर थापा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको टोलीले हेलिकप्टरबाट लालबकैया र वाग्मती नदीका बाँधको निरीक्षण गरेर फर्केयता अन्य नेता तथा सरकारका मन्त्रीहरुको लर्को लाग्यो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि बाँध हेरेर फर्किए ।

बाँध हेर्दै फर्कंदै

लगातारको वर्षापछि बाढी र डुबानको चपेटमा परेर रौतहटको जनजीवन सामान्यतर्फ फिर्दै छ । केही दिनयता यहाँ डुबानपीडितलाई राहत वितरणभन्दा बाँध निरीक्षण गरेर फर्कनेको लर्को लागेको छ ।


संघीय सरकारका गृहमन्त्री रामबहादुर थापा र पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसहितको टोलीले हेलिकप्टरबाट लालबकैया र वाग्मती नदीका बाँधको निरीक्षण गरेर फर्केयता अन्य नेता तथा सरकारका मन्त्रीहरूको लर्को लागेको हो । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि बाँध हेरेर फर्किए । आइतबारमात्रै बाँध हेर्न आइपुग्ने थुप्रै भए । विस्थापित र डुबानबाट पीडित भएकाहरूलाई भेट्न भने कोही गएनन् ।


राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासहित पाँच जनाको टोलीले आइतबार लालबकैया, वाग्मती र भारतले सीमामा एकतर्फी लगाएको बैरगनिया बाँध निरीक्षण गरेको छ । टोलीमा सांसद खिमलाल भट्टराई, सरिता प्रसार्इं, वृषेशचन्द्र लाल र प्रमिला कुमारी थिए । टोलीले राजपुर नगरपालिकाको फतुवा पुलको पनि निरीक्षण गरेको थियो । बाढीले पुलमा क्षति पुगेर उक्त क्षेत्रको आवागमन अवरुद्ध भएको थियो । आइतबारै राजपा नेता तथा सांसद राजेन्द्र महतोसहितको टोली पनि पुगेर बाँधको निरीक्षण गरेर फिरेको छ ।


जिल्ला समन्वय समितिको सभाहलमा प्रमुख जिल्ला अधिकारी किरण थापाले गत शुक्रबार रातिको भारी वर्षापछि लालबकैया र वाग्मती नदीको बाँध फुटेर गाउँ पसेपछि भएको डुबानले विस्थापित र क्षतिको अवस्थाका बारे तिमिल्सिनाको टोलीलाई जानकारी गराए । तिमिल्सिनाले बाढी र डुबान हुनुको कारण र यसबाट जोगाउन दीर्घकालीन योजनाबारे सुझाव मागेका थिए ।


बाढीपीडितको उद्धार, राहत, भविष्यमा डुबान र क्षति कम गर्नेबारे राय बुझेर सरकारलाई जानकारी गराउने उद्देश्यले यहाँ आएको उनले बताए । ‘बाढी, डुबानको समस्यालाई दीर्घकालीन रूपमा समाधान गर्न संघ, प्रदेश र स्थानीय सरकारको समन्वय हुनु आवश्यक छ,’ उनले भने, ‘अहिले अधिकार वा यो पार्टी त्यो पार्टी भन्ने अवस्था छैन । विपद्को घडीमा एकताबद्ध भएर अघि बढ्नुपर्छ ।’


उनले आफ्नो टोली राहत दिन नआएको स्पष्ट पारे । यसअघि मुख्यमन्त्री राउत पनि वाग्मतीले कटान गरेको राजदेवी नगर क्षेत्र र लालबकैया, भारतीय बाँध निरीक्षण गरेर फर्किएका थिए । संघीय सांसद देवप्रसाद तिमल्सेनाले बाढी र डुबानको समस्या बारे पटकपटक सदनमा कुरा उठाउँदा सरकारले चासो नदेखाएको आरोप लगाए । वाग्मती र लालबकैया नदीको बाँधलाई स्तरोन्नति गर्नुपर्ने, झाझ खोलामा दुईतर्फी बाँध बनाउनुपर्ने, चादी र हर्दिया खोलालाई व्यवस्थित बनाई जिल्लाका स–साना खोलालाई समयमै धार परिवर्तन गरेर निगरानीमा राख्नुपर्ने सुझाव उनले टोलीलाई दिए । सांसद रेखा झा, प्रदेश २ का सभामुख सरोज यादवसहितका सांसदहरूले बाढीबाट हुने जनधनको क्षति रोक्न यथोचित रूपमा पहल हुनुपर्नेमा जोड दिए ।


यसपटकको बाढी र डुबानबाट रौतहटमा ८ बालबालिका, ६ पुरुष, २ महिला गरी १६ जनाको मृत्यु भएको छ । प्रअिज थापाले जिल्लामा पूर्ण र आंशिक गरेर १५ हजार घर क्षति भएको टोलीलाई सुनाए । बाढी र डुबानबाट ७० हजार भन्दा बढी घरपरिवार प्रभावित भएको अनुमान छ ।


बाढीबाट विस्थापित दुर्गाभगवती गाउँपालिकाका घरपरिवारहरू संघीय सरकारका मन्त्री र प्रदेशका मुख्यमन्त्री आउने भनेर मख्ख पर्दै आए । उनीहरू गृहमन्त्रीको टोली आउँदा पनि खुसी थिए । बाँधमा त्रिपाल राखेर बसेका बडहर्वा गाउँका विस्थापितहरू राहत र सुरक्षित बासस्थानबारे कुरा राख्ने तयारीमा थिए । गृहमन्त्री थापासहितको टोली आएको भनिएको हेलिकप्टर आकाशमै फन्को मारेर फर्किंदा उनीहरू निराश भए । त्यसपछि कांग्रेस सभापति शेरबहादुर देउवा, प्रदेशका मुख्यमन्त्री राउतसमेत आए ।


बाँधसम्म पुगेर फर्किए । नजिक बसेका विस्थापितलाई भेट्न गएनन् । अवस्था समान्य बन्दै गएपछि बाँधमा अस्थायी प्रबन्ध गरेर मुन्टो लुकाएका परिवारमध्ये आधाजसो घर फर्किसकेका छन् । उनीहरूलाई स्थानीय तहले राहत उपलब्ध गराउँदै आएको छ । बडहर्वाका शंकर कुशवाहाले सरकारका मानिसहरू बाँध हेरेर मात्र फर्किने गरेकोमा चित्त दुखाए । ‘बाँधका विषय जहिले आएर हेरे पनि हुन्छ,’ उनले भने, ‘पहिला हाम्रो पीडा सुन्नु पर्‍यो । त्यसका लागि यहाँ आउनुपर्छ ।’


सर्लाही संवाददाताका अनुसार राष्ट्रियसभा र प्रतिनिधिसभाको बेग्लाबेग्लै समितिले सर्लाहीमा वर्षाले पुर्‍याएको क्षति र पछिल्लो अवस्थाका बारेमा आइतबार जानकारी लिएको छ ।


राष्ट्रिय सभाका अध्यक्ष तिमल्सिनासहितको टोलीले प्रजिअ कृष्णबहादुर राउत र सुरक्षा निकायका प्रमुखसँग भेटेर क्षतिको अवस्थाबारे सुन्नका साथै झिम नदीले गरेको कटानको अवलोकन गरेको छ । यसअघि बिहानै प्रतिनिधिसभा सदस्यहरूको टोलीले पनि क्षतिको जानकारी लिँदै कौडेनास्थित लखन्देही खोलाले हुलाकी सडकमा पुर्‍याएको क्षतिको अवस्थाबारे अवलोकन गरेको छ ।


प्रतिनिधिसभा सदस्य राजेन्द्र महतोको नेतृत्वमा आएको चार सदस्यीय टोली लखन्देही खोला पुगेको थियो । खोलाले बाटो कटान गर्दा डेढ सातादेखि अवरुद्ध हुलाकी सडकको समेत टोलीले अवलोकन गरेको थियो । दुवै टोलीका सदस्यहरूले अवस्थाबारे जानकारी लिँदै राहत वितरणलाई प्रभावकारी बनाउन र अवरुद्ध सडकहरू सुचारु गर्न स्थानीय अधिकारीहरूलाई निर्देशन दिएका छन् ।

प्रकाशित : श्रावण ६, २०७६ ०८:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?