लिम्चुङबुङ गाउँपालिका संकटग्रस्त घोषित

दुर्गममा खाद्यान्न संकट
डिल्लीराम खतिवडा

उदयपुर — साताअघिको बाढीपहिरोले क्षतिग्रस्त लिम्चुङबुङ गाउँपालिकालाई संकटग्रस्त घोषणा गरिएको छ । गाउँ कार्यपालिकाले प्राकृतिक विपत्ति आइपरेको निष्कर्षसहित संकटग्रस्त क्षेत्र भनेको हो । लामो समयको खडेरीले अन्न उत्पादन ठप्प हुँदा समस्या भइरहेको थियो । खडेरीको सामना कसरी गर्ने भन्ने भइरहेका बेला बाढीपहिरोले सडक पूर्वाधार क्षतविक्षत हुँदा जनजीवन अस्तव्यस्त भएको गाउँपालिका प्रमुख मेजरकुमार राईले बताए ।

‘सडक पूर्वाधार ध्वस्त हुँदा जनजीवन कष्टकर बनेको छ,’ उनले भने, ‘खाद्यान्न संकट टार्न बाहिरबाट आयात गर्ने सडक छैन ।’ सडक पूर्वाधार भत्किएको, खाद्यान्न अभावसँगै स्वच्छ पिउने पानीसमेत नहुँदा गाउँपालिकालाई संकटग्रस्त घोषणा गरिएको उनको भनाइ छ ।

गाउँपालिकासँग सदरमुकाम गाईघाट र दोस्रो मुख्य व्यापारिक केन्द्र कटारीसँग जोड्ने सडक क्षतिग्रस्त छ । चैत/वैशाखदेखि मध्य असारसम्मको लामो खडेरीले मकै उत्पादन शून्य हुँदा खाद्यान्न अभाव भयो । कोदोको बीउ राख्न नपाउँदा खेती भएन । गाउँपालिकाको तल्लो क्षेत्रमा हुने खेत पनि बाढीपहिरोले बगाएको र पुरिदिएकाले धान खेती हुन नसकेको राईले बताए ।

‘लिम्चुङबुङको मुख्य खाद्यान्न बाली मकै खेती हो, त्यो पनि खडेरीले सखाप पार्‍यो,’ उनले भने, ‘बाहिरबाट आयात गर्न सडक अवरुद्ध छ ।’ गाईघाट हुँदै मुकुर्ची–लिम्चुङबुङ–हलेसी सडकका चार दर्जन स्थानमा पहिरो गएको छ । त्यसैगरी कटारी–बेतेनी–ताप्ली–लिम्चुङबुङ सडकका दर्जनौं स्थानमा पहिरो गएको छ ।

गाउँपालिकाकै डोजरलगायत मेसिन पनि छन् । तर मर्मतका लागि चालु आवको बजेट लगाउँदा पनि सडक सञ्चालन गर्न सक्ने अवस्था नरहेको गाउँपालिकाले जनाएको छ । सामान्य मर्मत गर्न इन्धनसमेत अभाव भएको प्रमुख प्रशासकीय अधिकृत भक्तबहादुर राईले बताए ।

पहिरोले खानेपानीका योजना बगाउँदा पिउने पानीको समेत समस्या भएको छ । पैदल हिँडेर मुकुर्ची र कटारी पुग्नु दुई दिन लाग्छ । त्यसका लागि पनि बाटो भत्किएको स्थानीयको गुनासो छ । ‘पहिलेको गोरेटो/घोडेटो बाटो मासेर सडक खनियो’, लिम्चुङबुङ गाउँपालिका १ का ७९ वर्षीय महावीर राईले भने, ‘अहिले त्यो सडक पहिरोले बगाएपछि बाटै हरायो ।’

गाउँपालिकामा अत्यावश्यक औषधि र विभिन्न उपभोग्य वस्तुको अभाव भएको छ । गाउँपालिका जोडने मुख्य दुई सडक पनि जग (बेस)सहित पहिरो गएकाले मर्मत गर्न सक्ने अवस्थामा छैनन् । गाउँपालिकको क्षमताले सडक मर्मत गर्न नसक्ने अवस्था भएपछि प्रदेश र संघीय सरकारलाई गुहारिएको गाँउपालिका प्रमुख राईको भनाइ छ ।

ताप्ली गाउँपालिकामा समेत खाद्यान्न संकट सुरु भएको छ । गाउँपालिकालाई कटारी बजारसँग जोड्ने मुख्य सडक कटारी–बेतिन–रुपाटार, माझखर्क–कटहरे–रुपाटार र रुपाटार–कुमलटार–सोरुग हुँदै बेतेनी जोड्ने सडक तत्काल मर्मत गरेर सञ्चालन गर्न सक्ने अवस्था छैन । स्थानीय उत्पादन खडेरीले मासिएको, चैते धान बाढीले बगाएको र सडक मार्ग हुँदै आयात गर्न सक्ने अवस्था नहुँदा खाद्यान्न संकट सुरु भएको गाउँपालिका प्रमुख उद्धवसिंह थापाले बताए ।

हेलिकप्टरबाट खाद्यान्न लैजाने तयारी
ग्रामीण सडक क्षतविक्षत भएपछि खाद्यान्न संकटबाट बच्न स्थानीय तह र प्रदेश सरकारले हेलिकप्टरमा खाद्यान्न ढुवानीको तयारी थालेका छन् । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई, आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्वोलाई भेटेर स्थानीय तह र प्रदेश सरकारको सहयोगमा हेलिकप्टरमार्फत खाद्यान्न पुर्‍याउने सहमति भएको गाउँपालिकाको भनाइ छ । पहाडी क्षेत्रको लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी र रौतामाई गाउँपालिकामा खाद्यान्न संकट बढ्न थालेको स्थानीय प्रशासनले जनाएको छ ।

प्रकाशित : श्रावण ५, २०७६ १९:४३
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीबाट आश्रय खोज्दै उदयपुर 

डिल्लीराम खतिवडा

(भालमन्ती, उदयपुर) — बाढीले विस्थापित ४८ परिवार तीन दिनयता उदयपुरको बुलबुले भमरा सामुदायिक वन उपभोक्ता समूहको भवनमा आश्रय लिइरहेका छन् । त्रियुगा नदीको बाढीले सप्तरीको सप्तकोसी नगरपालिका–२ मा गाउँ नै डुबाएपछि उनीहरू सुरक्षित थलो खोज्दै बेलका नगरपालिका–१ भालमन्ती आइपुगेका हुन् ।  

राति नै बस्ती छाडेर भाग्नुपरेकाले उनीहरूलाई खान–बस्न उनीहरूलाई सास्ती छ । आश्रय लिएकामध्ये केही गर्भवती र बिरामी बालबालिका पनि छन् । सामुदायिक भवनको तीनवटा कोठामा बालबच्चासहित कोचिएर बसेकामा ५० बालबालिकासहित २ सय ३१ जना छन् ।

केहीलाई पेट दुख्ने, पखाला लाग्ने, टाउको दुख्ने र ज्वरो आउने समस्या छ । खानेपानी शुद्ध नभएकाले अधिकांशलाई रुघाखोकीले सताएको छ । ‘बाढीले विस्थापितलाई खान, बस्न समस्या छ,’ स्थानीय सम्झना पौडेलले भनिन्, ‘उनीहरू यता आएको सप्तरीको प्रशासनले थाहा नपाएजस्तो छ । सहयोग गरेका छैनन् ।’

तीन दिनदेखि चिउरा–भुजाको भरमा गुजारा गरिएको विस्थापितमध्येका उसमान मियाँले बताए । ‘बल भएकाले जे गर्दा पनि भइहाल्छ । बालबच्चा र बूढाबूढीलाई समस्या छ,’ उनले भने, ‘बिरामीका लागि उपचारको व्यवस्था गरिदिए उपकार हुने थियो ।’

सरकार बेखबर रहँदा कुनै पनि सहयोग नपाएको उनले बताए । वडासदस्य मोहम्मद जाहिर हुसेनमार्फत नगरपालिकाले प्रतिपरिवार १/१ केजी चामल पठाएको थियो । त्यो पकाएर खाने अवस्था नरहेको पीडित बताउँछन् । भाँडाकुँडा छैनन्, दाउरा भिजेका छन् । पकाउने व्यवस्था नहुँदा चिउरा र भुजाको भरमा गुजारा चलाउनुपरेको ५४ वर्षीया फुलोदेवी रामले बताइन् । ‘दाल, चामल दिएरमात्रै भात पाक्दैन,’ उनले भनिन्, ‘पकाउने भाँडा, दाउरा र नुनतेलको पनि व्यवस्था हुनुपर्ने, त्यो केही भएको छैन ।’ घरमा भएका अन्नपात, भाँडाकुँडा र लुगा सबै बाढीले बगाएकाले बिचल्लीमा परेको उनले बताइन् ।

भालमन्तीका स्थानीयले डुबेको गाउँबाट निकालेर सामुदायिक वनको भवनमा राखिदिए पनि आफ्नो नगरपालिकाका जिम्मेवार व्यक्ति हेर्न पनि नआएको उसमान मियाँले बताए । ‘आपतविपद्मा काम गर्छन् भनेर जनप्रतिनिधि बनाइएको हो,’ उनले भने, ‘तर, समस्या पर्दा काम गर्न सकेका छैनन् ।’ शरण लिएकालाई खानेपानीको पनि समस्या छ ।

बेलका नगरपालिका–१ का वडाध्यक्ष दिनेश चौधरीले आफ्नै वडा बाढीको चपेटमा परेकाले छिमेकी नगरबाट आएकालाई सहयोग जुटाउन गाह्रो परेको बताए । ‘हाम्रो आफ्नै वडा पनि बाढीपीडित छ,’ उनले भने, ‘आफैँ पीडित भएकाले सहयोग गर्न गाह्रो भयो ।’ सम्बद्ध जनप्रतिनिधिलाई यसबारे खबर गर्ने उनले बताए । उता सप्तकोसी–२ का वडाध्यक्ष सोनाला चौधरीले बाढीबाट ठूलो क्षेत्र प्रभावित भएकाले उदयपुरतर्फ शरण लिन गएका परिवारका बारेमा जानकारी नभएको बताए । ‘प्रभावित परिवारलाई त्रिपाल र अरू आवश्यक सामान वितरणको व्यवस्था गर्न वडासदस्यलाई जिम्मेवारी दिएका छौं,’ उनले भने ।

बाढीपीडितका लागि उद्धार र राहतमा जुट्नुपर्ने बेलामा सप्तकोसी नगर कार्यसमितिलाई मंगलबार नगरसभाको चटारो थियो । नगरसभा भएकाले बाढीपीडितको आश्रयस्थलमा आफू पुग्न नसकेको नगरप्रमुख उत्तम गौतमले बताए । ‘बाढीपीडितका लागि चामल, चिउरा र त्रिपालसहितको राहत व्यवस्था गरिएको छ, त्यो वितरण पनि भइरहेको छ,’ उनले भने, ‘नगरसभा सकेर म आफैँ प्रभावित परिवारलाई भेट्न जान्छु ।’ असार १० भित्र गर्नुपर्ने नगरसभा कर्मचारी अभावले ढिला भएको उनले बताए ।

त्रियुगा नदी बीच भागबाट बगेका कारण सामान्य अवस्थामा पनि विस्थापितको गाउँ पुग्न उदयपुरको बाटो भएर जानुपर्ने अवस्था छ । अहिले आश्रय लिएको स्थान र सप्तकोसी नगरपालिकाको केन्द्र फत्तेपुर बजारको दूरी करिब ३ किमि छ ।

घर फिर्न थाले विस्थापित
विराटनगर– सोमबारदेखि पानी पर्न कम भएपछि विराटनगर महानगरपालिकाका बाढीपीडित परिवार मंगलबारदेखि घर फिर्न थालेका छन् । महानगरका १९ वटै वडामा पानीको निकास नहुँदा बस्ता, सिंघिया र केसलिया खोलाको पानी बस्ती पसेको थियो । यसबाट करिब हजार परिवारलाई सुरक्षित स्थलमा राखिएको थियो ।

वडा ७ का विस्थापित ५६ परिवार मंगलबार घर फर्किएको वडा प्रमुख मधुबाबु तिवारीले जानकारी दिए । उनीहरू स्थानीय गायत्री संस्कृत विद्यालयमा बसेका थिए । त्यसैगरी वडा नम्बर ८ का पीडित परिवार पनि घरतर्फ लागेको वडाध्यक्ष निश्चल अर्यालले बताए । महानगर १ को विजयपुर, पाथीभरा मन्दिरको धर्मशाला, शान्तिचोक र नयाँ बस्तीमा राखिएका १ सय २५ विस्थापित परिवार पनि मंगलबार घरतर्फ लागेको वडा प्रमुख उद्धव अर्यालको भनाइ छ । केही परिवार भने फर्किन नसकेको महानगर प्रमुख भीम पराजुलीले बताए ।

सीमास्तम्भ ढले
कपिलवस्तु– बाढीले विजयनगर गाउँपालिका–५ स्थित चिरई खोलामा रहेका ४ सीमास्तम्भ ढालिदिएको छ । ठकुरापुर र भारतको बलरामपुरस्थित सिमानामा रहेका ५७८/७ र ५७८/१० तथा विजयनगर–७ गेडुवाजोत र भारतको प्रतापपुरको सिमानामा रहेका ५७७/७ र ५७७/९ नम्बरका स्तम्भ ढलेका हुन् । गाडिएकै स्थानमा ढलेको ७ नम्बर वडाध्यक्ष दिनेश चौधरीले बताए । ५७८/७ नम्बरको स्तम्भमात्र पानीबाहिर देखिएको छ ।

प्रहरी चौकी ठकुरापुरले स्तम्भ ढलेको जानकारीपछि मुचुल्का उठाएर जिल्ला प्रहरीमा पठाएको छ । ‘तीन स्तम्भ ढलेको सूचना आएको छ,’ प्रजिअ गजेन्द्रबहादुर श्रेष्ठले भने, ‘तिनलाई छिट्टै मर्मत गर्छौं ।’ सीमा अवलोकनका लागि नेपाल–भारतका अधिकारीको बैठक राखेर पहिलेकै ठाउँमा गाडिने उनले बताए । सीमा हेर्ने जिम्मेवारी पाएको सशस्त्र प्रहरीले पनि सम्बन्धित विभागलाई स्तम्भ ढलेकोबारे जानकारी गराएको सशस्त्रको २८ नं. गणका उपरीक्षक दीपक अधिकारीले जानकारी दिए ।

राहत लिन पीडितलाई परिचयपत्र
सिरहा– बाढीपीडित परिवार राहत पाउनबाट वञ्चित नहोऊन् भनेर सिरहाका स्थानीय तह एवं जिल्ला प्रशासन कार्यालयले ‘परिचयपत्र’ को व्यवस्था गरेका छन् । त्यसका लागि स्थानीय तहले घरदैलो सर्वेक्षण गरी परिचयपत्र वितरण थालेका छन् ।

परिचयपत्रका आधारमा राहत वितरण गरिँदा सही पीडितको हातमा राहत पुग्ने प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले बताए । लगातारको वर्षापछि कमला खोलामा आएको बाढीले बाँध भत्काएपछि सिरहाको तटीय क्षेत्र सारस्वर, बसबिटा, मखनाहा, कठकोल्वा, गम्हरियालगायत दर्जनौं गाउँ डुबानमा छन् ।

वर्षाले सिरहामा ५ हजार २० घर पूर्णरूपमा क्षतिग्रस्त बनेको जिल्ला प्रशासन कार्यालय सिरहाले जानकारी दिएको छ । त्यसैगरी ९ हजार ६२ घरमा आंशिक क्षति र २ हजार ६ सय ३१ परिवार बाढी र डुबानबाट विस्थापित भएका छन् । बाढीमा परी मिर्चैया नगरपालिका ४ का ५ वर्षीया प्रियंका महतो, रागनी महतो, नरहा गाउँपालिका ३ का ५५ वर्षीय शोभित कटुवाल, २० वर्षीय बलि साहको मृत्यु भएको छ । मृतक एक महिलाको पहिचान खुल्न सकेको छैन ।

सिरहातर्फका कल्याणपुर, सारस्वर र बसबिटा क्षेत्रबाट बाँध भत्काएर कमला खोलाको बाढी बस्ती प्रवेश गरेको हो । सिँचाइका लागि कमला नदी नियन्त्रण योजना कार्यालय जनकपुरले निर्माण गरेको कल्भर्टमा ‘एन्टी लड सुलुस गेट’ अधुरै छाडदा त्यहीँबाट बाढी गाउँ पसेको थियो । यसबाट सिरहा कर्जन्हा नगरपालिका ३ स्थित सुन्दर बस्ती विस्थापित छ । ४० घरपरिवारको बसोबास रहेको बस्ती पूरै डुबानमा छ ।

प्रकाशित : श्रावण १, २०७६ ०७:५६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्